विजय ज्ञवाली

सरकार गठबन्धनका सारथीहरूले केही अघि मात्र आ–आफ्नो व्यक्तिगत सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। जसअनुसार प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीहरूले आ–आफूसँग भएको सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। यो एउटा लोकतान्त्रिक चरित्रभित्र पनि पर्दछ। नेपालको संविधानमा सार्वजनिक पदमा आसीन हरेक कर्मचारीले प्रत्येक वर्ष आ–आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने भनेर स्पष्टरूपमा उल्लेख गरेको छ। यसरी सम्पत्ति विवरण सार्वजनिक गरिँदा हरेक सार्वजनिक ओहदाका व्यक्तिहरूबाट भ्रष्टाचार भएको छ⁄छैन, उनीहरूको आयस्रोतमा के–कस्तो थपघट भएको छ, कतै अप्रत्यासितरूपमै सम्पत्तिको जोहो पो भैरहेको छ कि, राज्यकोषको कतै दुरूपयोग पो भैरहेको छ या अख्तियारीप्राप्त अख्तियारवालाले कतै अख्तियारीको दुरूपयोग पो गरेको छ कि भनेर जानकारी लिने हेतु हरेक लोकतान्त्रिक चरित्रभित्र यस्तो व्यवस्था गरिएको हुन्छ।

जुन अत्यन्त उच्च कोटिको संस्कार पनि हो। अन्य विकसित देशहरू जहाँ भ्रष्टाचारमा शून्य सहनशीलतालाई अवलम्बन गरेका छन्, त्यस्ता देशहरूमा लोकतान्त्रिक चरित्रलाई मूल दायित्व सम्झिएर यस्ता उच्च कोटिका अभ्यासहरूलाई अझ राज्यहितसँग जोडेर राज्य र सरकारका बीच एउटा विश्वास, सुमधुर सम्बन्ध एवं आपसी सहकार्यद्वारा लोकतन्त्रलाई अझ मजबुत बनाइरहेको पाइन्छ। राजनीतिक दलहरूले सत्तासीन हुँदा होस् वा सत्ताबाहिर रहँदा होस्, कहीँ–कतै आर्थिक अनियमितता हुन नदिन नेतृत्व तहदेखि तल्लो स्तरसम्मका कार्यकर्ताहरूमा उच्च नैतिक चरित्रको प्रदर्शन गर्न अभिप्रेरित गरिरहेका हुन्छन्। यसबाट मान्छेको नैतिक चरित्र पनि उच्च रहिरहेको हुन्छ।

तर विडम्बना नै भन्नुपर्दछ, हाम्रो मुलुकमा त्यस्तो अभ्यास पटक्कै भएको पाइँदैन। लोकतान्त्रिक मूल्य र मान्यताको नै धज्जी उडाउँदै सत्तासीन वा सत्ताबाहिर रहेका नेतृत्व तहदेखि सामान्य कार्यकर्ताहरूसम्म अराजकता, गुण्डागर्दी, धाकधम्की, कमिसन, भनसुन, तस्करीजस्ता गम्भीर क्रियाकलापलाई नै राजनीतिको खेती मानिदै आएको छ।

सिद्धान्त र आदर्शको राजनीतिलाई वर्तमान नेतृत्वले पटक्कै अवलम्बन गरेको पाइँदैन। विधिको शासन, स्थापित मूल्य मान्यता, आत्मसंयमता एवं पारदर्शितालाई राज्यनेतृत्वसँग नजोडेर वर्तमान नेतृत्व अराजकताको बाटो दौडिरहेको छ। यस्तोमा आफूभन्दा तल्लो तहको नेताकार्यकर्ताले के सिक्नेहुन् र भोलिका दिनहरूमा राज्यले कस्तो नेतृत्व प्राप्त गर्ने हो भन्ने चिन्तनतिर वर्तमान नेतृत्व गम्भीररूपले चुकेको छ। यसबाट भोलिका दिनहरूमा पर्न जाने प्रभाव र अभावबारे आजैका दिनहरूमा सोच्न नसक्ने हो भने आगामी दिनहरूमा एउटा उच्च नैतिक चरित्रवान् नेतृत्वको अझ हाहाकार पर्ने देखिन्छ। यसबाट देशको भविष्यसमेत जोखिममा पर्ने निश्चित नै छ।

राजनीतिक भागभण्डाको आधारमा कुनै अमूक दल या नेता विशेषको आशिर्वादका कारण अख्तियारको नेतृत्व सम्हाल्न पुगेको अख्तियार प्रमूखजस्तो अति सघन व्यक्तिले के आफ्नो अख्तियारी निभाउला र ? विगतका दिनहरूमा छरपस्ट अख्तियारका एकपछि अर्को कालो कर्तुतहरूले नागरिकमा झनै नैराश्यता प्रदान गरेको छ। स्वतन्त्ररूपमा अख्तियारीप्राप्त व्यक्तिबाट अख्तियारी दुरूपयोगको छानबिन गरी दोषीलाई कडा दण्ड सजाय एवं जरिबाना र विधिको शासन स्थापना हेतु राज्यलाई सहयोग गर्ने दायित्वबाट चुकेर आफैं भ्रष्टाचार र अनेक काला कर्तुतहरूमा मुछिएपछि त्यस्तो अख्तियारबाट जनताले के अपेक्षा गर्ने ? हुन त दलीय भागवण्डा एवं सत्तास्वार्थसँग अख्तियारलाई जोडेपछि निस्कने परिणाम नै यही हो। यसमा कुनै आश्चर्य त मान्नुपर्दैन, यद्यपि रातदिन लोकतन्त्रको दुहाइ दिने नेताहरूले विचार पुर्याउनुपर्दछ कि पर्दैन त, हामी कुन धरातलमा उभिएका छौं र हाम्रो हैसियत एवं साख के–कस्तो हो भनेर ? भोलिका दिनहरूमा उत्पन्न हुने प्रतिक्रिया एवं परिणामलाई आजै अन्दाज गर्ने या नगर्ने त ?

जे गरे पनि हुन्छ, जसो बोले पनि हुन्छ र जसरी गए पनि हुन्छ भन्ने मानसिकताले नै कुरा बिग्रिएको हो। व्यक्तिको चरित्रदेखि लिएर देश विकास र स्तरोन्नतिको सवालमा यी र यस्तै कुराहरू बाधक रहँदै आएका छन्। देश निर्माणको अहं अभिभारा लिएर राज्य र राजनीतिक दलमा पकड जमाएर बसेका व्यक्तिहरूले स्वेच्छाचारिता एवं हदैसम्मको गैरजिम्मेवारी प्रदर्शन गर्दा आज देश र जनताको दुरवस्था जस्ताको तस्तै छ। हरेक अवसर होस् वा आपतलाई आफ्नो स्वार्थअनुरूप कमाइ खाने धन्दाको रूपमा मात्र नेतृत्वले बुझिदिनाले कुनै पनि समस्या यथा समयमै निरूपण हुन सकेका छैनन्। यसको ज्वलन्त उदाहरण पछिल्लो समयमा नेपालले भोग्नुपरेको महाविपत भूकम्पलाई लिन सकिन्छ। भूकम्प र भूकम्पपीडितको नाममा आजसम्म जे–जति हुँदै आएको छ त्यो सब उनीहरूमाथि कठोर राजनीति मात्रै हुँदै आइरहेको छ भने अर्कातर्फ भूकम्पपीडितका नाममा चरम भ्रष्टाचार पनि भैआएको छ। देशले यत्रो आपत बेहोर्दा एवं जनताले यति विघ्न सास्ती भोगिरहँदा पनि यसैको नाममा राजनीति र भ्रष्टाचार गर्ने नेतृत्वलाई कुन रूपमा चरित्रवान् नेतृत्व भनेर भन्ने हामीले ? नेतृत्वले भूकम्पका नाममा भ्रष्टाचार र राजनीति मात्र गरेको छैन, भूकम्पले गर्दा घरबार र आफन्त गुमाएको पीडामाथि अझ लात हान्ने काम गरेको छ नेतृत्वले।

भ्रष्टाचार र नेपाल एक–अर्कामा परिपूरक बनिसके। भ्रष्टाचारले गर्दा आज देश भित्रभित्रै कंगाल बन्दै आएको छ भने विधि र विधानलाई नै चुनौती दिँदै आज राज्यका हरेक अंग एवं संरचना ध्वस्तप्रायः छन्। भ्रष्टाचारको मामिलामा दक्षिण एसियामा नेपाल अब्बल मात्र नभई तस्करी, अपराध, घुसपैठ एवं अराजकतामा पनि उत्तिकै बद्नाम छ। यसले गर्दा अन्तर्राष्ट्रिय जगत्मा नेपालको शान दिनानुदिन गिर्दो अवस्थामा छ भने नागरिकलाई पनि अत्यन्तै तल्लो दर्जाको व्यवहार गरिँदै आएको छ। यसको पछिल्लो उदाहरणका रूपमा पूर्वप्रधानमन्त्री एवं नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईलाई लिन सकिन्छ। हङकङको अध्यागमन विभागमा हरियो पासपोर्ट देखाएकै भरमा उनीमाथि तल्लो व्यवहार प्रदर्शन गरिनु एवं छनबिन प्रक्रियामा लैजानु निश्चय पनि हाम्रा लागि सुखद कुरा होइन। त्यस्तै केही दिनअघि मात्र जापानको अध्यागमन विभागबाट स्वदेश फर्काइएका कांग्रेस निकट एक विद्यार्थी नेता प्रदीप पौडेलको उदाहरण पनि कम्ता लज्जाजनक विषय होइन। देशको प्रधानमन्त्री भैसकेको व्यक्तिमाथि त यसरी छानबिनको नाममा तल्लो स्तरको व्यवहार प्रदर्शन गरिन्छ भने सहजै अनुमान लगाउन सकिन्छ कि आमनागरिकको विश्वमा कस्तो हालत होला ? यसतर्फ नेतृत्वले सोच्ने कि नसोच्ने, आखिर किन र कसरी यस्तो अवस्था आइपुग्यो ? कहीँ–कतै खराब नेतृत्व र गलत आचरणले गर्दा अन्तर्राष्ट्रिय जगत्मा नेपालको साख दिनानुदिन खस्कँदै गएको त होइन ? यसमा दोषी को त ? नेतृत्वले गम्भीर आत्मसमीक्षा गर्नुपर्ने बेला आएको छ।

जहाँसम्म सम्पत्ति विवरणको सवाल छ, यसपालि पनि नेतृत्व जनतासामु सरासर झुट बोलिराखेको छ। तीन करोड नागरिक कसैले पनि रत्ति पनि विश्वास गर्न नसक्ने कुरा आखिर किन बारम्बार दोहोर्याइरहन्छ नेतृत्ववर्ग ? किन जनतासँग सरासर झुट बोल्छ नेतृत्व ? विवेकलाई किन सही रूपमा प्रयोग गर्न सक्तैन नेतृत्व ? आखिर केले छेक्छ नेतृत्वलाई सत्यतथ्य बोल्न र विधिको शासन स्थापित गर्न ? गरिब र असल नेतृत्व को हो, को होइन, आजका दिनमा जनता आफैं बुझ्न सक्षम छन्। अब जति नै लुकाएर र बंग्याएर सत्यतथ्यलाई लुकाउन खोजे पनि त्यो लुक्नेवाला छैन। यथार्थ त यो हो कि आजका दिनमा नेपालका कुनै पनि नेता, उपल्लोस्तरका कर्मचारी र जुझारु कार्यकर्ता कोही पनि गरिब छैनन्। गरिब त ती छन्, जसले इमानदारिता र देश अनि दायित्वबोध गरेको छ।

अर्का थरी गरिब ती छन्, जुन भौतिकरूपमा सम्पन्न हुँदाहुँदै पनि मानसिकरूपमा गरिब छन्। त्यस्ता मानसिकरूपमा गरिब हालका नेतृत्ववर्ग नै पर्न जान्छन्। प्रधानमन्त्रीदेखि मन्त्री, नेता, कार्यकर्ता आजका दिनसम्म आइपुग्दा कोही पनि गरिब छैनन्। त्यसैले सम्पत्ति विवरण बुझाउने नाममा जग–हँसाइको कार्य नगर्दा नै बेस होला। जब लोकतान्त्रिक मूल्य–मान्यतालाई नै धज्जी उडाउँदै जनतासामु सरासर झुट बोलिन्छ, त्यस्तो सम्पत्ति विवरण सार्वजनिक गर्नुको अर्थ नै के रहन्छ र ? त्यसैले हिजोका चप्पलवाला नवधनाढ्यले जनतामाझ हाँसोको रिहर्सल नगर्नु नै राम्रो हुनेछ।

1 COMMENT

  1. Bijaya sir namskar tapai jaile pan bastbita ma kalma uthunihunx khusi lagx. Tar tapai hamrai galti le garda aj tianxe ho sttama xan ani hamra pratinidi baner baseka xan uniharule khutto ghumaune absar prapta gareka xan tapai hami le garda yedi hami harek level ma khabrdari grdai jane ho ra sahi manxe lai chunna sakne ho bhane ab ko kehi samya paxi yo halt dekhna naparla .yeha ta ramro bhanda hamro ko havi x ani kasri nahos green passwort ko bejjat ?? ani kasri nahos uchha ohodaka manxeko rank tala??? Desko bisista manxe bahira meating ma jada yeha bata bivinna alochana suru hunchha uha pugda usko manbal yeti giraxki bichara ke bolne bhaner patto paunna ….

LEAVE A REPLY