अजमरी हुने उपायको खोजी



मानिसका लागि जीवन यस्तो प्यारो हुन्छ, कोही आत्महत्या गर्नका लागि हातमा डोरी लिएर हिँडेको रहेछ भने पनि ऊ सडक पार गर्दा गाडीदेखि तर्की–तर्की हिँड्छ । बिरामी भएको मानिस बाँचिन्छ भने घरखेत बेचेर भए पनि उपचारका लागि जुट्छ । वैज्ञानिकहरु पनि विभिन्न रोगको उपचारका लागि औषधि तथा एन्टिबायोटिक पत्ता लगाउन प्रयासरत छन् । प्रत्येक व्यक्तिलाई अफ्नो जीवन अमूल्य र मृत्यु भयावह हुन्छ । मृत्युको भयावहता यस्तो हुन्छ कि यसको महसुस यो स्तम्भकारले पनि त्यति बेला गरेको थियो, जब ईसीजी प्रतिवेदनमा मुटुका भल्वहरुमा प्वाल परेको र इको गर्दा लेफ्ट भेन्ट्रिकल डिस्फङ्सन लेखिएको थियो । पछि औषधिले गर्दा सबै प्रतिवेदन नर्मल पनि भएका थिए । तसर्थ लाग्छ, चिकित्सा विज्ञानले मृत्युबाट जीवनलाई फर्काउने गर्दछ ।

हाल वैज्ञानिकले एड्सजस्तो रोगको सीधै औषधि पत्ता लगाई नसकेको भए पनि त्यसको भाइरसलाई विभिन्न तरिकाले नियन्त्रण गरिसकेका छन् । तर क्यान्सरको पूर्ण उपचारचाहिँ अहिलेसम्म असम्भव छ । यहाँ क्यान्सर भन्नाले यसको तेस्रो र चौथो चरणमा पुगिसकेको अवस्थालाई भन्न खोजिएको हो । कुनै अंगको क्यान्सर त्यो अंग पूरै काटेर फालेको अवस्थामा पनि बचाउन सकिन्छ । तर सामान्य अवस्थामा क्यान्सरको प्रत्यक्ष औषधि हालसम्म पत्ता लागिसकेको छैन ।

विज्ञान र प्रकृतिको सबैभन्दा ठूलो लडाइँ जीवन र मृत्युको भयावह लडाइँसँग रहेको छ । प्रकृतिले एक न एक दिन सबैलाई मार्छ र विज्ञानले लामो समयदेखि अजम्बरी हुने उपाय खोजिरहेको छ तर सम्भव भएको छैन ।

रोगको औषधि पत्ता लगाउने काम जैविक विज्ञानअन्तर्गत माइक्रोबायोलोजी अध्ययनबाट गरिन्छ । तर रोगको निदानचाहिँ भौतिक, रासायनिक र जैविक विज्ञानअन्तर्गत विभिन्न मेसिन, औजार एवं प्रविधिको सामूहिक प्रयासबाट गरिन्छ ।

प्रकृति र विज्ञानको लडाइँ लामो समयबाट भैरहेको छ । प्रकृतिलाई कुनै ठाउँमा विज्ञानले चुनौती पनि दिइरहेको छ । कुनै प्रकृतिले गर्ने काम विज्ञानले गर्न सक्दैन र कहिलेकाहीँ विज्ञानले गर्ने काम प्रकृतिले पनि गर्न सक्दैन । प्रकृतिको सबै काम विज्ञानले गर्न सक्दैन, त्यो सर्वविदित नै छ । विज्ञान र प्रकृतिको सबैभन्दा ठूलो लडाइँ जीवन र मृत्युको भयावह लडाइँसँग रहेको छ । प्रकृतिले एक न एक दिन सबैलाई मार्छ र विज्ञानले लामो समयदेखि अजम्बरी हुने उपाय खोजिरहेको छ तर सम्भव भएको छैन । शायद हुँदैन पनि । किनकि कोशिकाहरु मर्दै गएर बुढेसकालमा सबै शिथिल हुन्छन् । सबै अंगहरु कमजोर भएपछि मानिस मर्दछ । त्यसमा खासै चिन्ता मान्नुपर्ने कुरा भएन । तर कहिलेकाहीँ विभिन्न खतरनाक रोगको प्रतिरोध गर्न नसकेको कारणले मानिस अल्पायुमै तथा बच्चा उमेरमा नै मर्न बाध्य हुन्छ । यद्यपि अहिले चिकित्सा विज्ञानले अति संवेदनशील रोगलाई पनि निको पार्ने औषधि पत्ता लगाइसकेको छ । र, केही लाइलाज रोगहरु पनि छन् । क्रायोप्रिजर्भेसन यसैसँग सम्बन्धित एक प्रविधि हो, जसले अन्य शरीरको अंग ठीक भएको तर निको नहुने रोगका कारण मर्न बाध्य मानिसका कोशिकाहरुलाई बचाउने प्रयास गर्दछ ।

कोशिका जीवित राख्ने विधि

मानिस कम उमेरमा मरेको अवस्थामा मृत्युको २ देखि १५ मिनेटभित्र लासलाई माइनस १३० डिग्री सेन्टिग्रेटको तापमा राखिन्छ र शरीरमा रगत जम्न नदिनका लागि केमिकल्सहरुको प्रयोग गरिन्छ । त्यसै गरी मांसपेशी सुक्न नदिनका लागि पनि केमिकल्सकै प्रयोग गरिन्छ । त्यसपछि मृतशरीरलाई लिक्विड नाइट्रोजनको ट्याङ्करमा राखिन्छ । त्यसको तापक्रम माइनस १९६ डिग्री सेन्टिग्रेड हुन्छ । यस अवस्थामा मानिस मरेको हुन्छ तर अन्य कोशिका र रगतको अवस्था स्थिर हुन्छ ।

पछि कुनै समयमा हाल उपचार हुन असम्भव मानिएको रोगको उपचार पत्ता लागेमा यसरी राखिएको शरीरमा सो उपचार गरिन्छ र मानिसले फेरि पुनर्जीवन पाउन सक्छ भन्ने मान्यतामा यो प्रविधि विकसित भएको छ । यस प्रविधिलाई क्रायोप्रिजर्भेसन विधि भनिन्छ । चीनमा कुनै समय हिउँमा पुरिएको मानिसलाई १८ वर्षपछि झिक्दा उसका शरीरका कोशिकाहरु जिउँदै थिए भन्ने खबर पढिएको थियो । शायद यो क्रायोमिक्स पद्धति पनि यसै उदाहरणबाट विकसित भएको हुन सक्छ ।

हजारौं वर्षपछि भए पनि जीवित हुने आशा

बेलायतमा एक १४ वर्षकी किशोरीलाई क्यान्सर भयो । यो रोग अहिलेको औषधि र हालको प्रविधिबाट निको नहुने भएपछि उनी अदालत गइन् । मृत्युपछि आफ्नो शरीरलाई क्रायोमिक्स प्रविधिअनुसार डिप फ्रिजमा राख्ने अनुमति पाऊँ भनी उनले अदालतमा अनुरोध गरिन् । उनले आफ्नो मागपत्रमा लेखेकी छिन्– ‘म निको नहुने क्यान्सर रोगले मर्दै छु । मृत्युपछि मेरो लासलाई अरुलाई जस्तो कब्रमा नगाडियोस् । मलाई क्रायोप्रिजर्भेसन प्रविधिअनुसार फ्रिजमा राखियोस् । किनकि क्यान्सरको अहिले औषधि छैन तर हजारौं वर्षपछि यसको औषधि बन्न सक्छ र म फेरि बाँच्न सक्छु ।’

उनको यो मागलाई हालै न्यायाधीशले स्वीकार गरेको खबर अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । हजारौं वर्षपछि भए पनि उनको जीवित हुने आशा पूरा होला वा नहोला, भविष्यले नै बताउला ।

के मृतशरीरलाई बचाउन सकिएला त ?

क्रायोप्रिजर्भेसन ९ऋचथयउचभकभचखबतष्यल० एउटा यस्तो प्रविधि हो यसमा मानिसका कोशिकाहरुलाई उसको मृत्युपछि पनि जीवित राख्न सकिन्छ । निकै थोरै तापक्रममा मृतकलाई राख्न सक्ने हो भने मानिस मरे पनि यसका कोशिका जीवित रहन सक्छन् । जब कोशिका जीवित रहन्छन् र रगत तथा शरीरको मांसपेशीलाई केमिकल्सको सहयोगले क्लटिङबाट बचाइयो भने पछि कुनै समयमा मरेको मानिसलाई जीवित गराउन सकिन्छ भन्ने वैज्ञानिकहरुले आशा राखेका छन् । यही कोशिका चिस्याउने उच्चस्तरीय विधिलाई क्रायोप्रिजर्भेसन भनिन्छ ।

अहिलेसम्म प्रयोगशालामा यो प्रविधिले मानिस बचाएको छैन, तर सिद्धान्ततः यो सम्भव छ भन्ने मान्यतामा वैज्ञानिक पुगेका छन् । यो ज्यादै महँगो प्रविधि भएकाले आममानिसले यसको प्रयोग गर्न नसक्ने हुँदा विश्व स्वास्थ्य संगठनले पनि कुनै प्रकारको परीक्षण गरी आधिकारिकता प्रदान गरेको छैन । हुन त यसमा कानुनी बाधा–अड्चन र भविष्यमा आइपर्ने अप्ठ्यारा पनि होलान्, ती आफ्ना ठाउँमा छन् । तर यो प्रविधिसम्बन्धी जिज्ञासा आममानिसमा हुन्छ ।

प्रस्तुतिः रामप्रसाद गौतम

प्रतिक्रिया दिनुहोस्