कलाकर्मी सम्मानित



 

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले बिहीबार नेपाल प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा आयोजना गरेको अनेसास विशिष्ट सम्मान कार्यक्रममा विशिष्ट स्रष्टाहरुलाई सम्मान गर्यो।

कार्यक्रममा कला क्षेत्रमा अमूल्य योगदान पुर्याएबापत रंगकर्मी तथा कलाकार दम्पती हरिहर शर्मा र शकुन्तला शर्मालाई सम्मान गरियो। त्यसै गरी संगीतको क्षेत्रमा योगदान पुर्याएबापत संगीतकार शम्भुजित बास्कोटालाई सम्मान गरियो। फिल्मकर्मी चेतन कार्की र संस्कृतिविद् डा. रामदयाल राकेश भने सम्मान ग्रहणमा अनुपस्थित रहे। कार्यक्रममा चित्रकार किरण मानन्धर, साहित्यिक पत्रकार अच्युतरमण अधिकारी, इतिहासविद् डा. सुरेन्द्र केसीलाई पनि सम्मान गरिएको थियो।
वाङ्मय शताब्दि पुरुष एवं साहित्यकार सत्यमोहन जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कलाकर्मी तथा स्रष्टाहरुलाई ताम्रपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो। अनेसासका सचिव तथा साहित्यकार गणेश घिमिरेले स्वागत मन्तव्य राख्दै नेपाली साहित्य, कला र संस्कृतिका क्षेत्रमा लागेका व्यक्तित्वहरुलाई सम्मान गर्न पाउँदा निकै खुसी लागेको बताए। त्यस्तै उक्त समाजका वरिष्ठ उपाध्यक्ष राधेश्याम लेकालीले यसअघि पनि विभिन्न स्रष्टाहरुलाई सम्मान गरिसकेको र यो सम्मान पनि त्यसैको निरन्तरता भएको बारे चर्चा गरे। त्यसै गरी रंगकर्मी तथा अभिनेता हरिहर शर्माले संस्था खोल्नु मात्र ठूलो नभई त्यसले निरन्तरता पनि प्राथमिकतामा पर्नेमा जोड दिए। संगीतकार तथा नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भुजित बास्कोटाले एउटै मञ्चमा साहित्य र संगीतलाई सम्मान गर्ने प्रचलन निकै सह्रानीय भएको बताए। चित्रकार किरण मानन्धरले यो सम्मानमा चित्रकारलाई पनि सम्झिएकोमा आभार व्यक्त गरे।

कार्यक्रमका प्रमुख अतिथि तथा साहित्यकार सत्यमोहन जोशीले विभिन्न विधाका विशिष्ट व्यक्तित्व भएको ठाउँमा आफू पनि हुन पाउँदा भाग्यमानी भएको बताए। सोही अवसरमा विदेशमा रहेर साहित्यमा कलम चलाउने विभिन्न साहित्यकारले कविता, गजल र हाइकू सनाएका थिए।

प्रतिक्रिया दिनुहोस्