राकमलाई बालमैत्री घोषणा गरिँदै



 

नेपाल समाचारपत्र
दैलेख
दैलेखको आठबीस नगरपालिका–४ राकमकर्णालीलाई बालमैत्री वडा घोषणा गर्ने तयारी गरिएको छ। बालमैत्री स्थानीय शासन र बाल अधिकारसम्बन्धी समग्र पक्षको स्थानीय तहमा प्रवद्र्धन गर्ने उद्देश्यले बालमैत्री वडा घोषणा गर्ने तयारी गरिएको हो।

स्थानीयस्तरका सबै क्षेत्र र तहका निकायको नीति, संरचना, प्रणाली र कार्य प्रक्रियामा बालबालिकाको अर्थपूर्ण सहभागिता गर्न बालमैत्री वडा घोषणा गर्न लागिएको हो।

बाल बचाऊ, बाल संरक्षण, बाल विकास र अर्थपूर्ण बाल सहभागितासँग सम्बन्धित ३९ वटा सूचक पूरा गरिएमा गाउँपालिका वा वडालाई बालमैत्री घोषणा गर्न सकिने प्रावधान बालमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधिमा व्यवस्था छ। बालमैत्री घोषणा गर्न आवश्यक पर्ने सम्पूर्ण सूचक पूरा भइसकेकाले राकमकर्णालीलाई बालमैत्री वडा घोषणा गर्ने अन्तिम तयारी भएको आठबीस नगरपालिकाका कार्यकारी अधिकृत मातृका भट्टराईले बताए।

‘राकमकर्णालीमा स्थानीय तहका सबै संरचना बालमैत्री भएका छन्’, उनले भने– ‘साबुनपानीसहित विद्यालयमा छात्रछात्राका लागि अलग–अलग शौचालयको व्यवस्था छ।’ वडामा बाल शिक्षामा अध्ययन गर्ने बालबालिकालाई पिफर्म र कार्पेटको व्यवस्था, बालश्रम र बालविवाहमा न्यूनीकरण, विद्यार्थी संख्याको आधारमा शिक्षकको व्यवस्था रहेको भट्टराईले बताए।

‘कार्यविधिमा व्यवस्था गरिएअनुसार बालबालिकाको लागि १५ प्रतिशत बजेट वडा तहबाट विनियोजन गरिएको छ। बालबालिकाको लागि लगानी योजना बनाउन लागेका छौं’, उनले भने– ‘यसले बालबालिकाको हक, अधिकारलाई सुनिश्चित गर्न सघाउ पुग्ने छ।’ पहिलो चरणमा नगरपालिकालाई नै घोषणा गर्न नसकेपनि वडा हुँदै समग्र नगरपालिका घोषणा गर्ने तयारी रहेको आठबीस नगरपालिका दैलेखका नगर प्रमुख खड्गराज उपाध्यायले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्