एमएस–१३ स्ट्रिट ग्याङका नाइके पक्राउ



 

चिमाल्टेनान्गो, (एजेन्सी)
ग्वाटेमालाका प्रहरीले कुख्यात मारा साल्भाट्रुचा अर्थात् एमएस–१३ स्ट्रिट ग्याङका नाइकेलाई पक्राउ गरेको दाबी शनिबार गरेको छ। प्रहरीले ट्विटरमार्फत राजधानीदेखि करिब ५० किमि पश्चिममा पर्ने चिमाल्टनान्गो शहरमा एन्जेल गयाब्रियल रिएस मार्रोक्विन उर्फ ब्लान्को (ह्वाइट)लाई गिरफ्तार गरिएको जानकारी दिएको छ।

दुई महिनाअघि एउटा अस्पतालमा गोलीकाण्ड मच्चाएका कारण उनको प्रहरीले व्यापक खोजी गर्दै आइरहेको थियो। अन्तर्राष्ट्रिय सञ्जाल भएको यस ग्याङको अमेरिकास्थित समूहले यसै वर्ष न्युयोर्कमा दुई जना केटीको धारिलो हतियार प्रयोग गरी हत्या गरेको थियो।

यस ग्याङको जन्म अमेरिकाको लस एन्जेल्समा भएको हो भने यसका शाखाहरु मध्य अमेरिकामा पनि फैलिएका छन्। निर्मम र क्रुर हत्याका लागि यो ग्याङ अन्तर्राष्ट्रिय जगत्मा निकै कुख्यात छ। अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबीआई)का एकजना ग्याङ विशेषज्ञका अनुसार यस ग्याङको प्रमुख नारा नै ‘हत्या, बलात्कार र कब्जा’ रहेको जानकारी दिएका छन्।

स्थानीय सञ्चारमाध्यमका अनुसार ब्लान्कोको संलग्नता गत अगस्टमा भएको अस्पताल गोलीकाण्डमा सातजना व्यक्ति मारिएका थिए। प्रहरीले जेलमा परेर सशस्त्र गार्डको निगरानीमा अस्पतालमा उपचार गराइरहेका आफ्ना एक नाइकेलाई छुटाउन तिनीहरुले सो आक्रमण गरेको अनुमान गरेको थियो।

सन् २०१४ मा ब्लान्कोलाई हत्यालगायतका विभिन्न अभियोगमा अत्यन्तै कडा सुरक्षा व्यवस्था भएको कारागारमा थुनिएको थियो। वकिलहरुले कम्तीमा २ सय ८७ व्यक्तिको हत्यामा उनको हात रहेको आशंका गरेका छन्। तर उपचारका लागि अस्पतल लगिँदै गरेका बेला मोटरवाइकमा आएका एक समूहले उनलाई भगाउन सफल भएको थियो।

प्रतिक्रिया दिनुहोस्