बाजा बजाएर पुख्र्यौली धान्दै दलित बालक



 

दुर्गाप्रसाद शर्मा, पर्वत
पर्वतको फलेवास नगरपालिका–३ स्थित राम माध्यमिक विद्यालयको कक्षा ७ मा पढ्ने १४ वर्षीय नवीन दर्जीको दैनिकी विद्यालय जाने र बिहान–बेलुका बाजा बजाएर बस्नु हो। गाउँठाउँमा कसैकोमा बाजा बजाउनु परे उनी विद्यालय नगइकन बाजा टोलीमा व्यस्त हुन्छन्।

उमेरले सानै भए पनि उनी सबै बाजा बजाउँदै गाउँघरमा चाहिने बाजाको आवश्यकता पूरा गर्छन्। नवीन भन्छन्– ‘सानैबाट हजुरबाले बजाउन सिकाउनुभएको हो। बेलुका ४ बजेबाट ६ बजेसम्म सिकिन्छ। गाउँघरमा बजाउन परे हाम्रै समूहले सबै बाजा बजाउँछौं। दाइ र बा विदेशमा छन्। हजुरबा हिँड्नै सक्नुहुन्न। एकदिन बाजा बजाउँदा हामी सबै जनालाई २० हजार जति हुन्छ।’

नवीनजस्तै २० वर्षीय ईश्वर पनि बाजा बजाउनमा पोख्त छन्। उनले पनि धेरै मिहिनेत गरेर पाको पुस्ताबाट नै बाजा बजाउन सिकेका हुन्। पाका उमेरका अहिले बजाउन हिँड्न नसक्ने भइसकेका छन् भने, युवा रोजगारी अन्य कारणले गाउँमा छैनन्। आफ्नो पुख्र्यौैली धान्नकै लागि बाजा बजाउन हिँडेको बताउँदै ईश्वरले भने– ‘बाजा बजाउनुपर्ने हाम्रो संस्कार हो। बा, हजुरबाहरूले बजाउनुभो अहिले सानै उमेरमा हामीहरूले पनि बजाउन सिकिसकेका छां। हाम्रो पुख्र्यौली जोगाउन पनि हामीले सानैमा सिकेका हौं।’

विवाह, व्रतबन्ध, चौरासीलगायतका देवकार्यबाहेक निधन भएका मानिसको अन्तिम संस्कार गर्दा पनि बाजा बजाउने प्रचलन छ। उनीहरूले बाजा बजाउँदा यत्ति नै लिने भन्ने तोकिएको रेट नभए पनि नजिक र टाढा हेरेर औसतमा दैनिक २० हजार रुपियाँ लिने गरेका छन्। बाजा बजाउँदा मादक पदार्थ सेवन गर्नेहरूले निहुँ खोज्दा अलि नमजा हुने बताउँदै १५ वर्षीय वाद्यवादक सुशील परियार भन्छन्– ‘म दशमा पढ्छु, बजाउने काम आए साथीहरूसँगै हिँड्छु। अरू त ठीकै नै छ, रमाइलो पनि हुन्छ तर बाजामा नाच्दा रक्सी खाएकाले त्यसै निहुँ खोज्छन्, बाजा फाल्छन, कुटपिट गर्न खोज्छन्, त्यही भएर अली दुःख लाग्छ।’

शुभ कार्यमा बजाइने नौमती र पञ्चे बाजाको ठाउँ अहिले व्यान्डबाजा, अडियो र भिडियोले लिएका कारण पनि मौलिक पञ्चे र नौमती बाजा चेपुवामा छन्। गाउँघरमा सुख र दुःखमा बाजा चाहिँदा होस् वा नेताहरूले भोट माग्दा नै किन नहोस् बाजा सबैलाई चाहिन्छ। बाजा समूहका लागि चाहिने पोसाक र बाजा मर्मतका लागि कसैले नहेर्दा भने उनीहरूलाई खिन्न लाग्ने गरेको छ। पञ्चेबाजामा दमाहा, झ्याली, ट्याम्को, ढोलक, सहनाई, कर्नाल, नरसिंगा बजाइन्छ भने नौमतीमा सहनाई र दमाहा १⁄१ वटा बढी बजाइन्छ। रीतिरिवाज र संस्कृतिलाई जर्गेना गर्नु हामी सबैको दायित्व भएकाले बाजालाई जोगाइराख्न दलित मात्र नभई अन्य जातिले पनि सिको गर्नु आवश्यक छ।

प्रतिक्रिया दिनुहोस्