आलु र केराउ भन्दै ल्याइएको ३० लाखको मासु बरामद



 

कुमार श्रेष्ठ, बाँके
आलु र केराउ देखाएर नेपालगन्ज भित्त्याउन खोजिएको ठूलो परिमाणको कुखुरा र बंगुरको मासु नेपालगन्ज भन्सार कार्यालयले बरामद गरेको छ। एचआर ५५ एन ५२४० नम्बरको ट्रकमा प्याक गरेर भारत ल्याउँदै गरेको ११ हजार २ सय किलो कुखुरा र १ हजार २ सय किलो बंगुरको मासु भन्सारले नियन्त्रणमा लिएको हो।

३० लाख बढीको मासु ल्याएका व्यक्तिले भन्सार कार्यालयमा भने केराउ र आलुको राजश्व तिर्ने तयारी गरेका थिए। भन्सार कार्यालयका जाँचकीले ट्रकको जाँच गर्दा मासु फेला पारेपछि केराउ र आलुको भन्सार तिरेर मासु पास गर्ने व्यवसायीको पर्दाफास भएको हो। नेपालगन्जको धम्बोझीमा मासुको थोक बिक्रेता रहेका दिलिप सोनकरले भारतबाट मासु ल्याएको खुलेको छ। नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जनार्दन आचार्यले आलु र केराउको राजश्व तिरेर पास गर्न थालिएको ठूलो परिमाणको मासु बरामद भएको बताउनुभयो। ‘कुखुरा र बंगुरको मासु बरामद भएको छ, हामीले त्यसको छानबिन गरिरहेका छौं,’ भन्सार प्रमुख आचार्यले भन्नुभयो।

नेपालगन्ज भन्सारबाट ठूल्ठूला तस्करी हुने गरेको नेपालगन्जका व्यापारी नेताले आरोप लगाउँदै आएका थिए। यसअघि कनिकाको भन्सार गरेर चामल भित्रिएको रहस्य खुलेको थियो। कनिकाको भन्सार तिरेर नेपालगन्ज छिरेको ट्रक चौलिक्का नजिक पल्टिएपछि रहस्य खुलेको थियो। ‘छोटी नाकाहरूबाट त स–साना सामान तस्करी हुन्छ, एक व्यापारीले भने, ठूलो तस्करी त भन्सार भएरै आउँछ। त्यो भनेको धेरै सामान ल्याएर कम देखाउनेदेखि एउटा सामान ल्याएर अर्को देखाउने हुन्छ।’ अहिले चाहिँ तिहारलाई लक्षित गरी भारतबाट अवैध रूपमा भित्त्याउन थालिएको मासु बरामद गरिएको छ।

सरकारले भारतबाट कुखुराको मासु ल्याउन पूर्णरूपमा प्रतिबन्ध लगाएको छ। वर्डफ्लु सर्न सक्ने आशंकाले सरकारले केही वर्षदेखि नै भारतबाट पंक्षी तथा पंक्षीजन्य पदार्थ ल्याउन पूर्णरूपमा रोक लगाएको हो।
कुखुरा र बंगुरको मासु दिल्लीबाट ल्याइएको थियो। नेपालगन्जका सोनकरले देशका विभिन्न शहरमा कुखुरा र बंगुरको मासु पठाउने गर्दछन्। लाखौंको अवैध मासु सिधा बाटोबाट ल्याउँदै गरेका सोनकरले राम्रो ‘सेटिङ’ नमिलाएको घटनाले देखाएको छ।

प्रतिक्रिया दिनुहोस्