ग्रामीण पर्यटनको नयाँ गन्तव्य रक गार्डेन



नवराज पहाडी, लमजुङ

ग्रामीण पर्यटनको पर्याय बन्दै गरेको लमजुङमा पर्यटकलाई आकर्षण गर्नका लागि नयाँ–नयाँ गाउँहरू गन्तव्यस्थलका रूपमा विकसित हुँदै गरेका छन्। पछिल्लो चरणमा रक गार्डेन अर्थात् चट्टानको बगैंचासहित नयाँ पर्यटकीय गन्तव्य बन्दै छ लमजुङको उत्तरी क्षेत्रमा रहेको घेर्मुस्थित खानीगाउँ।

मस्र्याङ्दी गाउँपालिका–५ मा पर्ने खानीगाउँ अन्नपूर्ण चक्रीय पदमार्गमा पर्दछ। पर्यटकको मौसममा दिनमा १ देखि ३ सयसम्म बाह्य पर्यटक यो गाउँ हुँदै मनाङतर्फ लाग्दछन्। खानीगाउँका सामाजिक अभियन्ता कामसार्की गुरुङको सोचको उपज हो रक गार्डेन। युवाहरू विदेश पलायन भई गाउँ रित्तिँदै गरेको र महिलामात्र गाउँमा रहेका कारण खेतबारीमा खनजोत गर्ने मानिसको अभावमा ती बाँझा बनिरहेका खेतबारीसहित पशुपालनको पनि खस्कँदो अवस्थाले गुरुङलाई दिनहुँजसो पिरोल्न थाल्यो। त्यही क्रममा उहाँले नयाँ सोचका साथ आफ्नो गाउँसँगै रहेको बनेलीसहितको पहिरोको उपयोग किन नगर्ने भन्ने लाग्यो। बाल्यकालमा साथीहरूबीच लुकामारी खेल्ने त्यो ठाउँलाई उहाँले नयाँ नाम दिनुभयो– रक गार्डेन। रक गार्डेन पूर्वजहरु के–कसरी ओडारमा बसेका थिए भन्ने आजको पुस्तालाई स्मरण गराउनका लागि पनि उपयुक्त रहेको उहाँको तर्क छ।

समुद्र सतहबाट करिब १ हजार १ सय मिटर उचाइमा रहेको खानीगाउँ बेंसीशहर–मनाङ मोटरमार्ग नबन्दैको अवस्थामा अन्नपूर्ण चक्रीय पदमार्गको मुलबाटोमै पर्दथ्यो। अहिले बेंसीशहर–चामे मोटरमार्ग खुलैसँगै ताघ्रिङको रामबजारसम्म जिपमा यात्रा गरी मस्र्याङ्दी नदीमा रहेको झोलुङे पुल तरेर १० देखि १५ मिनेटको पैदल दूरीमा पुग्न सकिन्छ।

जम्मा २६ घर–परिवार रहेको खानीगाउँमा १६ घरका युवा खाडी मुलुकमा कामका लागि गएका छन्। बाँकी घरको कोही भारतमा त कोही नेपालकै विभिन्न स्थानमा रोजगारीका लागि गाउँबाहिर छन्। गाउँमा युवाहरू अपवाद संख्यामा मात्र भेटिने गर्दछन्। गाउँमा महिलाको मात्र संख्या देखिन्छ। यसले गर्दा खेतीपातीसहितका विभिन्न काममा समेत अप्ठेरो पर्ने गरेको स्थिति पटक–पटक भोग्नुपरेको तीतो अनुभव सुनाउनुहुन्छ कामसार्की। गाउँको त्यही कठिन स्थितिले कामसार्कीलाई चिन्तित बनायो र सोच्न थाल्नुभयो– ‘अरबको खाडीसहित गाउँ छाडेर गएका ती युवालाई कसरी गाउँमै फर्काएर उद्यम दिन सकिएला ? अनि, त्यो बाटो समाउन लागेका युवाहरूलाई कसरी रोक्न सकिएला।’ त्यही सोचमा डुब्दै गर्दा करिब डेढ वर्षअघि रक गार्डेनको चित्र आफ्नो मानसपटलमा आएको बताउनुहुन्छ कामसार्की।

त्यसपछि उहाँले २०७३ सालको साउनमा ‘रक गार्डेन संरक्षण तथा पर्यटन व्यवस्थापक समिति’ नामको एक संस्थाको जन्म दिनुभयो। त्यस समितिको अध्यक्ष आफैं हुनुभयो कामसार्की। यतिबेला उहाँ नेतृत्वको सोही समितिले खानी गाउँमा रक गार्डेनको सपनालाई साकार बनाउने प्रयासमा जुटिरहेको छ। करिब ७० रोपनी क्षेत्रफलमा निर्माण थालिएको उक्त रक गार्डेनलाई पूर्ण बनाउन ५ वर्षको समयावधि (अब ३ वर्ष) लाग्ने र खर्च २ करोड रुपियाँ लाग्ने अनुमान गरिएको कामसार्कीले बताउनुभयो। उहाँका अनुसार यसको निर्माणकार्यमा करिब ७० लाख खर्च भइसकेको छ, दाताहरुको खोजीमा पनि छौं, बजेटको आपूर्तिको सहजताबाट निर्माण अवधि निश्चित गर्नेछ।

रक गार्डेनभित्र ऐतिहासिक एक चमेरे गुफा र एक घेर्मुमा रहेका तत्कालीन घले राजाको घोडा बाध्ने तबेला (गुफा) रहेको छ। उक्त स्थलोमा द्यभल कभबथ अर्थात् गुफाको बसाइँस्थल निर्माण गरिने भएको छ। ४ वटा त्यस्ता स्थानमा एकैपटक ४–४ जनाका दरले १६ जनासम्म बस्न सक्ने बनाउने योजना कामसार्कीले सुनाउनुभयो। मस्र्याङ्दी नदीको नागबेली दृश्यसहित विभिन्न पहाडको हरियाली तथा चिप्ला हिमालको दृश्यले जो–कोहीको पनि मन सहजै लोभिन सक्छ। ढुंगाको चेपबाट भित्र–भित्रै पसेर अर्कोतर्फ निस्कन सकिने अर्थात् ओडारदेखि ओडारसम्म जाने ओडारमार्ग, ढुंगादेखि ढुंगासम्म पुग्न ढुंगामाथि ढुंगाकै पुलका करिब दर्जन स्थान छन्। केही नमुनाका काम पूरा भएको अहिले पनि त्यहाँ देख्न सकिन्छ। कतै–कतै एक ढुंगाबाट अर्को ढुंगामा जानका लागि फड्केको प्रयोग गरिएको छ।

उक्त रक गार्डेनभित्र विभिन्न प्रजातिका करिब ६० वटा वनस्पति पाइने। तिनको नेपाली, गुरुङ र अंग्रेजी भाषामा वैज्ञानिक नामसमेत नामाकारण गरेर राख्ने योजनामा रहेको र १५ वटा वनस्पतिको नामाकारणको बोर्डसमेत तयार गरिसकिएको टाँस्न मात्र बाँकी छ, अब त्यसमा थप ४० वटा वनस्पति थपेर एक सय वनस्पति बनाउने सोच रहेको उहाँले बताउनुभयो। सो स्थानमा मासिले निर्माण गरी पर्खाल उठाएजस्तो देखिने एक विशाल ढुंगा दुर्लभ सुनाखरीसमेत हुर्कंदै छ।

उक्त रक गार्डेनसहित गाउँमा पर्यटन व्यवस्थापन कार्यसमेत गरिने भएको छ। त्यसका लागि रक गार्डेनमा आउने पाहुनाले आफैं (इच्छुक) ले खाना पकाएर खान सक्ने गरी भान्साका लागि आवश्यक भाँडावर्तनको साथै खाद्य सामग्रीको समेत बन्दोबस्त गराइने भएको छ। उक्त रक गार्डेनमा ८ सय मिटर दूरीको घुम्ती पदमार्ग निर्माण गरिँदै छ, जसको परिक्रमा गर्न १ घण्टादेखि डेढ⁄दुई घण्टा उस्तैले तीन घण्टासम्मको बिताउन सक्नेछन्।

पहाडीको ठाउँ त्यो पनि ढुंगाको चट्टान युक्त थलोमा खानेपानीको अभाव छ। यहाँ घुम्न आउने पर्यटकलाई घुम्दाघुम्दै पानी पिउन मन भयो भने वा भोलिका दिनमा यो वनभोजको समेत गन्तव्यस्थल हुन सक्ने, नवयुवा–युवती तथा नवदम्पतीका लागि हनिमुनको गन्तव्य स्थलोसमेत बनाउने योजना छ रक गार्डेनलाई कामसार्कीले सुनाउनुभयो। त्यसैले उक्त थलोभित्र २ वटा खानेपानीका धारा निर्माण गरिँदै छ। त्यसका लागि ८ सय मिटरको दूरीबाट पाइप बिच्छ्याएर ल्याइएको खानेपानी योजना निर्माणको अन्तिम रचणमा रहेको रक गार्डेन संरक्षण तथा पर्यटन व्यवस्थापक समितिका सचिव सीता गुरुङले बताउनुभयो। उहाँका अनुसार सो स्थानमा एक ढुंगेधारा, शौचालय, बाथरुम, २ वटा वरपीपलका चौतारा, स्थानीय क्षेत्रमा रहेका तर हाल लोप भइसक्ने स्थितिमा पुगेका ढिकी, जाँतो, उखु र तोरी पेल्ने कोल, पानी घट्ट आदि समेत सो रक गार्डेनमा जाने पर्यटकले देख्न पाउने प्रबन्ध गर्न लागिएको छ। त्यहाँ रहेका ढुंगामाथि रेलिङ (बार) लगाइने भएको छ। त्यसको उद्देश्यचाहिँ त्यहाँ जाने कोटाकेटी तथा कुनै पनि व्यक्ति नलडून् भनेर बार बनाइने सीता बताउनुहुन्छ। उहाँका अनुसार त्यहाँ रहेका पशुपन्छीका लागि पिउने पानी सुविधाका लागि एक पोखरीको समेत निर्माण गरिएको छ।

त्यसबाहेक रक टावर, एक सामुदायिक खाजा घर, ढुंगामाथि फूल लगाउने कार्यक्रम रहेको रक गार्डेन संरक्षण तथा पर्यटन व्यवस्थापक समितिका उपाध्यक्ष श्रीमाया गुरुङले बताउनुभयो। उहाँका अनुसार पछिल्ला वर्षमा मानिसको मन ढुंगाजस्तै साह्रो, निर्दयी, क्रूर बन्दै गएको छ। त्यसो हुँदा ढुंगामाथि फूल फुलाएर मानिसलाई ढुंगाको जस्तो मन नबनाई फूलजस्तो कोमल, मानवतायुक्त मन बनाउनुपर्छ भन्ने सन्देश दिने लक्ष्यमा जुटेको खानीगाउँका बासिन्दा रहेको श्रीमाया बताउनुहुन्छ। उहाँका अनुसार एक दिनमा ६० जना पाहुनालाई राख्न सक्ने गरी पर्यटन व्यवस्थापनको कामसमेत सँगै अघि बढेको छ। अब बेंसीशहरबाट अन्नपूर्ण चक्रीय पदमार्गमा जाने पर्यटकका लागि खानीगाउँ एक⁄दुई दिनेको बस्ने स्थान बन्ने भएको छ। यहाँ पाहुनाका लागि सकेसम्म स्थानीय क्षेत्रमा उत्पादन भएका खाद्य वस्तुमात्र खुवाउने गरी यसको तर्जुमा गरिँदै छ। स्थानीय जातको कुखुराको अण्डा र मासु, सिस्नोको साग र धूलोको कडी, खोलेको साग, भटमास, बोडी आदिका परिकार खुवाइनेछ। यस्ता वस्तुको उत्पादनका लागि खानीगाउँबाहेका छिमेकीलाई पनि यस कार्यमा समेटिने योजना सुनाउनुभयो कामसार्कीले। उहाँसँग सिंगो घेर्मु र छिमेकी ताध्रिङ गाउँलाई समेत समृद्ध बनाउने योजना रहेछ।

ऐलेसम्म रक गार्डेनलाई राम्रो व्यवस्थित गर्न नसकेका कारणले गर्दा प्रचार गरिएको छैन। किन कि, कुनै पर्यटक यहाँ आएर लड्यो र उसलाई चोट लाग्यो भने त्यसको लगत सन्देश जान सक्छ। त्यसैले सुरक्षाको पूर्ण प्रत्याभूति नहुँदासम्म प्रचार नगरिएको कामसार्कीको भनाइ छ। उहाँका अनुसार पछिल्लो एक वर्षको अवधिमा पर्यटक र केही पत्रकार गरी अढाइ सयले यो रक गार्डेनको दृश्यावलोकन गरिसकेका छन्। तीमध्ये सय बढी बाह्य पर्यटकले यो थलोको अवलोकन गरिसको उहाँको भनाइ छ।
सोही क्रममा आउँदो डिसेम्बर र मार्च महिनामा हङकङबाट २५–३० जनाको स्वयंसेवक दल स्थानीय गंगामिलन माविको भवन निर्माण कार्यमा श्रमदान गर्न आउने भएको र उनीहरूको बसाइको प्रबन्ध यही रक गार्डेन क्षेत्र खानीगाउँमा गर्ने निश्चित भएको कामसार्कीले बताउनुभयो। उहाँका अनुसार उनीहरूको टिम दुवैपटक ५–५ दिन यहाँ बस्ने योजना छ। त्यसको चाँजोपाँजो मिलाउने काम लाइनअन नामक गैरसरकारी संस्थाका अध्यक्ष विनोद मानन्धरमार्फत भइरहेको कामसार्की बताउनुहुन्छ। उहाँले भन्नुभयो– ‘हामी रक गार्डेन निर्माणका लागि दाताको खोजीमा छौं।’

सो कार्यक्रमले खानी गाउँबासी युवाले मात्र नभई साविकको घेर्मु गाविस र छिमेकी ताघ्रिङ तथा बाहुनडाँडा गाविसका केही वडाबासीलाई समेत समृद्ध बनाउन सक्ने सपना देख्नुभएको छ गुरुङले। उहाँका अनुसार सि·ो घेर्मु गाविसलाई मह, कफी र सिस्नो, खोले साग, अलैंची, चिया आदिको भिलेजका रूपमा पनि विकसित गर्ने कार्यक्रम छ। अबको एक⁄डेढ वर्षपछि खानीगाउँ पुग्ने जुनकुनै पनि पर्यटक त्यो आन्तरिक होस् या बाह्य दुवैले कम्तीमा पनि आधा–आधा किलोका स्थानीय क्षेत्रमा उत्पादन भएको मह, कफी र सिस्नोको धूलोको प्याकेट सम्झनास्वरूप खरिद गरेर आफ्नो घर–परिवार तथा आफन्तजनलाई कोसेलीका रूपमा लाग्न सक्ने बनाउने योजनाअनुसार काम थालिएको सुनाउनुहुन्छ कामसार्की। यस प्रकार गाउँलाई समृद्ध बनाउने योजनाबद्ध ढंगबाट लाग्नुभएको छ उहाँ र उहाँको होस्टेमा हैंसे गर्न तम्सिरहेका छन् खानीसहितका आसपासका गाउँलेहरू। खानीगाउँमा रक गार्डेन हेर्न आउने पर्यटकले त्योसँगै गुरुङ संस्कृतिको मीठो स्वाद पनि चाख्न पाउने प्रबन्ध मिलाइने भएको छ।

समुद्र सतहबाट करिब १ हजार १ सय मिटर उचाइमा रहेको खानीगाउँ बेंसीशहर–मनाङ मोटरमार्ग नबन्दैको अवस्थामा अन्नपूर्ण चक्रीय पदमार्गको मुलबाटोमै पर्दथ्यो। अहिले बेंसीशहर–चामे मोटरमार्ग खुलैसँगै ताघ्रिङको रामबजारसम्म जिपमा यात्रा गरी मस्र्याङ्दी नदीमा रहेको झोलु·े पुल तरेर १० देखि १५ मिनेटको पैदल दूरीमा पुग्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्