वाम गठबन्धनले स्थानीय तहमा समस्या



 

गणेश घिमिरे, इलाम
स्थानीय तह निर्वाचनपश्चात् प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको संघारमा अहिले देशको राजनीतिक तालमेलको रापले तातेको छ। एकातिर आसन्न निर्वाचनका लागि वाम तालमेललाई बलियो शक्तिका रूपमा आकलन गरिएको छ भने अर्कोतर्फ यो शक्तिको ‘काउन्टरमा लोकतान्त्रिक गठबन्धन उभिदैछ।

पार्टी एकताको प्रारम्भिक चरणका रूपमा हेरिएका अहिलेको तालमेलले आशंका पनि जन्माउँदै लगेको छ। गठबन्धनका दलका कार्यकर्ता स्वयं अलमलमा छन्। ‘सूर्यमा कुन नैतिकताले मैले भोट हालुँ?’, माओवादीका एक स्थानीय कार्यकर्ताले भने– ‘बरु भोटै हाल्नु नपरोस्।’ एमालेका कार्यकर्ताबाट पनि उस्तै धारणा आउने गरेको। ‘हँसिया हथौडामा भोट हाल्नु परे म भोटै हाल्दिन,’ –एमालेका एक कार्यकर्ता भने।

केन्द्रीय तहबाट भएको वाम तालमेललाई जिल्ला तहका नेताले सहज वा बाध्यकारी अवस्थामा स्वीकार गरे पनि तल्लो तहका कार्यकर्ताले भने यसलाई स्वाभाविक मानेका छैनन्। स्थानीय तह निर्वाचनमा इलाममा हाबी भएको एमाले अब हुने निर्वाचनका लागि माओवादीसँग मिल्न जानु दुःखद भएको टिप्पणी स्थानीय कार्यकर्ताले गर्ने गरेका छन्। पार्टी एकीकरणको प्रारम्भिक चरणका रूपमा अहिलेको चुनावी तालमेललाई नेतृत्व तहले उल्लेख गरे पनि कार्यकर्ता तहमा नेतृत्वप्रति नै पत्यार छैन। उम्मेदवारका आकांक्षी नै गठबन्धनबाट भोट पाइनेमा विश्वस्त छैनन्। प्रदेशसभा उम्मेदवारका आकांक्षी एमालेका एक नेताले आफू उम्मेदवार भइहाले पनि आफूलाई गठबन्धबाट मत आउँछ भन्ने कुनै ग्यारेन्टी नभएको बताए।

प्रत्यक्षतर्फ चुनाव लड्दा तालमेलको सपोर्ट पूरै पाइनेमा आफू विश्वस्त नभएको नाम नखुलाउने शर्तमा एमालेका एक नेताले भने। यद्यपि स्थानीय तहमा एमालेको पक्षमा पहिलो मतपरिणाम आएको इलाममा तेस्रो शक्ति माओवादीसँग गठबन्धन हुनुले वाम गठबन्धनको विजय सुनिश्चित नै रहेको उनको बुझाइ छ। तर, गठबन्धन बने पनि फरक दलबाट पूरै सहयोग पाइएला भन्नेमा नेताहरू समेत विश्वस्त छैनन्। प्रतिनिधिसभा सदस्यका लागि दुई निर्वाचन क्षेत्र र ४ वटा प्रदेश भएको इलाममा वाम गठबन्धनको प्रभाव सकारात्मक बन्ने वा नबन्नेमा झनै ठूलो आशंका देखिएको छ। २ निर्वाचन क्षेत्र रहेको इलाममा एमालेले निर्वाचन क्षेत्र नम्बर १ नम्बरबाट पूर्व–प्रधानमन्त्री एवं एमालेका वरिष्ठ नेता झलनाथ खनाल र क्षेत्र नम्बर २ बाट पूर्व–सभामुख तथा एमाले नेता सुवासचन्द्र नेम्वाङको नाम सर्वसम्मतले सिफारिस भइसकेको छ।

माओवादीले पनि प्रतिनिधि सभाका लागि उम्मेदवारको सिफारिस गरे पनि वाम गठबन्धन भएपछि माओवादीले खनाल र नेम्वाङको नामलाई स्वीकारी सकेको एमाले स्रोतले जनाएको छ। प्रदेशसभाका लागि पनि एमाले र माओवादीले छुट्टाछुट्टै उम्मेदवारको नाम सिफारिस गरेर पठाएका छन्।

प्रतिक्रिया दिनुहोस्