कांग्रेससँग निःसर्त एकताः गच्छदार



 

नेपाल समाचारपत्र
काठमाडौं
नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरम एक भएका छन्। निःसर्त पार्टी एकता गरिएको भनिए पनि एकतापछि कांग्रेसको सांगठनिक संरचनामा केन्द्र, प्रदेश, जिल्ला, नगर र गाउँसम्मका नेपाल लोकतान्त्रिक फोरम र यसका भ्रातृ⁄भगिनी संस्थाहरूको संरचना एवम् सदस्यहरूको यथोचित समायोजन गर्ने दुई दलबीच सहमति भएको छ।

आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा प्रमुख वाम घटक नेकपा एमाले र माओवादी केन्द्रले चुनावी तालमेल गर्नुका साथै पार्टी एकीकरण गर्ने सहमति गरेपछि कांग्रेसले पनि अन्य दलसँग पार्टी एकता तथा चुनावी तालमेलको प्रक्रिया अघि बढाएको थियो।

विजयकुमार गच्छदारको नेतृत्वमा रहेको नेपाल लोकतान्त्रिक फोरम कांग्रेसमा सामेल भएसँगै नेपाली कांग्रेसले आफ्नो पार्टी थप मजबुत भएको जनाएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार भएको पार्टी एकता घोषणासभामा बोल्दै गच्छदारले भन्नुभयो– ‘मैले विगतमा रगत बगाएको पार्टीमा मेरो फोरमलाई सामेल गराएको छु।’ आफूलाई विरोधको कुनै पर्वाह नभएको भन्दै उहाँले आफूहरू लोकतन्त्र जोगाउने अभियानमा रहेको बताउनुभएको थियो।

नेपाल लोकतान्त्रिक फोरमलाई कांग्रेसमा एकीकरण गर्दै नेता गच्छदारले तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले पार्टी नत्याग्न सम्झाउँदा सम्झाउँदै फोरम पार्टी खोलेको स्मरण पनि गर्नुभएको थियो। लामो समय नेपाली कांग्रेसमा रहेका गच्छदार २०६४ सालमा तत्कालीन मधेसी जनाधिकार फोरममा प्रवेश गर्नुभएको थियो। गच्छदार २०४८ देख २०५६ सम्म कांग्रेसकै सांसद थिए। २०६६ सालमा उपेन्द्र यादव नेतृत्वमा रहेको मधेसी जनाधिकार फोरम विभाजित गरी जनाधिकार फोरम लोकतान्त्रिक गठन गरेका गच्छदारले फेरि विभिन्न पार्टीलाई मिलाएर नेपाल लोकतान्त्रिक फोरम बनाउनुभएको थियो।
मुलुकको राजनीतिलाई अधिनायकवादतर्फ धकल्ने प्रयत्न अहिले भइरहेकाले संविधानको लोकतान्त्रिक जगलाई अझ सुदृढ एवम् सर्वस्वीकार्य बनाउनु सबैको कर्तव्य भएको गच्छदारले बताउनुभयो। पार्टी एकता घोषणासभामा गच्छदारले कम्युनिस्टहरूले लोकतन्त्र सिध्याउन लागेकाले कांग्रेससँग निःसर्त पार्टी एकता गरेको बताउनुभएको थियो।

कांग्रेस स्रोतले जानकारी दिएअनुसार निर्वाचनपछि गच्छदारलाई पदाधिकारी सदस्य बनाउन महामन्त्री वा उपसभापति र अन्य शीर्ष नेतालाई केन्द्रीय सदस्यलगायत पार्टीको महत्त्वपूर्ण जिम्मेवारी दिने सहमति पनि भएको छ। पार्टी एकता घोषणासभामा भने पद बाँडफाँडको बारेमा उल्लेख गरिएको थिएन। कांग्रेसभित्र पदाधिकारीमध्ये सभापतिले देउवाले एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्री मनोनित गर्न बाँकी छ। देउवा निकट स्रोतले जानकारी दिएअनुसार गच्छदारले महामन्त्री मागेका छन्। साथै नेपाल लोकतान्त्रिक फोरमका शीर्ष नेताहरूलाई सम्मानजनक पद दिने सहमति भएको छ। कांग्रेस सभापतिले केही केन्द्रीय सदस्यसमेत मनोनित गर्न बाँकी छ।

तर कांग्रेस विधानमा भने गच्छदार पदाधिकारी सदस्य बन्न सक्ने देखिँदैन। गच्छेदारलाई पदाधिकारी सदस्य बनाउन विधान परिमार्जन गर्नुपर्ने हुन्छ। विधानमा पदाधिकारी सदस्यमा मानोनित गर्न १३औं महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित भएको हुनुपर्नेछ। नेपाली कांग्रेसको विधानमा केन्द्रीय कार्यसमिति गठनसम्बन्धी व्यवस्थाको ‘घ’ मा भनिएको छ– ‘केन्द्रीय सभापतिले निर्वाचित सदस्यमध्येबाट कार्यसमितिका लागि नाम प्रस्ताव गरी निर्वाचित केन्द्रीय कार्यसमितिले चयन गरेको एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्री हुने भनिएको छ।’ सभापतिको काम कर्तव्य र अधिकारमा पनि विधानबमोजिम सभापतिले केन्द्रीय कार्यसमितिका पदाधिकारीहरूको नाम प्रस्ताव गर्नुपर्ने उल्लेख छ।

कांग्रेस नियमावली तथा केन्द्रीय पदाधिकारी नियुक्तिसम्बन्धी व्यवस्थामा पनि केन्द्रीय सभापतिले निर्वाचित सदस्यहरूमध्येबाट एक उपसभापति, एक महामन्त्री तथा एक सहमहामन्त्रीको नाम केन्द्रीय कार्यसमितिमा प्रस्ताव गर्नुपर्नेछ। आन्तरिक गुटउपगुट र भागवण्डाका कारण कमजोर बनेको नेपाली कांग्रेसलाई नेपाल लोकतान्त्रिक फोरमका नेताहरूलाई व्यवस्थापन गर्न निकै कठिन हुने देखिएको छ।

प्रतिक्रिया दिनुहोस्