किन फर्किए गच्छदार ? टीकापुर घटनाका दोषीलाई छोड्न प्रधानमन्त्री तयार



 

बीपी साह, काठमाडौं
नेपाली कांग्रेसको राजनीतिबाट मधेसवादी राजनीतिमा प्रवेश गरेका विजयकुमार गच्छदारले आफू नेतृत्वको पार्टी नेपाल लोकतान्त्रिक फोरमलाई कांग्रेसमै विलय गराएका छन्। देशमा कम्युनिस्टलाई हावी हुन नदिने दाबी गर्दै गच्छदार कांग्रेसमा फर्केको बताएका छन्।

दोस्रो संविधानसभाको निर्वाचनताका पनि कांग्रेसमा फर्किने विषयमा गच्छदारले छलफल गरेका थिए। स्थानीय निकायको निर्वाचनअघि कांग्रेसको शीर्ष नेतृत्वसँग औपचारिक वार्ता नै भएको थियो। तर गच्छदारले पार्टीको उपसभापतिसहित गृह मन्त्रालयको माग गरेपछि एकीकरण रोकिएको थियो।

स्थानीय निकायको निर्वाचनमा अस्तित्व जोगाउन नसक्दा र आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई ध्यानमा राख्दै गच्छदारले लचक भएर कांग्रेसमा विलय हुने निर्णय गरेका थिए। पार्टीभित्र असन्तुष्टिका बाबजुद गच्छदार कांग्रेसमा विलय भएका हुन्। नेपाल लोकतान्त्रिक फोरमका केही नेताले पार्टीलाई पुनर्गठन गर्ने तयारी पनि गरेका छन्।

सोमबार पार्टी एकता कार्यक्रममा भावुक हुँदै गच्छदारले नेपालमा कम्युनिस्टलाई पराजित गर्न आफू कांग्रेसमा फर्किएको दाबी गरे। उनले आफ्नो रगतमा कांग्रेस रहेको र आफू प्रजातन्त्रको पक्षधर रहेको कुरालाई बारम्बार जोड दिए।

विद्यार्थी राजनीतिबाट कांग्रेसमा लागेका गच्छदार अनेरास्ववियुका विद्यार्थी नेताको हत्यापछि जेल परेका थिए। २०४८ सालमा सञ्चार राज्यमन्त्रीबाट सत्तारोहणको यात्रा शुरू गरेका गच्छदार देशमा सबभन्दा बढी मन्त्री बन्ने नेतामध्येका हुनुहुन्छ। गच्छदार १७ पूर्वसांसदसहित कांग्रेसमा प्रवेश गरेका हुन्।

उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम नेपालबाट दोस्रो मधेस आन्दोलनदेखि मधेस राजनीतिमा लागेका गच्छदार पहिलो संविधानसभाको बीचमै पार्टी विभाजन गरी सरकारमा सहभागी भएका थिए। त्यसपछि उनको पार्टी विभाजन गरेर शरद्सिंह भण्डारी पनि बाहिरिएका थिए।

यसैबीच नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा टीकापुर घटनासहितको मधेस तथा थरुहट आन्दोलनमा पक्राउ परेका बन्दीलाई रिहा गर्न सहमत हुनुभएको छ। कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच पार्टी एकीकरणका लागि भएको सहमतिमा प्रधानमन्त्री देउवा टीकापुर आन्दोलनसहितका घटनाका दोषीहरूलाई छोड्न तयार हुनुभएको हो।

सहमतिपत्रमा भनिएको छ– ‘थरुहट र मधेस आन्दोलनको सिलसिलामा गिरफ्तार भएका व्यक्तिहरूको मुद्दा राजीतिक हो भन्ने कांग्रेसले मानी आएको छ। तसर्थ, यस क्रममा बन्दी हुनुभएका निर्दोष नागरिकहरूको मुद्दा फिर्ता गरी रिहाइ गर्न सरकारसँग आवश्यक पहल गर्न हामी दुवै दल सहमत छौं।’ यस सहमतिपत्रमा प्रधानमन्त्री देउवाले स्वयंले हस्ताक्षर गर्नुभएको छ।

गच्छदारको निजी सचिवालयले दिएको जानकारीअनुसार टीकापुर घटनाका दोषीलाई छोड्ने सहमति शीर्ष नेतृत्वमा भएको छ। सोहीअनुसार चुनावअघि टीकापुर घटनाका दोषीलाई रिहा गर्ने सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस्