तपाईका घरमा हाम्रा डाक्टर



 

म अहिले २४ वर्षकी भएँ । म एउटा केटालाई धेरै माया गर्थें । उसले पनि सोही व्यवहार गथ्र्यो । तर ४ वर्षको अवधिपछि ऊ मबाट टाढा हुँदै गयो । मलाई वास्ता गर्दैन । अहिले अभिभावकले मलाई अर्कैसँग बिहे गर्न दबाब दिँदै आएका छन् तर म उसलाई भुल्न सक्दिनँ । डिपे्रसनमा गएको छु जस्तो लाग्छ । मर्न मात्र मन लाग्छ । म के गरौं ?

सन्ध्या दाहाल, टाँडी, चितवन

ओहो, यो त साह्रो भएन र सन्ध्याजी ? यदि उसलाई तपाईंको आवश्यकता छैन, वास्ता नै छैन भने तपाईं आफ्नो स्वास्थ्य अनि भविष्य बरबाद पारेर उसकै लागि राग–अलाप गरेर बस्ने ? प्रेम अनि सम्बन्ध भन्ने कुरा सधँै दुवैतिर हुन्छ वा आपसमा हुन्छ । संसारमा सबैको लागि सबै खाले समस्याको लागि समाधान उपलब्ध छ । या त ऊसँग एकपटक सम्पर्क गरेर आफ्नो धारणा राख्नुस् अनि पाइला चाल्न अनुरोध गर्नुस्, होइन भने आफ्नो बाटो तय गर्ने निक्र्योल गर्नुस्, जसको लागि समय लाग्ला । ध्यान, योग, व्यायाम गर्ने, सकारात्मक सोचसम्बन्धी पुस्तक पढ्ने, लेखाइमा ध्यान दिने, व्यस्त रहने आदि गरेर आफूलाई तयार पार्नुस् अनि अघि बढ्नुस् । तपाईं पक्कै पनि सक्नुहुनेछ भन्ने मेरो विश्वास छ । होइन, सकिएन भने एकजना मनोरोग विज्ञसँग परामर्श गर्ने, सहयोग लिने अनि परेमा औषधि नै प्रयोग गर्नुस् । आफूलाई फ्रेस अनि प्रफुल्ल बनाउनुस् । जीवन एउटा मात्र छ, त्यो पनि निश्चित समयको छोटो छ, जसलाई पूर्ण उपयोग गर्ने र फलदायी बनाउने हाम्रो कर्तव्य हो ।

बाथरोग लागेपछि यसको उपचार एलोपेथीबाट भन्दा आयुर्वेदिक र होमियोप्याथी प्रविधिबाट गर्नु राम्रो भनिन्छ । एलोपेथी उपचार विधिले पछि साइड इफेक्ट हुन्छ रे । मलाई बाथरोग लागेको करिब १ वर्ष भयो । मैले पनि मेरो बाथरोगको उपचार विगत ६ महिनादेखि होमियोप्याथी प्रविधिबाटै गराइराखेको छु । तर, यति लामो समयसम्म औषधोपचार गर्दा पनि पूर्णरुपमा निको हुन सकेको छैन । पहिले भन्दा दुखाइ अलि कम महसुस भए पनि बिहानपख भने हातको जोर्नी दुखी नै रहन्छ अनि घाम लागेपछि बिस्तारै घट्दै जान्छ । लामो समय होमियोप्याथीबाट उपचार गर्दा पनि निको भएन भने भोलि एलोपेथी उपचार गराउन ढिलो भयो भन्ने पो हो कि भन्ने डर लागिरहेको छ । मेरो यो असामञ्जस्यलाई कसरी हटाउने होला ?

हरिबहादुर थापा, लुभु, ललितपुर

थापाजी, तपाईंले भनेको जस्तो होमियोप्याथी वा आयुर्वेदिक पद्धति एलोप्याथीभन्दा राम्रो भन्न मिल्दैन । एलोप्याथी विधि वैज्ञानिक हुनुको साथै तथ्य, अध्ययन, अनुसन्धान, र प्रमाणको आधारमा औषधि चलाउने विधि हो । तर होमियोप्याथी र आयुर्वेदिक पद्धति इतिहास, चलन, विश्वास, संस्कारको आधारमा औषधि चलाउने विधि हो । र, यी दुई पद्धति एलोप्याथी नआउँदै चलेका उपचार विधि हुन् । अब रह्यो बाथरोगको कुरा, बाथ भन्नाले आयुर्वेदमा एक समस्या मानिन्छ । तर एलोप्याथी दृष्टिकोणले हेर्दा हामीले बुझेको व्यापक बाथभित्र दशौं प्रकृतिका समस्या (बाथका प्रकारहरु) हुन सक्छन् । सबै बाथको उपचार अनि त्यसको कारण प्रकृतिअनुसार फरक–फरक हुन सक्छन् । यसैबाट स्पष्ट हुनुपर्यो कि के गर्दा राम्रो होला भनेर । होमियोप्याथिक अथवा आयुर्वेदिक पद्धतिबाट उपचार गर्नु गल्ती वा अपराध होइन, शुरु–शुरुमा घरेलु उपाय अपनाउनु ठीक हुन सक्छ । भएन भने अस्पताल जाने, चिकित्सक अझ सकेसम्म विज्ञ भेट्ने, सूक्ष्म निदान अनि सही उपचारको बाटो खोज्ने । फेरि तपाईं काठमाडौंमै हुनाले र यहाँ बाथरोग विज्ञ भेटिन सक्ने हुनाले पायक पर्ने स्वास्थ्य संस्थामा गएर विज्ञ भेट्नुहोस् । अनि चिकित्सकको सल्लाहबमोजिम परीक्षण गरी उपचार गराउन सल्लाह दिइन्छ ।

अहिले सामाजिक सञ्जालमा स्थास्थ्य उपचारसम्बन्धी विभिन्न सुझावहरु लेखिराखेका हुन्छन् । अनलाइनहरुमा पनि यो खान हुन्छ, यो खान हुँदैन, यो व्यायाम गर्न हुन्छ, यो गर्न हुँदैन भनेको पाइन्छ । खासगरी एउटै रोगबारे विभिन्नि विरोधाभासपूर्ण कुराहरु लेखिराखेका हुन्छन् । यसरी सामाजिक सञ्जालमा लेखिएका कुरालाई विश्वास गर्नु कत्तिको उचित होला ? के यतातिर ध्यान नदिई सीधै चिकित्सककै सल्लाह मानेर औषधि उपचार गर्नु ठीक होला ?

विवेक मैनाली, सामाखुसी, काठमाडौं

मैनालीजी, सामाजिक सञ्जालमा सबैको पहुँच हुन्छ । त्यहाँ वैज्ञानिक अध्ययन भएका, अन्वेषण भएका, प्रमाणित भएका अनि आधार भएका कुरा मात्रै हुने होइन, जनबोली, रीतिरिवाज, विश्वास, अन्धविश्वास समाजमा व्याप्त छ । त्यसैको प्रतिविम्ब हो सामाजिक सञ्जाल, जहाँ मान्छेलाई मन लागेका, विश्वास भएका, व्यक्त गर्न मन लागेका कुरा पोस्ट हुने गर्छन् । त्यहाँ जसले जे लेखे पनि हुन्छ, न रोकतोक छ, न जिम्मेवारी, न कर्तव्य ? छ त केवल स्वतन्त्रता अनि एउटा मात्र मान्छेको मनको कुरा राख्ने सहज थलो, जसमा धेरैले एकै विषयको फरक–फरक विचार, लेख, तर्क, सल्लाह अनि विश्वास राख्न सक्छन् । हामी फरक–फरक चलन, रीतिरिवाज, चाडपर्व, विश्वास, जातजाति, धर्मका भएपछि फरक–फरक सुझाव अनि भनाइ हुनु स्वाभाविकै नै हो । यहाँका सबै कुरालाई विश्वास गरिहाल्न सकिँदैन । नेटका सबै कुरा नराम्रा भन्ने पनि हुँदैन । इन्टरनेटबाट धेरै तथ्यपरक कुरा पत्ता लगाउन सकिन्छ । राम्ररी अध्ययन गरेपछि विश्वस्त हुन सकिन्छ, होइन भने सम्बन्धित चिकित्सक भेटेर आफूलाई विश्वस्त पार्न सकिन्छ ।

कुन समयमा सम्भोग गर्दा स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ? यस विषयमा फरक–फरक मत पाइन्छ । कसैले एकाबिहानै सम्भोग गर्नु स्वास्थ्यका लागि राम्रो भनिरहेका हुन्छन् भने कसैले बेलुकी सम्भोग गर्नु जस्तो स्वास्थ्यका लागि अरु कुनै समयमा सम्भोग गर्दा पनि हुँदैन भन्छन् । अझ धेरैजसोले दिउँसो सम्भोग गर्दा स्वास्थ्यमै असर गर्छ भनी दाबी गर्न पनि पछि पर्दैनन् । फुर्सद नहुने मान्छेका लागि जुनसुकै समयमा पनि सम्भोग गर्दा के फरक पर्छ ? सल्लाह चाहन्छु ।

नाम खालि, नारायणगढ, चितवन

नारायणगढ निवासी महानुभाव, विज्ञान–मनोविज्ञान अनि हाम्रो संस्कार–संस्कृतिले ज्ञान दिएको हुन्छ र यसको दायरा तोकिदिएको हुन्छ । सहमति र जिम्मेवारी महसुस गरेर, स्थान र परिवेश ख्याल गरेर सम्भोगको कुरा अपनाउन सकिन्छ । समयले कुनै अर्थ राख्ने होइन, आ–आफ्नो मनोवृत्ति अनि सोचको कुरा मात्रै हो । स्वास्थ्यमा सुप्रभाव स्वस्थ यौनले दिन्छ नै । यौनमा लिप्तताभन्दा जीवनमा व्यस्त हुने, केही राम्रा क्रियाकलापको लगावमा लाग्ने, मेहनत गर्ने, अध्ययन–अनुसन्धान गर्नेतिर लागौं । सम्भोग जैविक अनि प्राकृतिक कुरा हो । त्यसैले स्वस्थ यौनको उपयोग र सदुपयोग गरौं, जीवन सुख र खुशीले भरपूर पारौं ।

मधुमेहका रोगीलाई कुनै चिकित्सकले अलि–अलि गुलियो खाए केही फरक पर्दैन भनिरहेका हुन्छन् भने कुनै चिकित्सकले गुलियो पदार्थबाट बिलकुलै टाढा रहनुपर्छ भनी सल्लाह दिइरहेको सुनिन्छ । यसबाट मधुमेहका धेरै रोगीहरु अलमलमा परिरहेका देखिन्छन् । खास कुरो के होला ?

सागर श्रेष्ठ, बल्खु, काठमाडौं

सागरजी, मधुमेहको रोग लाग्यो भन्दैमा कुनै–कुनै कुरा त्यसमा पनि गुलियो कुरा खानै नहुने भन्ने होइन । खान सबै खाद्यपदार्थ हुन्छ तर त्यसको लागि आफ्नो शरीरको ऊर्जा (क्यालोरी वा इनर्जी) को आवश्यकता हेरी मात्रा तथा गुण मिलाएर खानुपर्ने हुन्छ । शरीरको आवश्यकताभन्दा बढी ऊर्जा खानाको रुपमा लिएमा त्यो शरीरमा बढ्न गएको सुगरको मात्रालाई मिलाउने, पचाउने, व्यवस्थापन गर्ने जुन हर्मोन हुन्छ त्यसलाई इन्सुलिन भनिन्छ. त्यही हर्मोनको मात्रात्मक वा गुणात्मक कमी हुनु नै मधुमेह हो । अध्ययनशील वा पढेलेखेका बिरामीलाई शरीरका लागि २४ घन्टामा आवश्यकताअनुसार कुन खाद्यवस्तुले कति ऊर्जा प्रदान गर्छ र ऊर्जाको सन्तुलन कसरी मिल्छ भनी बुझाउन सकिएमा खाना बार्नुभन्दा व्यवस्थापन गर्नु राम्रो हुन्छ । पुराना विचारका, अध्ययन–अध्यापनबाट टाढा बस्न बाध्य अनि अनुशासनमा रहन नसक्ने बिरामीका लागि खानामा रोकतोक, नियन्त्रण अनि खान सकिने वस्तु दोहोर्याई–तेहर्याई बुझाई स्पष्ट खाका दिएर परामर्श गर्नुपर्ने हुन्छ.।

अहिले बजारमा पाइने सुगर लेबल नाप्ने यन्त्र कत्तिको भरपर्दो हुन्छ ? त्यसो त कयौं नर्सिङ होम र अस्पतालहरुमा पनि नर्सहरुले यस्तो साधन प्रयोग गरेर सुगर नापिरहेको देखिन्छ । के सुगर नाप्न ल्याबमै जानु आवश्यक हुन्छ कि बेफुर्सद हुँदा यस्तै साधनले पनि काम चलाउन सकिन्छ ? म सुकरको बिरामी भएकाले सुझावको अपेक्षा गर्दछु ।

जयराज पाठक, बनेपा, काभ्रे

जयराजजी, बिरामीको सुविधा र सहजताको लागि रगतमा चिनीको मात्रा नाप्ने यन्त्र विश्वासिलो नै हुन्छ । आजको युग पनि डिजिटल र क्विक टेस्टकै हो । जहाँसम्म रगतमा सुगरको मात्रा नाप्दा यदि प्याथोलोजी प्रयोगशालामा गराउने हो भने शिराको रगत तानिन्छ र परीक्षण गरिन्छ, जुन स्वीकारिएको स्ट्यान्डर्ड पनि हो । तर यो क्विक टेस्टको हकमा पिनले औंलाको टुप्पोमा खोपेर रगतको थोपा निकाल्दा यो रगत क्यापिलरीको हुन्छ, यो शिराको भन्दा १५–२० प्रतिशतले चिनीको मात्रामा बढी हुन सक्छ । यो कुराको ख्याल गरेर एकपटक क्विक टेस्ट तथा प्याथोलोजी ल्याबको टेस्ट सँगै गरेर कति फरक आउँछ भनी चेक गर्न सकिन्छ ।

परिवार नियोजन गरिसकेका पुरुष र महिलाहरुले सधैँ ढुक्क भएर सम्भोग गर्न सकिँदैन भन्छन् । कहिलेकाहीँ परिवार नियोजन गरिसकेका जोडीहरुमा पनि मिस फायर भएर गर्भ रहने सम्भावना हुन्छ रे, के यो कुरा सही हो ?

रीमा, भक्तपुर

रीमाजी, यदि सफल परिवार नियोजनअन्तर्गत बन्ध्याकरण सफलरुपमा गरिएको छ भने बच्चा जन्मने सम्भावना करिब–करिब हुँदैन नै । जसमा महिला वा पुरुष दुवैमा हुने दुवै शुक्रवाहिनी वा डिम्बवाहिनी नलीहरु राम्रोसँग काटेर फेरि आफैं जोडिने सम्भावना नहुने गरी अलग पारेर बाँधिएको छ भने यो सफल मानिन्छ । मतलब गर्भ रहने सम्भावना कम हुन्छ र यस्तो किसिमको बन्ध्याकरणलाई स्थायी बन्ध्याकरण भनिन्छ । त्यस्तै गर्भ नहुने ग्यारेन्टीको लागि अतिरिक्त डिम्बवाहिनी वा शुक्रवाहिनी नली पनि हुनुभएन, साथमा बाह्य यौनसम्पर्क नगरेको हुनुपर्यो ।

थाइराइड रोग पूर्णरुपमा निको भइसकेपछि पनि यसको औषधि सेवन गरिरहुनुपर्छ र ? मैले दुई–तीनपटक थाइराइड ठीक भो कि भएन भनी त्घ, त्द्ध र गतिचबकभलकष्तष्खभ त्क्ज् को रगत परीक्षण गर्दा क्रमशः ट।द्ध, ज्ञ।ज्ञठ, घ।द्दज्ञ नर्मल नै देखिए पनि मेरो चिकित्सकले औषधि छोड्ने अनुमति दिइरहेका छैनन् । के गर्ने होला ? यसबारेमा बुझाइदिनुहोला ।

सरिना लामा, सूर्यविनायक, भक्तपुर

सरिनाजी, थाइराइडको समस्या भएर औषधि सेवन गरेको बिरामीको औषधिको मात्रा घटबढ गर्न वा रोक्न त्यो ल्याब रिपोर्ट हेरेर मात्र निर्णय गरिन्छ । राम्रो रिपोर्ट हँुदाहुँदै वा नियन्त्रणमा हँुदाहुँदै तपाईंलाई औषधि छोड्ने अनुमति नदिने भन्ने हुँदैन । तपाईंलाई परामर्श गर्न नसकेको भने पक्कै हो । किनभने औषधि सेवन गरिरहेको अवस्थामा परीक्षण गर्दा आएको नतिजाले निको भएको नभएर नियन्त्रणमा आएको बुझ्नुपर्छ । त्यसैले त्यत्ति नै औषधि निरन्तर दिनुपरेको भन्ने बुझ्नुपर्छ, जुन कुरा या त बुझ्न सकिएन वा बुझाइएन । दिइएको औषधिले कुनै पनि टेस्टको रिपोर्ट तल–माथि आएमा सोही अनुरुप औषधि तल–माथि हुने हो । एउटा कुरा बुझ्नुस्, चिकित्सकले तपाईंलाई औषधिमा राखेर अनि लोड दिएर उसलाई कुनै फाइदा छैन, फाइदा त तपाईंले सफल उपचार पाउँदा हुने हो ।

मेरी श्रीमतीको रजश्वला हुन छोडेदेखि सम्भोगमा पटक्कै रुचि देखिँदैन । उमेरले मभन्दा मेरी श्रीमती करिब ३ वर्षले जेठी पनि छिन् । जति अनुरोध गर्दा पनि टसको मस हुन्नन् । कति हस्तमैथुन गरेर बिताउनु ? आफ्नो पेसा, उमेर र प्रतिष्ठाले गर्दा अन्यलाई गमन गर्न पनि कठिन छ । यस्तो समस्या भोगिरहेका पुरुषलाई तपाईं कस्तो सल्लाह दिनुहुन्छ ?

नाम, ठेगाना गोप्य

नाम गोप्य राख्ने महानुभाव, यस्तो कुरामा सोच्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्दछ । श्रीमान्–श्रीमतीबीच समान सोचविचार, आपसी समझदारी हुनुपर्दछ । त्यसैले त उनीहरुलाई रथको दुई पाङ्ग्रा भन्ने गरिएको हो । यहाँ देखिने समस्या भनेको दुवैमा जिम्मेवारी वा सोचको कमी होला । किनभने उमेर धेरै नमिल्ने पनि होइन । आपसमा सुमधुर समझदारी भएमा यस्तो समस्या आउँदैन । तपाईंको उहाँप्रति व्यवहार ठीक तरिकाको भएन कि अथवा तपाईंले उहाँको आवश्यकता नबुझेको पनि हुन सक्छ । खुशी रहने मुख्य आधार भनेको यसो घुम्न जानुस्, नयाँ–नयाँ तरिका र मायाको अभिव्यक्ति उपयोग गर्नुस्, नौलोरुपमा प्रस्तुत हुनुस्, माया गर्नुस् नकि यौनको बेलामा सम्झने अरु बेला समय नदिने, बोली व्यवहार नराम्रो गर्ने, यस्तो हुँदा असमझदारी हुन सक्छ । आशा छ, तपाईंले यी कुराहरु मनन गर्नुभएको होला, नयाँ उचाइ र सिराबाट सोच्नुभएमा तपाईंको जीवनमा खुशी थपिन सक्छ ।

मेरो उमेर अहिले ५८ वर्ष भयो । यो उमेरमै मैले मधुमेह, उच्च रक्तचाप, बाथ र थाइराइड रोग बोकिसकेको छु । दिनको १७ थरी औषधि सेवन गर्नुपर्छ । कहिलेकाहीँ त झर्को र दिक्क लाग्छ । प्रायः बाहिर र विदेशमा समेत गइरहनुपर्ने मेरो पेसा भएकाले हैरानै भइसकें । रोग लागिसकेपछि औषधि खानमा सम्झौता गर्ने कुरा पनि भएन । तर, मैले सुनेअनुसार लगातार धेरै औषधि सेवन गरिरहे पछि यसैले साइड इफेक्ट गरी नयाँ–नयाँ रोग थप्ने सम्भावना हुन्छ भनिन्छ । यसमा कत्तिको सत्यता छ डाक्टरसाहेब ?

वैकुण्ठ प्रजापति, हरिसिद्धि, ललितपुर

वैकुण्ठजी, तपाईंले भनेको सही हो तर सकारात्मक पक्ष हेरेर सोच्नुपर्छ । यही औषधिले गर्दा जीवन पाइएको छ, मारिने रोगमाथि विजय पाइएको छ । अर्को कुरा, साइड इफेक्टको कुरा गर्नुभयो जुन अति नै दुर्लभ र कहिलेकाहीँ मात्रै देखिन सक्छ । त्यसैले औषधिको साइड इफेक्टले नयाँ–नयाँ रोग थप्ने कुरामा कुनै सत्यता नभएको अवगत गराउन चाहन्छु ।

प्रतिक्रिया दिनुहोस्