नारायणहिटी दरबार संग्रहालयमा बाँसको टेको, धनुषा बैठक कक्षको शोभा नै हरायो



ईश्वरराज ढकाल, काठमाडौं
नारायणहिटी दरबार संग्रहालयको मुख्य कक्ष धनुषा बैठक कक्षमा बाँसको टेको लगाइएको छ। फल्स सिलिङ खस्न लागेको भन्दै संग्रहालय प्रशासनले ४ वटा बाँसको टेको लगाएको छ। दैनिक सयौं पर्यटक र नेपाली सर्वसाधारण जनता अवलोकन गर्न आउने सो सदनमा बाँसको टेको लगाउँदा सदनको शोभा नै घटेको छ।

अवलोकन गर्न आउने अधिकांशले टेको लगाएकोमा विरोध जनाएका छन्। संग्रहालय प्रशासनले भने बजेट अभावको कारण टेको लगाउनुपरेको जनाएको छ। संग्रहालय प्रमुख रोहित ढुंगानाले बजेट अभावका कारण सिलिङ मर्मत गर्न नसकिएको बताउनुभयो। उहाँले भन्नुभयो– ‘बजेट छैन कसरी मर्मत गर्ने ?’ उहाँले बजेट आएलगत्तै सो कक्षको सिलिङ मर्मत गरिने बताउनुभयो। टालटुले बजेटका कारण पूर्ण रुपमा मर्मतसम्भार गर्न समस्या परेपछि हाल सो कक्षको सिलिङमा टेको लगाइएको हो। राजाको शासनकालमा धनुषा कक्षमा विजयादशमीका दिन टीका लगाउने, नेपाली सेनादेखि अति विशिष्ट व्यक्तिलाई तत्कालीन राजाबाट पदक वितरण गर्न सो बैठककक्ष प्रयोग गरिन्थो।

सो कक्षमा करिब २ सय पदक र तत्कालीन राजा वीरेन्द्रले पदक लगाइदिनुभएको फोटो सजावट गरी राखिएको छ। सो कक्षमा त्रिशक्ति पट्ट, महेन्द्र माला, वीरेन्द्र माला, नेपाल तारा, ओमराम पट्ट, त्रिभुवन प्रजातन्त्र भाष्कर, गोरखा दक्षिणबाहुलगायतका राजाकालीन चर्चित पदक राखिएका छन्। संग्रहालय प्रशासनले करिब दुई साताअघि बाँसको टेको राखेको थियो। सिलिङ खस्न सक्ने भएपछि बाँसको टेको लगाइएको ढुंगानाले जानकारी दिनुभयो।

सो कक्षमा २०५५ भदौ ४ गते र २०५९ माघ १० गते राजपरिवारका सदस्यहरूको सामूहिक तस्वीर राखिएको छ। तस्वीरको मुनि सम्पूर्ण सदस्यहरूले हस्ताक्षर गरिएको तस्वीरसमेत राखिएको छ। सर्वसाधारणका लागि खुला गरिएको १९ कक्षमध्ये केहीको छाना चुहिन थालेको छ। संग्रहालयमा ५२ वटा कक्ष छन्। तत्कालीन प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाले राष्ट्र प्रमुखका हैसियतले २०६५ असोज १ गते संग्रहालय बनाउने घोषणा गरेपछि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोही वर्षको फागुन १५ गते संग्रहालयको प्रदर्शनी शुभारम्भ गर्नुभएको थियो।

संग्रहालयमा हाल १९ वटा कक्ष, बगैंचा र राजा वीरेन्द्र परिवारको हत्या भएको स्थान त्रिभुवन सदन अवलोकन गर्न पाउने व्यवस्था गरेको थियो। संग्रहालयले त्रिभुवन सदन को बिलियार्ड हल निर्माण गरी सो हलको त्रिलियार्डसहित अधिकांश सामग्री राखिसकेको छ। ७ सय ५३ रोपनी क्षेत्रफलमा फैलिएको नारायणहिटी दरबार परिसरमध्ये संग्रहालयले ३ सय १८ रोपनी क्षेत्रफल ओगटेको छ।

प्रतिक्रिया दिनुहोस्