स्वास्थ्य र सुन्दरताका लागि बेसार



बेसार हाम्रो भान्सामा प्रयोग हुने मसला हो । यो एक किसिमको प्राकृतिकरुपको एन्टिबायोटिक भएकाले यो स्वास्थ्यका लागि महत्वपूर्ण मानिन्छ । यसले स्वास्थ्यलाई निकै फाइदा पुर्याएको हुन्छ । तरकारीमा हाल्ने मात्र नभएर बेसारलाई अन्य किसिमले पनि उपयोगमा ल्याउन सकिन्छ ।

चक्कु वा कुनै हतियारले काटियो भने त्यस ठाउँमा बेसार लगाउँदा मलहमको काम गर्छ । यसले एन्टिबायोटिकको काम गरी सो काटिएको घाउ निको हुन मद्दत गर्छ । भान्सामा काम गर्नेहरुले तरकारी काट्दा हातमा कहिलेकाहीँ सानातिना चोट लाग्ने सम्भावना बढी नै हुन्छ ।

यस्ता छालामा लाग्ने सानातिना चोटतर्फ खासै ध्यान पुगेको हुँदैन । तर तरकारीमा बेसार प्रयोग गर्दा भान्सेको हातमा पनि बेसार लाग्ने हुन्छ । अप्रत्यक्षरुपमा हातमा लागेको यही बेसारले सानातिना चोटमा एन्टिबायोटिकको काम गरिरहेको हुन्छ । त्यसैले छालामा लागेका सानातिना चोट आफैं ठीक भएको हामी पाउँछौं ।

ग्रामीण भेगमा बोकाको परिवारनियोजन गर्दा अर्थात् खसी पार्दा ब्लेड वा अन्य धारिलो चक्कुले अण्डकोष काटेर निकाल्ने अनि सो घाउमा बेसार र तोरीको तेल मोलेर लगाइदिने गरिन्थ्यो । केही दिनमै घाउ सन्चो भइसक्थ्यो । शायद अहिले पनि कहीँ यो परम्परा चलिआएकै हुन सक्छ । बेसारले एन्टिबायोटिकको काम गरेकोले नै बोकाको घाउ थाकेको हो ।

बेसारले छालाको सुन्दरता बढाउने हुँदा धेरैले फेसप्याकमा राखेर पनि यसको प्रयोग गर्ने गरेका छन् । विवाह वा व्रतबन्ध हुने अघिल्लो दिन पूरै शरीरमा बुक्मा लगाउने चलन पुरानै हो । यसमा बेसारको समेत प्रयोग भएको हुन्छ । यसले छालाको रंगमा निखार ल्याउँछ । तर अधिक मात्राको प्रयोगले भने त्यति राम्रो गर्दैन ।

एउटा रिसर्चले बताएअनुसार बेसारको अधिक प्रयोगले छालालाई रुखो बनाउनुका साथै एलर्जी पनि हुन सक्छ । त्यसैले बेसारको प्रयोग गर्दा यसको मात्रामा ध्यान पुर्याउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्