मुहान सुक्न थालेपछि स्थानीय बासिन्दा समस्यामा



 

राम धामी, डडेल्धुरा
डडेल्धुरा जिल्लाको भित्रिमधेस क्षेत्र परशुराम नगरपालिका र आलिताल गाउँपालिकाअन्तर्गत पर्ने चुरे क्षेत्रका बस्तीमा पानीका मुहान सुक्न थालेपछि स्थानीय बासिन्दा खानेपानीको जोहो गर्न निकै समस्या भोगिरहेका छन्।

खानेपानीको पर्याप्त सुविधा नभएका चुरे क्षेत्रका दर्जनौं बस्तीमा कुवा, पँधेरो र पोखरीबाट पानी उपभोग गरिन्छ। वर्षौदेखि खानेपानी उपभोग गर्दै आएका पानीका मुहान सुक्न थालेपछि स्थानीयमा खानेपानीका लागि हाहाकार हुने गरेको छ। वर्षात्मा खानेपानीको समस्या खासै नहुने भए पनि वर्षात् सकिएसँगै खानेपानीका मुहान सुक्न थालेकाले चरे क्षेत्रका बासिन्दा काकाकुल बन्ने अवस्था रहेको परशुराम नगरपालिका–७ बड्डीमलासका गोरखबहादुर बोहराले बताए।

चुरे क्षेत्रको प्राचीन बस्ती मानिने बडीमलासमा मात्रै नभई परशुराम नगरपालिकाअन्तर्गत रहेका कसान, भूमिथला, काजीगडा, पीपलकोट, रैचेना, जामिरगडा, बस्न्यौटा, दधिगडा, गैरीखान, शाहीसौन, आइडुंग्रा, पुरानोपानी, डाडी, कोइराली, स्वाखान, पलगडीलगायत चुरे क्षेत्रका दर्जनौं बस्तीमा खानेपानीका मुहान सुक्दै गएको स्थानीय बताउँछन्। यसै गरी आलिताल गाउँपालिकाअन्तर्गतका नाउली, खिन्नेभाडी, दोबाटा, चाई, मेलगाँजा, झरकाँडा, माग्नेगाउँलगायतका बस्तीमा खानेपानीको समस्या देखिन थालेको छ।

चुरे क्षेत्रका अधिकांश बस्तीमा कुवा र पोखरीबाट खानेपानी उपभोग गर्दै आएका स्थानीय खानेपानीको मुहान सुक्दै गएपछि निकै चिन्तित बन्दै गएका छन्। ‘कतिपय बस्तीमा विभिन्न संघसंस्थाले आकासेपानी संकलन गरेर खानेपानी आपूर्तिमा सघाउने किसिमका योजना सञ्चालन गरेका छन्’, आलितल गाँउपालिकाका अध्यक्ष बलबहादुर गुरुङले भने– ‘आकासे खानेपानी योजना लागू भएका बस्तीमा वर्षात्को पानी संकलन गरेर खानेपानीको आपूर्ति भइरहेको छ तर, वर्षात्मा संकलन गरिएको पानी वर्षभरि उपभोग गर्न प्रयाप्त हुँदैन।’ स्थानीय बासिन्दाका अनुसार कमजोर भू–बनोट र बलोटै माटो रहेको चुरे पर्वत शृंखला क्षेत्रमा व्यापक वन विनाश हुन थालेपछि खानेपानीका मुहान सुक्ने समस्या देखिएको हो।
‘बस्तीमा रहेका कुवामा पानी सुक्ने भएकाले हिउँदमा खानेपानी आपूर्ति जटिल बन्ने गरेको छ।’ आलिताल गाँउपालिकाको चुरे क्षेत्र नाउली गाउँका अगुवा टेकबहादुर रोक्कामगरले भने– ‘रातभर जाग्राम बसेर एक गाग्री कुवाको पानी भर्न पालो पर्खनुपर्छ।’

चुरे क्षेत्रमा रहेका सामुदायिक वनले वर्षेनी ठूलो मात्रामा काठ बिक्री गर्ने र वन अतिक्रमण गरेर बस्ती बसाउने प्रवृति बढ्दै गएपछि चुरे क्षेत्रमा वन विनाश तीव ्रभएको हो।

वन विनाशका कारण चुरे क्षेत्रमा रहेका पानीका मुहान सुक्ने र भासिएर गहिरिने भएकाले पानीका मुहान सुक्ने समस्या उत्पन्न भएको जिल्ला भू–संरक्षण कार्यालय, डडेल्धुराका जिल्ला भू–संरक्षण अधिकृत उद्धवबहादुर घिमिरे बताउँछन्।

प्रतिक्रिया दिनुहोस्