‘स्वदेशी पिक्निक’



 

निकै तामझामका साथ शनिबारदेखि काठमाडौंमा गैरआवासीय नेपाली संघको ८औं अधिवेशन शुरू भएको छ। नयाँ नेतृत्व छनोटका लागि विश्वका ७७ मुलुकबाट करिब ३ हजार प्रतिनिधि नेपाल आएका छन्। यो जमघट देख्दा धरहरालाई लाग्छ, आर्थिक समृद्धिमा फड्को मार्न नसकेको मुलुकले अब ठूलै छलाङ मार्नेछ।

केही वर्षयता यस्तो जमघटलाई दशैंतिहार मनाउन, साथी–भाइ तथा आफन्तसँग भेटघाट गर्ने वहाना र बहानाले जुराएको ‘स्वदेशी पिक्निक’ का रूपमा विश्लेषण गर्न थालिएको धरहराको ठम्याइ छ। जुन रूपमा एनआरएनले नेपाल र नेपालीप्रति चासो र चिन्ता व्यक्त गर्ने गरेको छ, त्यो अनुसारको प्रतिफल मुलुक र आम नेपालीले महशुस गर्न नपाएपछि यस्तो विश्लेषण हुनु स्वाभाविक हो। त्यसैले विगत डेढ दशकदेखिको जमघटलाई नजिकबाट नियाल्दै आएको धरहरालाई भने कुनै उत्साह लाग्या छैन।

एनआरएनएका केही अगुवा भन्छन्– ‘हामीले होटल, जलविद्युत आयोजना, बैंक, अस्पताल जस्ता क्षेत्रमा लगानी गरेका छौं, सयौलाई रोजगार दिने वातावरण बनाइरहेका छौं।’ भूकम्प र बाढी, डुवानका बेला राहत सामग्री उपलब्ध गराउन र गोरखाको लाप्राकमा भूकम्पपीडितका लागि आवास निर्माणमा एनआरएनए टोली जुटेको एक अगुवाले तर्क गरे। उनको तर्क केही हदसम्म ठिकै होला। तर नेपालमा लगानीका क्षेत्र र संभावनाबारे प्रस्ट रहेको, स्वदेशसँगको रगतको साइनो, विदेशी ज्ञान र अनुभवले खारिएको संस्थाको योगदान यस्तै मात्र हो त ? पाठकवृन्दहरूका तर्फबाट धरहरालाई प्रश्न गर्न मन लाग्यो।

प्रतिक्रिया दिनुहोस्