ट्रम्पलाई ट्विट नगर्न चेतावनी



 

सोल (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सामाजिक सञ्जालमा प्योङयाङविरुद्धका गतिविधिलाई लिएर उत्तर कोरियाले अमेरिकी टापु गुआममा क्षेप्यास्त्र आक्रमण गर्ने चेतावनी दोहोर्याएको छ।

जापान र दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास तथा ट्विटरमा राष्ट्रपतिको झगडिया टिप्पणीलाई लिएर उत्तर कोरियाको सरकारी सञ्चारमाध्यम केसीएनएमा प्रकाशित किम क्वाङ हकको लेखमा आक्रोश पोखेको छ। ट्विटमा रिपब्लिकन नेताले उत्तर कोरियालाई सैन्य बलबाट परमाणु तथा व्यालेस्टिक हतियारबाट निशस्त्र पार्ने उल्लेख गरेका थिए।
प्रशान्त महासागरमा पर्ने गुआमद्वीप समीहमा अमेरिकाको हवाइ अड्डा रहेको छ। अमेरिकाले यसलाई आफूमाथि हमला गर्न प्रयोग गर्न सकिने उत्तर कोरियाको मान्यता रहेको छ।

उत्तर कोरियाले अमेरिकी राष्ट्रपति ट्रम्पबाट लगातार चेतावनीको भाषा प्रयोग उत्तेजना फैलाउने काम गर्दै आइरहेको आरोप लगाएको छ। गत सेप्टेम्बरमा ट्रम्पले उत्तर कोरियाली नेता किम जोङलाई रकेट म्यानको उपनाम दिएका थिए।

त्यसलगत्तै सेप्टेमबर ३ मा उत्तर कोरियाले हाइड्रोजन बम परीक्षण गरेको थियो। त्यसपछि सेप्टेम्बर १५ मा उसले जापानको आकाशमाथि अन्तरमहाद्वीपीय क्षेप्यास्त्र प्रहार गरेको थियो।

परमाणु हतियार तथा क्षेप्यास्त्र परीक्षणका कारण कोरियाली प्रायद्वीपमा बढ्दो तनावबीच अमेरिकाले कोरियाली आकाशमा ३ पटक बी–१बी बमवर्षक विमान उडाएका थिए। ती बमवर्षकले गुआम बेसबाट उडान भरेका थिए। अमेरिकी बमवर्षकसँगै दक्षिण कोरिया र जापानका लडाकू विमानले पनि उडान भरेका थिए।

उत्तर कोरियाको इन्स्टिच्युट अफ अमेरिका स्टडिजका शोधकर्ता किम क्वाङ हाकले लेखमा भनेका छन्– ‘जसरी उत्तर कोरियाले परीक्षण गर्छ, ट्रम्प र उनको समूह ट्विटमा विभिन्न टिप्पणी पोस्ट गर्न थाल्छन्। अमेरिका विगत २५ वर्षमा उत्तर कोरियालाई लिएर सही नीति लिन असफल भएको छ। कहिले ऊ सैन्य विकल्पको कुरा गर्छ, कहिले आँधीबेरीअगाडिको शान्ति त कहिले हामीलाई पूरै ध्वस्त पार्ने कुरा हुन्छ।’

उत्तर कोरियाले सन् २००६, २००९, २०१३, र २०१६ मा परमाणु बम परीक्षण गरिसकेको छ। पहिलो परीक्षणका क्रममा प्योङयाङले अमेरिकाबाट परमाणु युद्धको खतरा रहेको जनाएको थियो। सन् २००९ मे २५ मा गरेको दोस्रो परीक्षणमा उसले युरेनियम प्रवद्र्धन गर्ने घोषण गरेको थियो। यसलाई प्लुटोनियममा आधारित आणविक भट्टी बनाउने र परमाणु हतियार विकास गर्ने सम्भावनाका रूपमा लिइएको थियो। सन् २०१० मे ११ मा उत्तर कोरियाले न्युक्लियर फ्युजन रियाक्टर बनाएको दाबी गरेको थियो। त्यतिबेलै उत्तर कोरियाले शक्तिशाली परमाणु बम बनाउन सक्ने अनुमान गरिएको थियो। सन् २०१३ मा उसले तेस्रो परमाणु बम परीक्षण गर्यो।

सन् २०१५ मा उत्तर कोरियाली नेता किमले हाइड्रोजन बम परीक्षण गर्ने क्षमता रहेको दाबी गरे। अर्को वर्ष सन् २०१६ जनवरी ६ मा उसले हाइड्रोजना बम परीक्षण गर्यो। सोही वर्ष सेप्टेम्बरमा पाँचौं परमाणु बमको परीक्षण गर्यो।

सन् २०१७ सेप्टेम्बर ३ मा उत्तर कोरियाले अहिलेसम्मकै सबैभन्दा शक्तिशाली हाइड्रोजन बमको परीक्षण गरेर विश्वलाई स्तब्ध पार्यो। उक्त बमको क्षमता २० देखि ३० किलोटनसम्मको भएको अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्