फेरिँदै फेसन शैली



शाक्यजी

फेसनको दुनियाँमा परिवर्तन, परिमार्जन र परिष्कृत स्वरूपहरू नै मुख्य विशेषता मानिन्छ । समयले काँचुली फेरेसँगै नयाँ कालखण्डमा नयाँ शैली देखिनु वा पुरानो शैली परिमार्जित रूपमा अनुभव गर्न पाइने क्रमसँगै वर्ष २०१७ मा पनि यस्तै केही हुने अनुमान गरिएको छ । यसपटकको फेसन शैलीमा ८० दशकताका निकै प्रयोग भएको सोल्डर प्याड्सले पुनारावृत्ति पाउने अनुमान गरिएको छ । बक्सी सेपको सोल्डर स्टाइल यसपटकको फेसनमा देख्न पाइने छनक फेसनविद्हरूले दिएका छन् । ८० दशकताकाको प्रभावसहित अफ द शोल्डर ड्रेसदेखि वन् सोल्डर टपसम्म शैली यो वर्ष हिट हुने बताइएको छ । यसपटक मिड काल्फ लेन्थ पहिरनको प्रभाव पनि उत्तिकै देख्न पाइनेछ । लङ स्कर्टको स्थानमा चाहे त्यो फर्मल, पार्टी वा रेड कार्पेट स्टाइल होस्, तिनमा मिड काल्फ स्टाइलको प्रचलन बढ्दो सम्भावना देखिएको छ । मिड काल्फ लेन्थ शैली स्कर्ट र ड्रेसमा मात्र नभई कोट र ज्याकेटमा पनि देख्न सकिनेछ । यो शैली टाइट र स्ट्रेट सिलुहुट्समा पनि देख्न पाइनेछ ।

सियर स्टाइल पनि यसपटक हिट हुने देखिन्छ । यो स्टाइलमा लङलाइन टप्स र ड्रेसहरूसित पर्पेक्स ट्राउजर, क्रोसे बटम, फिटेड लेस ड्रेसहरू मुख्य आकर्षणका रूपमा रहने बताइएको छ । यसपटक पिन्क त्यसमा पनि विशेष गरी फुसिया सेड निकै लोकप्रिय हुने देखिन्छ । यसपटकको स्प्रिङ समर कलेक्सनमा कलर ब्लकिङमा समेत यो सेडले प्रधानता पाउने देखिएको छ । जसको छनक सेलिन, भ्यालेन्टिनो, टपसप, ब्यालेन्सिया, भ्यालेन्टिनोसम्मको कलेक्सनमा देख्न पाइसकिएको छ ।
यसपटक स्लिभमा निकै डिटेलिङ हुने देखिन्छ । जसमा मुख्य गरी रफल्स, फ्लुट्सदेखि क्रप्ड, बन्च्ड, ओभरसाइज्ड स्टाइल निकै लोकप्रिय हुने अनुमान गरिएको छ । समुद्री किनारदेखि स्कुलसम्मको स्ट्राइप्स प्रभावित पहिरनहरूले पनि धुम मच्चाउने फेसनविद्हरूको अनुमान छ । पिन्स स्ट्राइप होस् थिक स्ट्राइप यसको आकर्षण फेसन बजारमा हिट रहने देखिन्छ । बीच वेयरदेखि इभिनिङ वेयर, क्याजुयलदेखि पार्टी वा फर्मल वेयरसम्म पनि यसपटक ह्वाइट ड्रेसले आफ्नो प्रभाव जमाउने देखिन्छ । भाइब्रेन्ट कलरदेखि सबै प्रकारको साइजमा स्ट्राइप्स प्रयोग उल्लेखनीय रूपमा बढ्ने अनुमान गरिएको छ ।

यो वर्ष लोकप्रिय हुने फेसन शैलीहरूमा स्लोगन टिज् पनि माथिल्लो लिस्टमा रहेको छ । समर स्प्रिङ कलेक्सनमा क्रिस्चियन डिओदेखि प्रबल गुरुङसम्मको कलेक्सनमा स्लोगन टिज्ले प्राथमिकता पाएअनुसार यो शैलीले यसपटक धुम मच्चाउने निश्चित छ । स्लोगन टिज्मा मूलतः रोमान्टिक, प्रेरणादायी भनाइहरू, वातावरण, सामाजिक चेतना जगाउने खालका सन्देशहरूदेखि केही फरक अन्दाजमा प्रस्तुत गरिएका शब्द, वाक्यांश आदि बढी लोकप्रिय हुने बताइएको छ । वर्ष २०१६ को लोकप्रिय स्पोर्ट स्टाइलमा हुडी पहिरन थिए, यसले वर्ष २०१७ मा पनि निरन्तरता पाउने अनुमान गरिएको छ । स्ट्रिट स्टाइलदेखि सफिस्टिकेटेड स्वरूपसम्ममा हुडी शैलीको प्रभाव देख्न पाइने फेसनविद्हरू बताउँछन् । पाइजामा डे«सिङ तथा स्लिप ड्रेसहरूले पनि निरन्तरता पाउने बताइन्छ । यसमा केही परिमार्जन भने देख्न पाइनेछ ।

रफल्सजस्तै यसपटक फरको प्रयोग पनि निकै बढ्ने सम्भावना देखिएको छ । फुल फर कोट त छँदै छ, यसबाहेक फर लाइनिङ भएको पहिरनदेखि कफ्ड ज्याकेट पनि फरको उपयोगिताको प्रभाव देख्न पाइएको छ । फरको प्रयोग पहिरनलाई आकर्षक र स्टाइल दिनका लागि पनि प्रयोग बढ्ने देखिन्छ । स्टोल, र्याप, कोलर, पर्स, बुटका विभिन्न स्टाइल, ह्यान्ड ब्याग, पञ्जा आदिमा पनि फरको उपयोगिता पूर्ण रूपमा वा आंशिक रूपमा बढ्ने देखिन्छ । उल्लेखितबाहेक यसपटकको शैलीमा खाकी, भेल्भेटको प्रयोग पनि निकै बढ्ने अनुमान गरिएको छ । जहाँ जुक्ताको सवालमा किटन हिल्स र र्याप एण्ड टाइ अपको शैलीको लोकप्रियताको अनुमान गरिएको छ । त्यहीं ज्वलेरीमा चोकरको निरन्तरता सँगै स्टेट्मेन्ट पेन्डेन्ट्स, इयर रिङ्स, इयर कफ, ट्विन ब्रासलेटको प्रचलन बढ्ने अनुमान गरिएको छ । ह्यान्ड ब्यागतर्फ भने सिन्स ब्याग, ओभरसाइज्ड, मिनी ब्याग, सोल्डर ब्यागहरूको लोकप्रियता बढ्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्