सिफारिसमा परेका दलबलसहित काठमाडौंतिर



 

नेपाल समाचारपत्र
बाँके
काठमाडौं पुगेर खिचेको उम्मेदवार नेताहरूको समूहगत फोटोमा नेकपा एमाले, बाँकेका उपाध्यक्ष निरक गुरुङले कमेन्ट गर्नुभयो, ‘नेता कमरेड टिकट पक्का छ। सबैलाई बधाई।ु

राष्ट्रिय जनमोर्चा नेपाल, बाँकेका उपाध्यक्ष कृष्णराज पाण्डेले स्टाटस लेखे,‘हैट बाँकेमा आजभोलि कांग्रेस, एमाले, माओवादीका साथी कोही छैन हो, सबै टिकटको भिक्षा माग्न सानेपा, पेरिसडाँडा, धुम्बाराई गएको सुनिन्छ। मेरो सुझाव भिक नै माग्नु छ भने बागेश्वरी मन्दिर, मस्जिद, गुम्बा, चर्च नेपालगन्जमा छ हो।ु यी दुई कमेन्टले नै थाहा हुन्छ कि नेपालगन्जमा यतिबेला प्रतिनिधि र प्रदेश सभामा प्रत्यक्ष वा समानुपातिकमा सिफारिस परेका नेताहरू कोही छैनन्। सिफारिसमा परेका नेताहरू दलबलसहित काठमाडौं पुगेका छन्।

हुन त एमाले, बाँकेका उपाध्यक्ष गुरुङ पनि क्षेत्र नं. २ बाट प्रदेशसभाका लागि सिफारिसमा परेका छन् भने जनमोर्चाका नेता पाण्डेको नाम पनि काठमाडौं पुगेको छ। क्षेत्र नं. २ को ‘कु बाट प्रदेशसभाको उम्मेदवार सिफारिसमा भएको आन्तरिक चुनावमा १२ मा १२ नै मत ल्याएका गुरुङ ‘नेताहरूले मूल्यांकन गरेर टिकट दिने भएकाले काठमाडौंमा जिउ, हजुरी गर्न नगएकोु बताउनुहुन्छ। उहाँले भन्नुभयो, ‘पार्टीको उपाध्यक्ष हुँ, आन्तरिक चुनावमा सतप्रतिशत मत ल्याएर सिफारिस भएको छु। अब टिकट दिंदा नेताहरूले मूल्यांकन गर्ने हो।ु जनमोर्चाका पाण्डेले पनि जनप्रिय नेताले टिकट पाउनुपर्नेमा नेताहरूको वरिपरि घुम्नेले टिकट पाउने गलत परम्पराले सबैजना केन्द्रतिर हानिएको बताउनुभयो।
यतिबेला नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्रको पार्टी कार्यालय सुनसान छ। उम्मेदवार नभए पनि काठमाडौं पुगेका एक नेताले टेलिफोनमा भने, बाँकेका सबै पार्टीका बहुमत जिल्ला कमिटि यतिबेला सुन्धारामा बसेको छ।ु

टिकट हात पार्न सबैजना ठूला नेताको चाकरी गर्न पुगेका छन्। ‘सुमेरु पर्वत त घुम्न आउनुपर्यो नि’ –एक नेताले व्यंग्य गरे। सिफारिसमा परेकाहरू टिकटका लागि गएका मात्रै छैनन्, यो वा त्यसलाई फुत्काउनका लागि अरू नेताहरू पनि काठमाडौं हानिएका छन्।
आफूले नपाए पनि आफ्ना मान्छेले टिकट पाओस् भनेर जिल्लाका नेताहरू शीर्षस्थको दैलोमा पुगेका छन्। एमाले र माओवादी केन्द्रबीचको गठबन्धनमा जिल्लाको कुन क्षेत्र कसलाई पर्ने हो भन्ने खुल्दुली मेटाउन पनि नेताहरू काठमाडौं पुगेका छन्। गठबन्धन हुँदा आफू सुरक्षित हुन्छ कि हुँदैन भन्ने सबै सिफारिसमा परेका नेताहरूको चासो रहेको छ। कांग्रेसका नेताहरू पनि आफू सुरक्षित हुन दलबलसहित काठमाडौं पुगेका छन्। तीन निर्वाचन क्षेत्र कायम गरिएको बाँकेमा ६ जना प्रदेशमा गरी नौ जना उम्मेदवार हुन्छन्। नौ जनामा पर्नका लागि सबै पार्टीका नेताहरू काठमाडौं पुगेका छन्। त्यस्तै, जिल्लाबाट समानुपातिकमा लम्बेतान नाम सिफारिस भएको छ।

समानुपातिकमा सिफारिस परेकाहरू पनि माथिल्लो लिस्टमा नाम पार्न दौडधुप गरेका छन्। कांग्रेसका युवा नेता टेकनारायण भूसालले यतिबेला बाँकेका जिल्ला कमिटिका अधिकांश नेता काठमाडौं आएको बताउनुभयो। ‘मलाई त जिल्ला कमिटि नै बहुमत यतै छ जस्तो लाग्छ, काठमाडौंमा रहेका भूसालले भन्नुभयो, बाँकेलगायत देशभरका सिफारिसमा परेका नेताहरूले सुन्धारा खचाखच छ।

बाम गठबन्धनले गर्दा चुनावी आकडामा पछि देखिएको बाँके कांग्रेसका नेताहरू तत्कालीन पार्टी सभापति एवं प्रधानमन्त्री सुशील कोइरालाको क्षेत्र नेपालगन्जबाट टिकट पाएमा अलि बलियो हुने आकलनका साथ केन्द्रमा होमिएका छन्। तालमेल, असन्तुष्ट, आफू र आफू अनुकूलका नेतालाई टिकटलगायतका एजेन्डामा यतिबेला नेताहरू काठमाडौं पुगेर आ–आफ्ना गुटका नेताको शरणमा परेका छन्।

समानुपातिकको २९ गतेभित्र र प्रत्यक्षको पनि चाँडै नै टिकट फिक्स हुने भएकाले जिल्लाबाट गएका कुन नेताको मुहारमा खुसीयाली आउने हो त्यो भन्न सकिने अवस्था छैन।

प्रतिक्रिया दिनुहोस्