वृद्धभत्ता लिनेको भीड



 

विमल विष्ट, डोटी
डोटीको दिपायलमा रहेको राष्ट्रिय वाणिज्य बैंकमा हिजोआज वृद्ध तथा एकल महिला भत्ता लिने स्थानीय महिलाहरूको भीड लाग्ने गरेको छ। डोटीमा रहेको दिपायल सिलगढी नगरपालिकाले आफ्नो वडा मातहतका सम्पूर्ण वृद्ध तथा एकल महिला भत्ता लिनेहरूलाई बैंकमार्फत् रकम भुक्तानी गर्ने निर्णय गरेकाले दिपायल बैंकमा महिलाको भीड लागेको हो।
बैंकमा भत्ता लिने महिलाको भीड लागेपछि बैंक कर्मचारी बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म बैंकिङ कारोबारमा व्यस्त रहने गरेको राष्ट्रिय वाणिज्य बैंक दिपायलका प्रमुख शिवराज कठायतले बताउनुभयो। उहाँले भन्नुभयो– ‘तिहारैको मुखमा वृद्ध भत्ता पनि वितरण शुरू भएकाले अन्य काम गर्न भ्याइनभ्याई छ, हामी बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म रकम दिनमै व्यस्त छौं।’

बैंकमा वृद्ध तथा एकल महिला भत्ता लिनेका कारण अन्य कारोबारीलाई आफ्नो चेक साट्न तथा रकम पठाउन निकै मुस्किल भएको बैंकमा आइतबार भेटिएका बड्डीकेदार गाउँपालिकाका स्थानीय खड्कबहादुर साउदले बताउनुभयो। उहाँले भन्नुभयो– ‘बैंकमा पूरै महिलाको भीड छ, हामीले चेक समेत साट्न पाएका छैनौं, महिलाको पालो नसकिन्जेल हाम्रो पालो आउला जस्तो छैन।’ तिहार नजिकिंदै जाँदा डोटीमा तलब लिने तथा बैंकमा रकम झिक्नेहरूका कारण यहाँका बैंकमा स्थानीयको हिजोआज भीडभाड हुने गरेको छ।

बैंक कर्मचारीहरू बिहानदेखि बेलुकीसम्म रकम वितरण गर्नमै व्यस्त हुने गरेको एनसीसी बैंक दिपायलका असिस्टेन्ट कुमार खड्काले बताउनुभयो। उहाँले भन्नुभयो– ‘हाम्रो बैंकमा असोजको क्लोजिङ पनि चल्दै छ, ग्राहकले क्लोजिङको किस्ता बुझाउने तथा तिहारको कारण पैसा झिक्नकै लागि बैंकमा आउने गरेकाले प्रायःगरी हामी पैसा दिनमै व्यस्त हुन्छौं।’

प्रतिक्रिया दिनुहोस्