औपचारिकतामा सीमित हुँदै हात धुने दिवस



 

नेपाल समाचारपत्र
खोटाङ
हरेक वर्ष मनाउने गरिएको विश्व हात धुने दिवसलाई खोटाङमा औपचारिकतामा सीमित गर्ने गरिएको छ। हात धुने दिवस सर्वसाधारण केन्द्रित हुनुपर्नेमा जिल्लाका केही विशिष्ट व्यक्तिहरूबीच औपचारिक कार्यक्रमको आयोजना गरी सम्पन्न गर्ने गरिएको हो।

सन् २००८ देखि मनाउन शरू गरिएको विश्व हात धुने दिवसको अवसरमा आइतबार पनि जिल्ला अस्पतालमा एक औपचारिक कार्यक्रम आयोजना गरिएको छ। जिल्ला खानेपानी सरसफाई सब डिभिजन तथा जिल्ला स्वास्थ्य कार्यालयको संयुक्त आयोजनामा सम्पन्न दिवसको अवसरमा एक अन्र्तक्रिया कार्यक्रमको साथमा हात धुने तरिका प्रदर्शन गरिएको थियो। जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङ, प्रमुख जिल्ला अधिकारी एकदव अधिकारीलगायत सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख तथा प्रतिनिधिको उपस्थितिमा सम्पन्न कार्यक्रममा स्वास्थ्यको लागि ‘हात धुने’ कुराको जानकारी महत्त्वपुर्ण रहेको बताइएको थियो। ‘हात धुने’ दिवसलाई यदाकदा उपहास गरिए पनि राम्ररी हात धुने तरिका बारे थाहा पाए मात्र पनि धेरै रोगबाट बच्न सकिने स्वास्थ्यकर्मीको भनाइ थियो।

सामान्यतया अनिवार्य हात धुने व्यक्तिबीचमा कार्यक्रमको आयोजना गरी औपचारिकतामा सीमित नगरी यसबारे सचेतना विस्तार गर्न सर्वसाधारणसमक्ष यस्तो कार्यक्रम पुर्याउनुपर्नेमा वक्ताहरूको जोड थियो। विद्यार्थीले स्वयं दूतको रुपमा आफ्नो घरपरिवार तथा गाउँघरसम्म हात धुने तरिका र हात धुनुको महत्त्वबारे जानकारी फैलाउने हुनाले विद्यालयस्तरमा यस्ता कार्यक्रम आयोजना गर्नु उपयुक्त हुने कार्यक्रममा सुझाव दिइएको थियो।

कार्यक्रममा स्वास्थ्यसम्बद्ध व्यक्ति, पत्रकार तथा केही बिरामी कुरुवासमेत सहभागी बनेका थिए। आइतबार दिनभर अस्पतालमा आउने बिरामी कुरुवालाई हात धुने तरिकाबारे व्यवहारिक जानकारी गराउने अस्पतालका प्रमुख डाक्टर रामबहादुर केसीले बताउनुभयो। डाक्टर केसीका अनुसार जिल्लाका सबै स्वास्थ्य संस्था तथा केही विद्यालयमा यससम्बन्धी कार्यक्रम गरी सचेतना विस्तार गर्न अनुरोध गरिएको छ।

प्रतिक्रिया दिनुहोस्