फोहोर व्यवस्थापनमा सघाउँदै जर्मनी इन्जिनियर



 

प्रताप बानियाँ, म्याग्दी
म्याग्दीको बेनी अस्पतालमा दैनिक रूपमा हुने फोहोरको उचित व्यवस्थापनमा जर्मनबाट आएका २ जना मेडिकल इन्जिनियरले सघाइरहेका छन्। करिब ३ साताअगाडि नेपाल आएका जर्मनको १ विश्वविद्यालयमा मेडिकल इन्जिनियरिङमा अध्ययरत मेक्सीमिलियनल र एन्टोनियाले फोहोर व्यवस्थापनमा सहयोग गरेका हुन्।

उनीहरूले अस्पतालभित्र दैनिक रूपमा संकलन हुने फोहोरको वर्गीकरण र बिसर्जनको विधिसहित अन्तर्राष्ट्रिय मापदण्डको फोहोर बिसर्जन गर्न इन्सुलेटर प्रविधि जडान गरिदिएका छन्। जर्मनको टेक्नोलोजी विथआउट बोर्डर नामक संस्था र बेनी अस्पतालको संयुक्त लगानीमा जर्मन र भारतमा निर्मित प्रविधिको प्रयोग गरी अस्पतालभित्र जलाउन मिल्ने र नमिल्ने फोहोरको वर्गीकरण गरिएको छ।

यसै गरी फोहोर बिसर्जन गर्ने तरिका, फोहोर संकलन गर्दा अपनाउनुपर्ने विधिलगायत विभिन्न विषयमा चिकित्सक, स्वास्थ्यकर्मी र कार्यालय सहयोगीहरूलाई तालिम समेत दिइएको बेनी अस्पतालका प्रमुख वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा. रोशन न्यौपानेले बताए। अस्पतालमा इन्सुलेटर जडानपछि फोहोर व्यवस्थापनमा सहज हुने बताउँदै उनले अब कर्मचारीदेखि चिकित्सकले उनीहरूले दिएको विधिअनुसार फोहोर व्यवस्थापनमा सघाउने बताएका छन्।

अस्पतालमा गुणस्तरीय सेवासँगै सफा र सुन्दर बनाउने अभियानमा चिकित्सकले मासिक रूपमा सरसफाई अभियान सञ्चालन गरेको र विभिन्न संघसंस्थाको सहयोग भए पनि फोहोर व्यवस्थापनमा समस्या देखिए हुँदा अब इन्सुलेटर प्रविधिको प्रयोगले फोहोर व्यवस्थापन सहज हुने डा. न्यौपानेको भनाइ छ। फोहोर बिसर्जनका लागि बनाइएको इन्सुलेटर नजिकै फोहोरको प्रकारका बारेमा जानकारी दिने सूचना, फोहोर राख्ने कोठासमेत बनाइएको छ।

जर्मनमा रहेको एक गैरसरकारी संस्था र बेनी अस्पतालको लागतमा निर्मित इन्सुलेटरमा आवश्यक पर्ने प्रविधिहरू जर्मन र भारतबाट ल्याइएको अस्पताल विकास समितिका अध्यक्ष माधवप्रसाद रेग्मीले बताए। उनले निर्माणकार्य सकिएको बताउँदै शनिबारदेखि प्रयोगमा आउने जानकारी दिए। अस्पतालका कर्मचारीलाई फोहोर संकलनदेखि बिसर्जनमा अपनाउनुपर्ने विधिका बारेमा तालिम दिइएकाले अस्पताल विकास समितिले नियमित अनुगमन र निगरानी गर्ने जनाएको छ।

अस्पतालबाट निस्कने फोहोरमा ६० देखि ८० प्रतिशतसम्म फोहोर संक्रमित फोहोर नहुने र बाँकी फोहोर संक्रमित हुने भएकाले पनि फोहोर बिसर्जनमा सचेत हुनुपर्ने इन्जिनियर मेक्सी मिलियनले बताए। उनले युरोपका अस्पतालमा चिकित्सक जस्तै महत्त्व फोहोर व्यवस्थापनलाई दिने गरेको बताउँदै अस्पतालभित्र देखिने फोहोरले बिरामीको अपमान गर्ने बताएका छन्।

बेनी अस्पतालमा काम गर्ने क्रममा अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीबाट अपेक्षा गरेभन्दा धेरै राम्रो सहयोग पाएको बताउँदै आगामी दिनमा पनि अस्पतालमा आवश्यकताअनुसार सहयोग गर्ने उनले प्रतिबद्धता जनाए। फोहोरलाई जैविक र अजैविक गरी छुट्इउने तरिकासमेत कार्यालय सहयोगीलाई जानकारी गराइएकाले सहज भएको अस्पतालको भनाइ छ। बेनी अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवासहित सरसफाई र जनचेतनामूलक कार्यलाई प्राथमिकतामा राखेको छ।

प्रतिक्रिया दिनुहोस्