सोमबार चुनाव हुनेमा आशंका



 

काठमाडौं, (नेस)
गैरआवासीय नेपाली संघ(एनआरएनए)को ८औं अन्तर्राष्ट्रिय सम्मेलनको दोस्रो दिन आइतबार बन्द सत्रसँगै उम्मेदवारको मनोनयन दर्ता शुरू भएको छ। उम्मेदवारको मनोनयन दर्ता सोमबार बिहान ८ बजेसम्म चल्नेछ।

निर्धारित समय भन्दा ढिला अन्तिम मतदाता नामावली प्रकाशन भएकोले उम्मेदवारको मनोनयनमा ढिला शुरू भएको बताइएको छ। संघले सोमबार दिउँसो १ बजेबाट मतदान शुरू गर्ने बताएको छ। यद्यपि तोकिएको समयमै मतदान हुनेमा भने शंका रहेको छ।

केही डेलिगेट आउन ढिला भएकोले प्रतिनिधि पास वितरण लम्बिएको प्रमुख निर्वाचन अधिकृत शिव रिजालले बताउनुभयो। उहाँका अनुसार अन्तिम मतदाता नामावली ११ बजे निकाल्ने भनिएको पनि बेलुका ४ बजेमात्रै निकालिएको थियो। त्यसै कारण आइतबार ५ बजेबाट उम्मेदवारले उम्मेदवारी दर्ता शुरू गरेका थिए।

एनआरएन सचिवालयका कार्यकारी निर्देशक राजेश शम्शेर राणाका अनुसार सोमबार बिहान ८ बजेसम्म मनोनयन गर्न पाइनेछ। त्यसपछि उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ। दाबी विरोध र उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मात्र मतदान शुरू हुने भएकाले सोमबार नै मतदान हुनेमा अनिश्चितता रहेको छ।

सम्मेलनमा ७७ देशका १ हजार ८ सय जना प्रतिनिधि सहभागी छन्। ४ दिनसम्म चल्ने सम्मेनलले संघको नयाँ नेतृत्व चयन गर्नेछ। अध्यक्ष, उपाध्यक्ष, महिला उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, क्षेत्रीय संयोजक सह–संयोजक महिला संयोजकसहितका पदाधिकारी निर्वाचनबाट चयन हुनेछन्।

आइतबारको बन्दसत्रबाट अनुमोदन भएको अध्यक्ष शेष घलेको मार्गचित्रसँगै संघलाई पुनःसंरचना गर्न पूर्ण म्यान्डेट प्राप्त भएको छ।

प्रतिक्रिया दिनुहोस्