हेलिकोप्टर प्रयोग गर्न आयोगको स्वीकृति लिनुपर्ने



 

नेपाल समाचारपत्र
काठमाडौं
निर्वाचन आयोगले प्रधानमन्त्री सरकारी वा निजीरूपमा हेलिकोप्टर प्रयोग गर्न आयोगको पूर्वस्वीकृति लिनुपर्नेसहित सरकारलाई २७ बुँदे निर्देशन दिएको छ। मंसिर १० र २१ हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन स्वच्छ, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन भन्दै आयोगले सो निर्देशन दिएको हो। प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवको अध्यक्षतामा बसेको वैठकले मुख्य सचिव राजकिशोर क्षेत्रीमार्फत् सो निर्देशन दिएको हो।

सरकारसम्बद्ध निर्देशनमा आयोगबाट भएका निर्णय र अन्तर्गतका कार्यालयबाट भएका पत्राचारलाई नेपाल सरकारका सम्पूर्ण निकाय, सार्वजनिक संस्थान, विकास समिति, स्थानीय निकाय, शैक्षिक संस्थानले उच्च प्राथमिकता दिई तत्काल कार्यान्वयन गर्ने, निर्वाचन आचारसंहिताको पूर्णरूपमा पालना गर्न र गराउने रहेका छन्।

त्यसैगरी सरकारका सम्पूर्ण निकाय, सार्वजनिक संस्थान, विकास समिति, स्थानीय तह, अनुदानमा सञ्चालित विश्वविद्यालय र सामुदायिक विद्यालयका शिक्षकको अद्यावधिक र तथ्यपरक विवरण एक हप्ताभित्र जिल्लाको जिल्ला निर्वाचन कार्यालयमा पठाउने र आयोगका पदाधिकारीलाई आवश्यकताअनुसार सामग्री ढुवानीका लागि मोटर, हवाइजहाज र हेलिकोप्टरको सुविधा उपलब्ध गराउने पनि निर्देशनमा रहेको छ।

निर्वाचन सम्पन्न जनशक्ति र बजेट उपलब्ध गराउने पहिलो चरणका लागि निर्वाचन हुने जिल्लाका लागि मंसिर ४ गतेदेखि र दोस्रो चरणमा निर्वाचन हुने जिल्लाका लागि २०७४ साल मङ्सिर १५ गतेदेखि मतदान सम्पन्न नभएसम्म विद्यालयमा बिदा दिने पनि निर्देशनमा भनिएको छ।
त्यसैगरी सुरक्षा सम्बद्ध निर्देशनमा आयोग र अन्तर्गत सबै कार्यालय र निर्वाचन सामग्री भण्डारस्थलको सुरक्षा व्यवस्था मिलाउने, आयोगका पदाधिकारी तथा कर्मचारी, निर्वाचन अधिकृत, पर्यवेक्षकलगायत अन्य कर्मचारी, उम्मेदवार, दल तथा मतदाताको सुरक्षाको उचित प्रबन्ध मिलाउनेलगायत रहेका छन्।
त्यसैगरी कानुनबमोजिम हातहतियार लिन पाउनेबाहेक अन्य कुनै पनि व्यक्तिले कुनै प्रकारको बिस्फोटक पदार्थ वा विषालु पदार्थ वा लाठी, भाला, खुकुरी, बन्दुक, पेस्तोल वा त्यस्तै प्रकारका अन्य हातहतियार लिएर हिँड्न, प्रदर्शन गर्न, प्रयोग गर्न वा गराउन नपाउने गरी नियन्त्रणको व्यवस्था मिलाउन पनि निर्देशनमा भनिएको छ।

कानुनबमोजिम अनुमति प्राप्त गरेका व्यक्तिका नाममा रहेको बन्दुक, पेस्तोल जस्ता हातहतियार सकंलन गराइ निर्वाचन अवधिभर सम्बन्धित जिल्ला प्रशासन कार्यालयको मातहतमा राख्ने व्यवस्था मिलाउने, निर्वाचन अवधिभर अवैध मदिरा तथा मदिराजन्य पदार्थको उत्पादन र बिक्रीबितरण कार्यमा पूर्ण बन्देज लगाउने गरी विशेष व्यवस्था पनि निर्देशन दिइएको छ।

प्रधानमन्त्रीले सरकारी कामको सिलसिलामा सरकारी हेलिकप्टर प्रयोग तथा राजनीतिक कामका सिलसिलामा निजी हेलिकप्टर प्रयोग गर्दा आयोगको पूर्वस्वीकृति लिएर मात्र प्रयोग गर्ने, प्रधानमन्त्री र मन्त्री प्रमुख आतिथ्यता नहुने गरी कार्यक्रम सञ्चालन गर्न पनि निर्देशनमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्