डडेल्धुरा बहुमुखी क्याम्पसमा कर्मचारीद्वारा तालाबन्दी



 

डडेल्धुरा, (नेस)
डडेल्धुरा सदरमुकामस्थित डडेल्धुरा बहुमुखी क्याम्पसमा कार्यरत कर्मचारीहरूले आज मंगलबार क्याम्पसमा तालाबन्दी गरेका छन्।

त्रिभुवन विश्वविद्यालय कर्मचारी संघ डडेल्धुरा बहुमुखी क्याम्पस एकाइले क्याम्पसको लेखा शाखा, क्याम्पस प्रमुखको कार्यकक्ष र प्रशासन शाखामा तालाबन्दी गरेको हो। पटकपटक क्याम्पस प्रशासनसमक्ष विभिन्न माग राख्दै आएका कर्मचारीहरूले माग पूरा नहुन्जेलसम्मका लागि अनिश्चितकालीन तालाबन्दीपछि क्याम्पस परिसरबाट बाहिरिएका क्याम्पस प्रमुख गंगा उप्रेती आफ्नो मोबाइल स्वीच अफ गरेर सम्पर्कबाहिर रहेको आन्दोलनरत कर्मचारीहरूले बताएका छन्।

त्रिभुवन विश्वविद्यालय कर्मचारी संघ डडेल्धुरा बहुमुखी क्याम्पस एकाइका अध्यक्ष मिग्मादोर्जे शेर्पाले क्याम्पसमा कार्यरत कर्मचारीहरूले १० महिनादेखि तलब भत्ता खान नपाएको, पारिश्रमिक नपाउँदा महान् पर्व दशैं खल्लो गरी मनाउनुपरेको, तिहारको बेला आइसक्दा पनि पारिश्रमिक पाउने संकेत नदेखिएकाले बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको बताए।

उनले क्याम्पस प्रमुखले कर्मचारीहरूलाई दर्जाअनुसार जिम्मेवारी नदिई आफू निकटस्थलाई मात्रै कार्य जिम्मेवारी दिने र निकटस्थ श्रेणीविहीन कर्मचारीलाई उच्च दर्जामा कार्यरत कर्मचारीको सुपरभाइजर खटाउने, लामो समयदेखि कार्यरत कर्मचारीको करार नवीकरण नगर्ने र लेखामा दरबन्दीअनुसार कर्मचारी छँदाछँदै प्रशासन प्रमुखलाई लेखाको जिम्मेवारी दिनेजस्ता कार्य गरेकाले क्याम्पस प्रमुखले सुध्रेर विधि पद्धतिअनुरूप क्याम्पस सञ्चालन गर्ने वातावरण नबनुन्जेल तालाबन्दी कायमै रहने जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्