राजमार्गमा होटलको दादागिरी, उच्च मूल्य तिर्दा पनि उपभोक्ता गुणस्तरीय खाना खान पाउँदैनन्



 

रोविन पौडेल, काठमाडौं
कसैले तस्वीरमा देखाइएको खानाको मूल्य २ सय रुपियाँ पर्छ भन्दा सायद कमैले मात्र नपत्याउलान्। तर यो सत्य हो। पृथ्वी राजमार्गको मुग्लिङ–पोखरा सडकखण्डमा यात्रा गर्ने यात्रुले भट्टीझैं देखिने साधारण होटलमै सादा खानाका लागि २ सय रुपियाँ तिर्ने गरेका छन्।

एक हप्ताअघि मात्रै पोखरा–बाग्लुङको यात्रामा तस्वीरमा देखाइएको खानाको सो मूल्य तिर्नुपर्यो। गाडी चालकले खाना खान भनी रोकेको स्थानमा ‘पिस जोन हाइवे रेस्टुरेन्ट, एक्लेफाँट, तनहुँ’ लेखेको होर्डिङ बोर्ड झुन्डइइएको थियो। खानाको किन त्यतिका मूल्य? भन्ने प्रश्नमा होटल सञ्चालकको ठाडो जवाफ थियो– ‘महँगीको जमानामा स्वादिलो तथा उच्च पोषण तत्त्वको खाना कहाँ आउँछ र हजुर’ तर लागत मूल्य ५० रुपियाँ पनि नपर्ने खानाको त्यतिका मूल्य तिर्दा मनमा अनेक प्रश्न उठेका थिए। खानामा समावेश आइटममा एक कचौरा खाना, पानीजस्तो पातलो दाल, दुई त्यान्द्रो साग, लौकाको फ्यात्त पाकेको तरकारी र एक टुक्रा काँक्रो थियो।

नन भेज खानाको कुरै छोडौं, चिकेन खानाको ३ सय ५० रुपियाँ, मटन⁄माछा खाँदा ३ सय ८० रुपियाँ भन्ने मूल्य सुन्दा मनले थकाली होला भन्ने सोच्न भ्याइसकेको थियो।

‘दाइ साग थपौं न?’ भन्ने प्रश्नमा वेटरको ठाडो जवाफ आयो– ‘महँगीको साग नथपौं हजुर, बरु दाल थपौं।’ साँच्चै भन्नुपर्दा त्यहाँको खानाको न त स्वाद थियो, न त पोषण नै। छुँदाखेरी तीन दिनअघिको भात तताएको भान भयो। यही निहुँमा सानोतिनो भनाभन नै भयो।

होटल व्यवसायी तथा गाडी चालकको साँठगाँठमा यात्रुले न्यून गुणस्तरको खानाकै लागि उच्च मूल्य तिर्ने गरेका छन्। एक यात्रुले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘तपाईं चितवनका होटलझैं होला भन्ने सोच्दै हुनुहुन्छ होला। त्यता पो अनुगमन आउँछ, गुणस्तर कायम राख्छन्। यता त मनपरि छ। ड्राइभर र साहु मिलेर खान्छन्।’ उहाँले यस क्षेत्रमा यात्रा गरेर आफू आजित भइसकेको पनि बताउनुभयो।

उहाँका अनुसार यस्ता समस्या आए भने उजुरी भए पनि अनुगमनको नाममा एउटा टोली आएर अनुगमन गरेझैं गर्छ। ‘उनीहरूबीच आर्थिक सम्झौता भएपछि होटलको मनपरि फेरि शुरू हुन्छ’, –उहाँले भन्नुभयो। अनौपचारिक कुराकानीमा गाडीका चालक हरि भुजेलले कमिसनकै लोभमा यस्तो गर्ने गरेको स्वीकारे। उनले भने– ‘के गर्नु हजुर ? हाम्रो बाध्यता हो।’ खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भने राजमार्गका होटलमा अनुगमनका कार्य कार्यतालिकामा कमै पर्ने गरेको तथा अहिले तत्कालै यसो गरिहाल्ने योजना नभएको बताएको छ।

विभागका प्रवक्ता मदनकुमार चापागाईंले त्यस क्षेत्रको अनुगमन भैरहवा डिभिजनले हेर्ने भएकाले आफूलाई त्यसको बारेमा त्यति ज्ञान नभएको बताउनुभयो। नेपाल समाचारपत्रसँग कुरा गर्दै उहाँले भन्नुभयो– ‘यद्यपि तपाईंले समस्या भनिहाल्नुभयो, म यसलाई चाँडै नै छलफलमा लग्नेछु।’

प्रतिक्रिया दिनुहोस्