शुरु भयो निर्वाचन प्रक्रिया, बन्दसूची संसोधन गर्न कात्तिक १२ गतेसम्मको समय



नेपाल समाचारपत्र, काठमाडौ ।
आगामी मंसिर १० र २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको प्रकृया शुरु भएको छ। आइतबार आयोगको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि बन्दसूची पेश गर्ने कार्यतालिका रहेको थियो। साँझ आयोगद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रमुख आयुक्त अयोधिप्रसाद यादवले उच्च नैतिक आदर्शका साथ चुनावी प्रचारप्रसार गर्न दलहरुलाई आग्रह गरे।

उनले सबै राजनीतिक दलहरुलाई आयोगको निर्देशन, आचारसंहिता र कानुनको पालना गर्न अनुरोध गरे।

दलहरुले बुझाए समानुपातिक सूची

दलहरुले समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची पेश गरेका छन्।

आइतबार निर्वाचन आयोग पुगेर राजनीतिक दलहरुले बन्दसूची पेश गरेका हुन्। आयोगले आइतबार बिहान १० बजेदेखि साँझ पाँच बजेसम्म बन्दसूची पेश गर्ने समयावधि तोकेको थियो। आयोगका प्रमुख आयुक्त यादवले साँझसम्म आयोगमा दर्ता भएका ८८ मध्ये ५५ दलले सूची बुझाएको जानकारी दिए।

आयोगमा सबैभन्दा पहिला राष्ट्रिय यथार्थवादी पार्टीले ११ जनाको सूची पेश गरेको थियो। दिउँसो ३ बजेसम्म २ वटा दलले मात्र सूची पेश गरेका थिए।

साँझ ५ः३० बजेसम्म ३० साना दलले सूची पेश गरेका थिए। ठूला दलले सूची पेश गर्न ढिलाइ गरेका कारण आयोगको पूर्वनिर्धारित १० बजेदेखि ५ बजेसम्मको अबधिमा सूची संकलन गर्न सकेको थिएन।

निर्वाचन आयोगले ८८ दललाई निर्वाचन चिह्न प्रदान गरेको छ। राजनीतिक दलले उम्मेदवारको बन्दसूची पेश गर्दा महिला उम्मेदवारको संख्या ५० प्रतिशित पुर्याउनु पर्नेछ।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार प्रतिनिधिसभाको समानुपातिकतर्फ ११० तथा प्रदेशसभाको समानुपातिकतर्फ २२० पदका लागि आइतबार उम्मेदवारहरुको बन्दसूची पेश गर्ने कार्यतालिका रहेको थियो।

नेपालको संविधानले संघीय व्यवस्थापिकामा एक तिहाइ महिलाको प्रतिनिधित्व सुनिश्चित गरेको छ। कुनै राजनीतिक दलले प्रत्यक्षतर्फबाट एक तिहाई महिला सदस्य सुनिश्चित गर्न नसकेमा समानुपातिक निर्वाचन प्रणालीबाट सुनिश्चित गर्नुपर्ने कानूनी व्यवस्था रहेको छ।

नेपालको संविधानले संसद्मा महिलाको प्रतिनिधित्व सुनिश्चित गर्नुका साथै समानुपातिक र समावेशी सिद्वान्तलाई आत्मसात गरेको छ।

प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत महिला, दलित, आदिवासी जनजाति, खस आर्य (क्षेत्री, ब्राह्मण, ठकुरी र सन्यासी, दशनामी), मधेशी, थारु, मुस्लिमको समावेशी प्रतिनिधित्वका लागि तत् समुदायको जनसंख्याका आधारमा उम्मेदवारी प्रस्तुत गर्नुपर्ने व्यवस्था रहेको छ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले उम्मेदवारको नामावली पेश गर्दा भूगोल र प्रादेशिक सन्तुलन तथा पिछडिएको क्षेत्र र अपाङ्गता भएका व्यक्तिको समेत प्रतिनिधित्व हुने व्यवस्था गर्नुपर्नेछ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले यस प्रणालीबाट निर्वा्चित हुने कुल सदस्य संख्याको कम्तीमा १० प्रतिशत सदस्यका लागि उम्मेदवारी दिनुपर्ने र कुल उम्मेदवारको कम्तीमा ५० प्रतिशत महिला हुनुपर्ने कानूनी प्रावधान रहेको छ।
नेपाल सरकारले प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन एकै दिन दुई चरणमा सम्पन्न गर्नेगरी मिति तय गरेको छ।

यस्तो छ निर्वाचन प्रक्रिया र कार्यतालिकाः

बन्दसूची सच्याउने राजनीतिक दलहरुलाई सूचित गर्नेः २०७४/ ०६ / ३०

बन्दसूची संशोधन गरी पेश गर्नेः २०७४ / ७/ ०६ देखि २०७४/ ०७/ १२

बन्दसूचीबाट नाम फिर्ताका लागि निवेदनः २०७४ / ०७ / १३

उम्मेदवारको नाम फिर्ता सम्बन्धी सम्बन्धित राजनीतिक दललाई जानकारी २०७४ / ०७ / १४ देखि २०७४/ ०७ / १५

उम्मेदवारको बन्दसूची सार्वजनिक गर्नेः २०७४ / ०७/ १७

योग्यता सम्बन्धमा दाबी बिरोध गर्ने निवेदनः २०७४ / ०७ / २५ देखि २०७४ / ०८ / ०१

दाबी विरोधको निवेदन उपर जाँचबुझ र निर्णयः २०७४ / ०७ / २५ देखि २०७४ / ०८ / ०१

बन्दसूचीबाट उमेदवारको नाम हटाएको सूचना प्रकाशनः २०७४ / ०८ / ०२

बन्दसूची अन्तिम रुपमा प्रकाशनः २०७४ / ०८ / ०३

मतदान गर्नेः २०७४ / ०८ / १० / २०७४/ ०८ / २१

प्रतिक्रिया दिनुहोस्