त्रासमै उपचार गराउँछ आनन्दवन अस्पताल



सुरेश तामाङ, ललितपुर ।
गोदावरी नगरपालिकामा अवस्थित आनन्दवन अस्पतालले त्रासमै विमारीहरुको उपचार गराईरहेको छ । अस्पताल परिसरमा रहेका जिर्ण रुख काट्ने अनुमति नपाउँदा अस्पतालले जोखिमका साथ विरामीको उपचार गर्नुपर्ने बाध्यता छ ।

२ दर्जन भन्दा बढी वर्षौ पुराना सल्लाका रुख विरामी राख्ने वार्ड भवन भन्दा माथि छन् । अधिकांश रुख हावाहुरीले जुनसुकै बेला भाँच्ने अवस्थाका भएकाले मानवीय र भौतिक क्षतिको उच्च संभावना रहेको अस्पताल प्रशासनले जनाएको छ । ‘हरियाली कायम राख्न रुख विरुवाको ठूलो महत्व रहन्छ, तर यहाँका रुख वर्षौ पुराना छन्, सो अस्पतालका एक अधिकारीले नेपाल समाचारपत्रसँग भने–‘ धेरै रुख जुनसुकै बेला भाँचिने अवस्थाका छन् ।’

ती अधिकारीका अनुसार अस्पतालले विगत २ वर्ष अघिदेखि जिल्ला वन कार्यालयलाई समस्या अवगत गराउँदै आएको छ, तर सुनुवाई भएको छैन । जिल्ला वनले वन विभाग र विभागले वन मन्त्राललाई देखाउँदै जिम्मेवारीबाट पन्छिएको अस्पतालका अधिकारीहरुको आरोप छ । लेप्रोसी मिसन इन्टरनेशनलको आर्थिक सहयोगमा २०१४ सालमा स्थापना भएको यो मुलुककै पुरानो कुष्ठरोग अस्पताल हो ।

कुष्ठरोग उपचार र अनुसन्धानमा छुट्टै पहिचान बनाएको यो अस्पतालमा अन्य स्वास्थ्य सेवा समेत उपलब्ध छ । तर जोखिमपूर्ण अवस्थामा रहेका रुखका कारण अस्पताल पुग्ने सेवाग्राही, चिकित्सक र कर्मचारी ढुक्क हुने अवस्था देखिदैन ।

सल्लै सल्लाका रुखका वीचमा रहेको यो अस्पतालमा ५ वर्ष अघि केही रुख भाँचिदा केही सेवाग्राही घाइते समेत भएका थिए । पटक–पटक ध्यानाकर्षण गराउँदा सरकारी निकायले यो समस्यालाई गम्भिरता पूर्वक नलिएको गोदावरी नगरपालिका – ६का वडा सदस्य गम्भिर बहादुर राना बताउनुहुन्छ ।
यसबारेमा जिज्ञासा राख्दा ईलाका वन कार्यालय लेलेका सहायक वन अधिकृत पशुपति दाहालले रुख कटानको सिजन नभएकाले अस्पताललाई रुख काट्ने अनुमति नदिएको आफूलाई जानकारी आएको बताउनुभयो । ‘प्रत्येक वर्षको कार्तिक १५ देखि रुख काट्ने अनुमति दिइने भएकाले त्यसपछि यो समस्या समाधान हुने मेरो विश्वास छ’–उहाँले भन्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस्