६ जना निःशुल्क जग्गादाता सम्मानित



 

रामधन राई, खोटाङ
खोटाङस्थित विभिन्न प्रहरीचौकीलाई निःशुल्क जग्गा प्रदान गर्ने ६ जना सम्मानित भएका छन्। ६२औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय खोटाङले शुक्रबार आयोजना गरेको विशेष कार्यक्रममा नुन्थला, देवीस्थान, भण्डारेघाट र तालखर्क प्रहरी चौकीका लागि निःशुल्क जग्गा प्रदान गर्ने जग्गादाता सम्मानित भएका हुन्।

जिल्ला प्रहरी कार्यालयको प्रांगणमा आयोजित कार्यक्रममा प्रहरी चौकीका लागि निःशुल्क जग्गा उपलब्ध गराउने रुपाकोट मझुवागढी नगरपालिका–१३ नुन्थलाका बिरस तामाङ, जन्तेढुंगा गाउँपालिका–१ का भीमबहादुर राई, दिपु्रङ गाउँपालिका–४ भण्डारेका राजेन्द्र राई र दिपु्रङ गाउँपालिका– ५ का मदन राईलाइ प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले सम्मानपत्र र दोसल्लाले सम्मान गर्नुभएको हो।

अस्थायी रुपमा रहेका प्रहरी चौकीलाई स्थायी बनाउने प्रयोजनका लागि आफूहरूले जग्गा उपलब्ध गराएको भन्दै अस्थायी चौकीमा प्राप्त जग्गामा भवन बनाई तुरुन्त स्थायी चौकी खडा गर्न जग्गादाताको माग रहेको छ। जग्गादाताका तर्फबाट बोल्दै दाता राजेन्द्र राईले आफ्नो जग्गा सस्तो भएर दिएको नभई स्थायी चौकी निर्माणार्थ दिएकाले तत्काल स्थायी चौकी स्थापनाका लागि पहल गर्न सम्बन्धित पक्षसँग माग गर्नुभयो।

अमर प्रहरी परिवारलाई सम्मान कर्तव्य पालना गर्ने सिलसिलामा विभिन्न समयमा साहदत प्राप्त अमर प्रहरीहरूको सम्झनामा वर्षेनी आयोजना हुँदै आएको प्रहरी दिवसको अवसरमा यो वर्ष ३ जना अमर प्रहरी परिवार तथा आफन्तलाई सम्मान गरिएको छ।

२०५८ सालमा सोलुखुम्बुमा साहदत प्राप्त हरिभक्त श्रेष्ठ, २०६५ सालमा भोजपुरमा साहदत प्राप्त जयप्रसाद आचार्य र २०५८ सालमा रुकुममा साहदत प्राप्त नमराज ठाकुरको परिवार र आफन्तलाई दोसल्लाले सम्मान गरिएको हो।

जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार विभिन्न समयमा खोटाङका २६ जना प्रहरीले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा ज्यान गुमाएका छन्। प्रहरी दिवस कार्यक्रममा प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारी, जिल्ला समन्वय समितिका उप–प्रमुख गोमादेवी खत्री, रुपाकोट मझुवागढी नगरपालिकाका उपमेयर विणादेवी राईलगायतको उपस्थिति थियो। कार्यक्रममा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि, पत्रकार, समाजसेवीलगायतको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्