विवाह नै हिस्टेरियाको उपचार होइन



डा. ओम बानियाँ
मनोविद्

आजभन्दा २ हजार वर्षअगाडि हिप्पोक्रेटस भन्ने ग्रीक चिकित्सकले यो समस्या महिलाहरूमा मात्र देखे र महिलाको प्रजनन अंग पाठेघरसँग सम्बन्धित ठानेकाले त्यति बेला हिस्टेरिया भन्ने नामकरण गरे । वर्षौंसम्म यो समस्यालाई यसै प्रकारले हेरियो । तर पछि यो समस्याको यौनसँग सोझो सम्बन्ध नभएको र तनावसँग सम्बन्धित भएको अनुसन्धानले देखाएको छ । तनाव नभई हिस्टेरिया हुँदैन, तनावको प्रकारचाहिँ जस्तो पनि हुन सक्छ । जस्तै– पढाइलेखाइको तनाव, पारिवारिक तनाव, नाता–सम्बन्धको तनाव, आर्थिक तथा समाजिक तनाव, प्रतिस्पर्धाको तनाव, कामना पूर्ति नहुँदाको तनाव, इज्जत–प्रतिष्ठाको तनाव आदि । यौनसम्बन्धी समस्याहरुले पनि तनाव उत्पन्न गर्न सक्छ ।

अतः यस्ता अव्यक्त मानसिक तनाव शारीरिक लक्षणको रूपमा परिवर्तन हुने हुनाले आजकाल यो समस्या कन्भर्जन डिसर्डर भनेर चिनिन्छ । अव्यक्त मानसिक तनाव शारीरिक लक्षणको रूपमा प्रकट हुने समस्या नै वास्तवमा हिस्टेरिया हो । हिस्टेरिया अवचेतन मनको खेल हो, जसलाई बिरामीले मानसिक आघातको विरुद्धमा प्रयोग गर्छ । कुनै इन्फेक्सनमा ज्वरो आउनुजस्तै यो पनि एक किसिमको मनोवैज्ञानिक प्रतिरक्षा हो ।

महिलालाई नै किन बढी ?
महिलाले पुरुषको जसरी आफ्ना कुरा व्यक्त गर्न नसक्ने हुनाले उनीहरूको मनमा पीडा गुम्सिएको हुन्छ । यही कारणले गर्दा महिलामा यो समस्या बढी हुन्छ । यो समस्या किशोरीमा किशोरमा भन्दा बढी देखिनुमा उनीहरूमा आउने शारीरिक परिवर्तनसँगै परिवार र समाजबाट बढी नियन्त्रण हुनु हो । महिलाले सहनुपर्छ, लजाउनुपर्छ, सेवा गर्नुपर्छ जस्ता सामाजिक मान्यताका कारण पनि महिला बढी अन्तरमुखी बन्न बाध्य हुन्छन् । पढ्ने, जीवन साथी रोज्ने र आफ्ना समस्यालाई नडराई, नलजाई भन्न सक्ने वातावरण भएका देशहरूमा हिस्टेरियाको समस्या कम भएको देखिन्छ ।

हिस्टेरिया र अन्य मनोरोग
हिस्टेरियाको अन्य मानसिक रोगसँग गहिरो सम्बन्ध छ । केही व्यक्तिहरूमा पहिले नै मानसिक रोगहरू भएको अवस्थामा हिस्टेरिया उत्पन्न हुन सक्छ । केही मानसिक रोगहरूले व्यक्तिको तनाव बहन गर्न सक्ने क्षमतामा ह्रास उत्पन्न गराएर हिस्टेरिया हुन सक्ने सम्भावना बढाइदिन्छन् । हिस्टेरियाको समयमै उपचार भएन भने अन्य मानसिक रोग उत्पन्न हन सक्छ । यस्तो व्यक्ति आफूले तनावको पहिचान गर्न त्यति सजिलो नहुने हुनाले हिस्टेरिया अन्य कुनै व्यक्तिको सहायताविना ठीक हुन मुस्किल नै हुन्छ । यदि हिस्टेरियाको समयोचित समाधान नभएमा व्यक्तिमा हीनताबोध हुनेदेखि डिप्रेसन, आत्तिने जस्ता विभिन्न प्रकारका मानसिक रोग उत्पन्न हुन सक्छन् ।

हिस्टेरियाको अर्को रुप
शारदा माविका कक्षा १० मा पढ्ने ९ जना विद्यार्थी एक्कासी हल्लिने, चिच्याउने, काम्ने, उफ्रने, चिर्थोने, मनपरि बोल्ने तथा बेहोस हुन थालेपछि विद्यालय नै बन्द गर्नुपर्ने स्थिति भयो । उक्त विद्यालयकी शिक्षिकाका अनुसार सो कक्षाकी एक छात्रालाई दोस्रो घण्टीको गणितको कक्षामा अचानक यस्तो लक्षण देखिएपछि क्रमशः अन्य ९ जना छात्राहरूमा सो लक्षण देखिएको थियो । दिदीलाई के भयो भनेर आत्तिदै हेर्न आएकी उनकी बहिनीमा पनि एकाएक यो लक्षण देखिएपछि विद्यालयमा एक प्रकारको तमासा नै भएको थियो ।

यो पूर्णतया अवचेतन मनको खेल हो । यो व्यक्त गर्न नसकेका इच्छा वा समस्याद्वारा पैदा भएको तनावको प्रतिरक्षास्वरुप देखिएको मनको रोग हो । वास्तवमा यो रोग ‘म पीडित छु, मलाई सहायता गर’ भन्ने चित्कार हो ।

यही कारणले गर्दा उक्त विद्यालय २ दिनका लागि बन्द भयो । दुई दिन समान्य देखिएकी ती छात्रा तेस्रो दिन विद्यालय जाने बेलामा पुनः त्यसरी नै हल्लिने, चिच्याउने, काम्ने, उफ्रने, चिर्थोने, मनपरि बोल्ने गर्न थालिन् । दिदीसँगै बहिनीमा पनि यस्तै लक्षणहरु देखियो । छोरीहरुमा यस्ता लक्षण देखिएपछि उनीहरुका बा–आमा झारफुकतिर लागे । तर पनि उनीहरुमा यस्ता लक्षण देखिइरहेको छ । गाउँका कतिपयले यो रोग विवाहपछि ठीक हुन्छ भन्ने सुझाव दिएपछि ती छात्राको विवाहका लागि केटा खोजिँदै छ । छात्रा भने विवाह गर्न तयार छैनन् ।

सर्वसाधारणका लागि रहस्यमय लाग्ने यस्ता घटना केही वर्षयता नेपालमा मात्र होइन, भारत, पाकिस्तान, बंगलादेश तथा अफ्रिकाका द्वन्द्वप्रभावित देशहरूमा पनि घटिरहेका छन् । यस्ता घटनालाई कतै यौनसँग सम्बन्धित ठानिएको छ, कतै धर्मसँग जोडेर देवी–देवताको हुइयाँ फैलाउने काम भैरहेको छ । तर यथार्थ अर्कै छ । अत्यधिक तनाव, डर–त्रास, पीडा, बैचनी, उपेक्षा एवं कमजोर मनले पैदा भएको एक मनोजनित रोग हो यो । यो एपिडेमिक हिस्टेरिया हो । यो रोग एकै पटकमा धेरै जनालाई एकैसाथ हुने हँुदा यसलाई मास हिस्टेरिया भनिएको हो ।

मास हिस्टेरिया के हो ?
हिस्टेरियाको लक्षण कुनै समुदाय, परिवार, गाउँ, स्कुल, कलेज तथा अन्य ठाउँहरुमा एकै पटक धेरै जनामा देखिन्छ भने त्यो मास हिस्टेरिया हो । केलाउँदै जाने हो भने, सो समूहमा एक यस्तो व्यक्ति भेटिन्छ, जो कुनै तनावले ग्रस्त भएको हुन्छ र हिस्टेरिया हुने प्रथम व्यक्ति हुन्छ । उसलाई हिस्टेरिया भएपछि अन्यमा पनि हिस्टेरिया हुन थालेको भेटिन्छ । यसरी पछि हिस्टेरिया हुनेहरू या त प्रथम व्यक्तिसँग भावनात्मक सम्बन्ध भएकाहरू हुन्छन् या उनीहरू त्रासको कारणले सो अवस्थामा पुगेका हुन्छन् । विद्यालय तथा छात्रावासजस्ता समूहगतरूपमा किशोर–किशोरीहरू रहने स्थानहरूमा बेलाबेलामा मास हिस्टेरिया भेटिन्छ ।

मानिस वा मानिसको समूहलाई कुनै कुराप्रति अत्यधिक डर वा अति तनाव वा रिस भयो र त्यसलाई थेग्ने मानसिक क्षमता भएन भने एकाएक यो मास हिस्टेरियाका लक्षण देखिन थाल्छ । मास हिस्टेरिया पैदा हुने प्रमख कारण अत्यधिक डर, क्रोध, तनाव, उपेक्षा तथा अति यौनउत्तेजना पनि हो । मनोवैज्ञानिक भाषामा भन्ने हो भने यो अवचेतन मनको नाटक हो, तर यो नाटक मानिसको नियन्त्रणमा हँुदैन । यो रोगबाट प्रायः १२ देखि ३५ वर्षका महिलाहरू नै बढी प्रभावित हुने गरेको पाइन्छ ।

सामाजिक दायित्व र उपचार
मास हिस्टेरियाको कारण पत्ता लगाउने र उपचार गर्ने कुरामा ढिलाइ हुने मुख्य कारण नै अन्धविश्वास, कुरीति र चेतनाको कमी हो । देवी–देउता उत्रेको, नाग लागेको तथा विभिन्न किसिमका भूतप्रेतमाथिको अन्धविश्वासले गर्दा यस रोगको राम्रोसँग उपचार गराउन पनि समस्या देखिएको छ ।

कुनै व्यक्तिलाई हिस्टेरियाको लक्षण देखा पर्यो र अरुलाई पनि त्यस्तै किसिमका लक्षणहरु देखा परेमा सर्वप्रथम त्यस संस्था अथवा ठाउँको प्रमुख व्यक्तिले धैर्यतापूर्वक भूमिका निभाउनुपर्छ । जस्तो कि विद्यालयमा यस किसिमको समस्या देखिनेबित्तिकै प्रिन्सिपलले संयमित भई पटक–पटक यसबारेमा तथ्य सूचना प्रवाह गरिरहनुपर्छ । नत्र समस्या जटिल भई समाधानमा व्यवधान आउन सक्छ । रोग वा अन्य के कारणले बेहोस भएको हो भनी पत्ता लगाउन स्वास्थ्यकर्मीको सहायता लिनुपर्छ । हिस्टेरियाको कारणले कोही बेहोस भएमा वा काम्दै, चिच्चाउँदै गरेको खण्डमा आत्तिनुहुँदैन । त्यस्तो अवस्थामा जबर्जस्ती बिरामीको मुख खोल्ने, मुखमा केही राखिदिने, हातखुट्टा चलाइदिने गर्नुहुँदैन । बिरामीलाई सुरक्षित ठाउँमा राखेर आराम गर्न दिनुपर्छ । केही बेरपछि उसलाई बिस्तारै होस आउँछ ।

यस रोगको स्थायी समाधानका लागि विशेषज्ञको सल्लाहसहित कुनै त्रास, भय, हल्ला अथवा कुनै त्यस्तै कुराले समस्या गरिरहेको छ भने सर्वप्रथम त्यस्ता कुरालाई निषेध गर्नपट्टि ध्यान दिनुपर्छ । यो समस्या दोहोरिन नदिन व्यापक चेतना जगाउनुपर्ने हुन्छ । अहिले पनि किशोरीहरुमा हिस्टेरियाको लक्षणहरु देखिएको खण्डमा विवाहले ठीक गर्छ भन्ने गलत धारणा कायमै छ । विवाहले कसै–कसैलाई पहिलेको तनावयुक्त वातावरणबाट मुक्त पारिदिने हुनाले वातावरणको परिवर्तनले हिस्टेरिया ठीक पारेको हुन सक्छ । तर कतिपयलाई विवाहपश्चात् चाहिँ हिस्टेरिया उत्पन्न हुन्छ । अझ कतिपयमा त विवाहपश्चात् हिस्टेरिया झनै उग्र भएर आउँछ । त्यसैले बुझ्नुपर्ने कुरा के भने, विवाहले होइन तनावको निदानले नै हिस्टेरिया ठीक हुन्छ ।

हिस्टेरिया होस् वा मास हिस्टेरिया, यो पूर्णतया अवचेतन मनको खेल हो । यो व्यक्त गर्न नसकेका इच्छा वा समस्याद्वारा पैदा भएको तनावको प्रतिरक्षास्वरुप देखिएको मनको रोग हो । वास्तवमा यो रोग ‘म पीडित छु, मलाई सहायता गर’ भन्ने चित्कार हो । यस कुरालाई परिवार, समूह तथा वरपरका मानिसले संवेदनशील भएर बुझ्न खोज्नु आवश्यक छ ।

विवाहले कसै–कसैलाई पहिलेको तनावयुक्त वातावरणबाट मुक्त पारिदिने हुनाले वातावरणको परिवर्तनले हिस्टेरिया ठीक पारेको हुन सक्छ । तर कतिपयलाई विवाहपश्चात् चाहिँ हिस्टेरिया उत्पन्न हुन्छ ।

तनावको पहिचान र त्यसपछि उपयुक्त निदान नै हिस्टेरियाको सही समाधान हो । अहिलेसम्म कुनै ट्याबलेट या इन्जेक्सन बनेको छैन, जसले हिस्टेरियालाई ठीक पारोस् । तर औषधिहरूको प्रयोगले हिस्टेरियाका केही लक्षणलाई क्षणिकरूपमा शान्त पार्दछन् । तनावको निदान नभए हिस्टेरियाका लक्षणहरू फेरि बल्झिने हुन्छ ।

निदानको लागि तनावको पहिचान आवश्यक छ । तर तनावको पहिचान गर्न त्यति सजिलो नहुन सक्छ । विशेषज्ञता हासिल गरेका व्यक्तिद्वारा पहिचान तथा निदान सम्भव छ । यसको उपचार मनोवैज्ञानिक पद्धतिद्वारा गर्नुपर्दछ ।

हिस्टेरियाको सर्वोत्तम उपचार माइण्ड–बडी मेडिसिन हो, साइकोथेरापी हो । त्यसैले मास साइकोथेरापी, फ्यामिली साइकोथेरापी, कोग्निटिव बिहेवियर थेरापी (सी.बी.टी.), ईएफटी तथा योग, ध्यान, प्राणायाम जस्ता यौगिक क्रियाहरूद्वारा नै मास हिस्टेरियाको उपचार गर्नुपर्दछ । त्यसो त बिरामीको मनको कुरा, उसको अवचेतनमा चलिरहेको द्वन्द्व थाहा गर्न नारकोथेरापी तथा हिप्नोटिज्मजस्ता विधिहरू पनि सहयोगी हुन्छन् । उपचारले मात्र मास हिस्टेरियाको स्थायी समाधान निस्किँदैन, उपचारको साथसाथै परिवेश नै ठीक राख्नुपर्दछ । जस्तो कि विद्यालयका छात्राहरूमा मास हिस्टेरियाको प्रमुख कारण पढाइको बोझ भएकाले विद्यार्थीको काँधमा भारी किताब बोकाउन छोडेर पढाइलाई जेल होइन कि खेल बनाउने हो भने मास हिस्टेरिया त्यसै ठीक हुन्छ ।

हिस्टेरियाको लक्षण र कारण

हिस्टेरियामा विभिन्न लक्षणहरु देखा पर्न सक्छन् । जस्तै– बेहोस हुने । अदृश्य शक्तिले छोप्ने । हातखुट्टा झम्झमाउने⁄लाटो हुने । घाँटीमा डल्लो अड्केको महसुस हुने । वाक्वाकी लाग्ने, वान्ता हुने, पेट दुख्ने । छिटोछिटो सास चल्ने । हातखुट्टा नचल्ने । आवाज बन्द हुने । आँखा नदेख्ने । रुने, चिच्याउने, काम्ने । उत्तेजित हुने । कुटपिट गर्ने, कपडा च्यात्ने । सम्झना शक्ति हराउने आदि । कतिपय बिरामीले आफूलाई देवी–देउताको रुप र अवतारसम्म पनि भन्ने गरेको देखिएको छ । हिस्टेरियाका लक्षणहरुलाई स्थानीय संस्कृति, समाज, धर्म र रीतिरिवाजले निकै प्रभाव पारेको हुन सक्छ । त्यसैले यसका लक्षणहरु पनि विभिन्न जातजाति, समुदाय र धर्मावलम्बीहरुबीच फरक हुन सक्छन् ।

जब कुनै व्यक्तिलाई हिस्टेरियाको लक्षण देखिन्छ भने उक्त व्यक्ति कुनै न कुनै मानसिक तनावबाट गुज्रिरहेको छ भन्ने बुझ्नुपर्छ । सर्वसाधारणले हिस्टेरिया र यौन असन्तुष्टिलाई चाहिनेभन्दा बढी महत्व दिएको देखिन्छ । तर यो बुझाइ गलत हो । त्यो किनभने हिस्टेरिया अनेक कारणहरुको उपज हो । कुनै घटना तथा समस्या जसलाई व्यक्तिले विविध कारणले गर्दा साथी तथा परिवारजनसामु व्यक्त गर्न नसक्दा यो रोग लाग्ने सम्भावना हुन्छ ।
साधारणतया यस्तो रोग लागेको व्यक्तिले आफूमाथि आइपरेका समस्याहरु सकेसम्म कसैलाई नभन्ने र लुकाउने गर्छन् । मनोचिकित्सकहरुले पनि एकै पटकमा सबै यथार्थ थाहा नपाउन सक्छन् । यसबाट के देखिन्छ भने हिस्टेरिया कुनै एउटा कारणले मात्र नभई विभिन्न मनोवैज्ञानिक कारणले हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्