कांग्रेसमा फर्कंदै गच्छदार



 

काठमाडौं, (नेस)
विजयकुमार गच्छदारको नेतृत्वमा रहेको नेपाल लोकतान्त्रिक फोरम नेपाली कांग्रेसमा विलय हुने भएको छ। पहिलो संविधानसभाको निर्वाचनअघि कांग्रेस परित्याग गरेका गच्छदार एक दशकपछि फेरि कांग्रेसमै फर्किन लागेका हुन्।

प्रधानमन्त्री निवास बालुवाटारमा एक कार्यक्रमको आयोजनामा हिजो आइतबार पार्टी प्रवेश गर्ने तयारी भए पनि अबेरसम्म भएको दुई दलबीचको शीर्ष नेताहरूको छलफलपछि आज सोमबार ११ बजे पार्टी प्रवेश कार्यक्रम सारिएको हो। फोरमका नेता गच्छदारलाई मात्र नभई सो पार्टीका अन्य शीर्ष नेताहरूलाई कसरी व्यवस्थापन गर्ने र निर्वाचनमा कुनकुन क्षेत्रमा कति उम्मेद्वार बनाउने भन्ने बारेमा अन्तिम टुंगो लगाउन बाँकी छ।

मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा प्रमुख बामघटक नेकपा एमाले र माओवादी केन्द्रले चुनावी तालमेल गर्ने सहमति गरेलगत्तै नेपाली कांग्रेसले अन्य पार्टीहरूसँग मिलेर चुनावी सहकार्य गर्ने रणनीति बनाएको थियो। गच्छदारको पार्टीलाई भने कांग्रेसले चुनावी सहकार्य नभई पार्टी एकीकरणमै ल्याउन सफल भएको हो। गच्छदारलाई कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको महत्त्वपूर्ण पद दिने सहमति गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्