कमल र मायंका च्याम्पियन



 

नेपाल समाचारपत्र
काठमाडौं
कमल भण्डारी र मायन्का राणाले दोस्रो ललितपुर जिल्ला राष्ट्रिय खुला लन टेनिस प्रतियोगितामा क्रमशः पुरुष र महिला सिंगल्सको उपाधि जितेका छन्।

प्रतियोगिता अन्तर्गत ललितपुरको सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा शनिबार भएको पुरुष सिंगल्सको फाइनलमा कमलले सन्तोष खत्रीलाई ७–६, ६–२ को सेटमा हराउँदै उपाधि जितेका हुन्। यसैगरी महिला सिंगल्सको फाईनलमा मायन्काले पनि प्रेरणा कोइरालालाई ६–१, ६–२ सेटमा पराजित गर्दै उपाधि उचालिन्।

त्यस्तै पुरुष डबल्सको उपाधि भने कमल भण्डारी र महेश श्रेष्ठको जोडीले जित्न सफल भयो। फाइनलमा कमल र महेशको जोडीले सन्तोष खत्री र आत्माराम कार्कीको जोडीलाई ६–२, ६–३ को सेटमा पराजित गरेको थियो।

पुरुष तथा महिला सिंगल्सतर्फ पहिलो हुने खेलाडीद्वय कमल र मायन्काले जनही २५ हजार नगद पुरस्कार प्राप्त गरेका थिए। दोस्रो हुनेले जनही १५ हजार प्राप्त गर्दा सेमीफाइनलमा पराजित भएका खेलाडीहरूलाई जनही सात–सात हजार नगद पुरस्कार प्रदान गरियो। यसैगरी पुरुष डबल्सतर्फ पहिलो हुने कमल र महेश तथा महिला डबल्सतर्फ पहिलो भएका माहिका र मायन्काको जोडीले नगद १०–१० हजार नगद पुरस्कार हात पारे। दोस्रो हुने जोडीले पाँच–पाँच हजार प्राप्त गर्दा सेमीफाइनलमा पराजित हुनेलाई २५ सय नगद पुरस्कार प्रदान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्