पर्यटकिय क्षेत्र कमल दह संरक्षणको पर्खाइमा



धनवीर दाहाल, पुर्वी रुकुम ।
पूर्वी रुुकुमको सिस्ने गाउँपालिका वडा नं. ५ रुकुमकोटमा रहेको कमल दह संरक्षणको पर्खाईमा रहेको छ ।

दहको उचित संरक्षण र व्यवस्थापन नहुँदा हाल कमल दहमा पशु चौपायाको मात्र रजाई हुन थालेको छ । छाडा रुपमा छोडिएका पशु चौपायाकालागि दिनहुँ पानी पिउने स्थल र चरण क्षेत्र बन्न थालेपछि आँखाको नयन जस्तै देखिने कमल दहको पानी समेत धमिलो बन्ने गरेको छ ।

अति लोपोन्मुख तथा महत्वपुर्ण कमल फूलको नामले परिचित कमल दहलाई नेपालकै एक प्रसिद्ध पर्यटकिय स्थलको रुपमा लिने गरिन्छ । समुद्री सतहबाट १५ सय ८१ मिटरको उचाईमा पर्ने यो दहको गहिराई ३५ मिटर रहेको छ ।

झण्डै २ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको कमल दहमा वर्षैपिच्छे आन्तरिक तथा बाह्य पर्यटकहरुको घुँईचो लाग्ने गर्दछ । तर, पछिल्लो समय कमल दहको उचित संरक्षण तथा प्रबद्र्धनमा सम्बन्धित निकायले ध्यान नदिंदा यो दह पशु चौपायाको चरण क्षेत्र र पानी पिउने स्थलका रुपमा प्रयोग हुने अवस्थामा पुगेको छ ।

लामो समयदेखी संरक्षणको पर्खाइमा रहेको यस कमल दहलाई अब आधुनिक तरिकाले चौतर्फी विकास गर्न सकेमा उपयुक्त हुने स्थानीय बताउँछन् । स्थानीय भुवनेश्वर उपाध्यायले तालको संरक्षणका लागी सबै सरोकारवालाले चासो दिनुपर्ने बताए । उनले स्थानीयहरु पनि उत्तिकै लाग्नुपर्नेमा जोड दिए ।

कमल दहको कञ्चनजल र पानी माथि तैरिएका कमलका पातहरुले मोहनी लगाउने भएकै कारण कमल दह हेर्न आउने प्रायजसो पर्यटकहरुले कमलको जरा र फलहरु किनेर लिने गर्दछन् । खासगरेर कमलको जरा र फलको सेवन गर्नाले जन्डिस तथा अन्य रोगहरु पनि निको हुने विश्वास गरिन्छ ।

स्थानीय रुद्र बहादुर हमालले रोल्पा, डोल्पा, जाजरकोट लगाएतका जिल्लाबाट कमलको जरा लिनको लागी मान्छेहरु आउने बताए ।

आन्तरिक तथा बाह्य पर्यटनका लागि कमल दहको संरक्षण र विकासका लागि विभिन्न निकायले पटक–पटक थुप्रै अभ्यासहरु संचालन नगरेका होईनन् । ती सबै अभ्यासहरु कमल दहको पानीमाथी तैरिदै पशु चौपायका लागि पानी पिउने स्थल र चरण क्षेत्रमा परिणत हुन पुगे ।

तर,अबको सिस्ने गाउँपालिकाले भने कमल दहको थप विकासका लागि कमल दहभित्र रहेको मन्दिरको निर्माण र दहको चारैतिर तार जाली लगार्ई व्यवस्थितगर्ने योजना अघि सारेको छ ।

सिस्ने गाँउपालिकाकी अध्यक्ष कुमारी बरालले तालको संरक्षणको लागी हाल ५ लाख छुट्याइएको र आगामी दिनमा पनि पहल गरिने बताइन् । कमल दह त एउटा ज्वलन्त उदाहरण मात्र हो ।

रुकुम पुर्व र रुकुम पश्चिम जिल्लामा रहेका थुप्रै तालतलैया र ऐतिहासिक मान्यता बोकेका पर्यटकिय स्थलहरुको संरक्षणमा भने कुनै उल्लेख्य प्रगति हुन सकेको छैन ।

 

प्रतिक्रिया दिनुहोस्