विवाह गरेलगत्तै बेहुला बेपत्ता



 

नेपाल समाचारपत्र
अर्घाखाँची
अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नम्बर ५ मैदानका ३० वर्षीय बेहुला हरिप्रसाद भट्टराई विवाह भएको एक साता नबित्दै बेपत्ता भएका छन््।

विवाह गरेलगत्तै बेहुला बेपत्ता भएपछि दुलहीसहित घरपरिवार र आफन्त चिन्तित बनेका छन्। सोही गाउँपालिका–४ पटौटीकी २१ वर्षीय विष्णु घिमिरेसँग असोज १६ गते विवाह गरेका भट्टराई असोज २२ गते दिउँसो सन्धिखर्कबाटै बेपत्ता भएका हुन्। निमावि तह गाणित विषयका स्थायी शिक्षकका रूपमा भट्टराई नवलपरासीको डेढ मावि डेढगाउँमा कार्यरत थिए। उनी त्यस विद्यालयमा पनि नपुगेको विद्यालयले जानकारी दिएको छ।

यत्तिका दिन बित्दा पनि जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले खोजतलास नगरेको उनका दाजु रेणुकान्त भट्टराईले गुनासो गरे। ‘हामीले खोजतलासका लागि त्यस कार्यालयमा उजुरी दिएको पनि यत्तिका दिन भइसक्योु, भट्टराईले भने– ‘प्रहरीले फेला पार्न नसक्नुले अनुसन्धान फितलो भएको अनुभूति गरेका छौं।

यसका बारेमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी एकनारायण कोइरालाले आफू मातहतका सम्पूर्ण एकाइका प्रहरी व्यापक रूपमा परिचालित गर्दा पनि फेला पार्न नसकेको प्रतिक्रिया दिए। उनले उनको कल डिटेलबाट पनि अनुसन्धान भइरहेको बताए।

त्यस दिन दिउँसो १२ बजे र ३ मिनेटको समयमा सन्धिखर्कको एसियन लाइफ इन्सुरेन्स कम्पनीमा किस्ता बुझाउन पुगेको सीसीटीभीमा समेत देखा परेको र किस्ता तिरिसकेपछि रसिद लिन पछि आउँछु भनेर त्यहाँबाट बाहिरिएको बेपत्ता भट्टराईका दाजुले बताए ।

त्यसपछि राष्ट्रिय वाणिज्य बैंक सन्धिखर्कबाट ५० हजार निकालेर छिमेकी साथीलाई बुझाएको र साथीले उक्त रकम बुझेपछि करिब १ बजेतिर फोन गर्दा स्वीचअफ भएको पाएपछि परिवारजनलाई खबर गरेको बताइएको छ। साथी घर फर्किएका छन्।

उनकी बेहुली विष्णु घिमिरेका अनुसार त्यस दिन १० बजेर ४० मिनेट जाँदा उनले श्रीमानलाई फोन गरेकी थिइन्। ‘मैले फोन गरें, उहाँले उठाउनुभयो र अहिले बाटैमा छु, सन्धिखर्क गएर मैले गर्छु फोन भन्नुभएको थियो, त्यसपछि हाम्रो फोन हुन सकेनु, घिमिरेले भनिन्– ‘एक महिनाअघि मात्र उहाँसँग चिनजान भएको थियो, त्यसअघि मैले उहाँलाई देखेकी पनि थिइनँ अस्ति आफन्तले मागेर विवाह भएको हो, आफुहरूबीच विवाहका दिनदेखि निकै सुमधुर सम्बन्ध थियो।

‘तिहारको भाइटीकासम्म नवलपरासी विद्यालयमा जान्न, टीकाको अर्काे दिन कात्तिक ५ गते तिमीलाई लिएर जान्छु र उतै बसौंला भन्नुभएको थियोु, –उनले भनिन् ।

यस घटनालाई परिवारका सदस्यहरूले निकै रहस्यमय रूपमा लिएका छन्। केही अनुमान नै गर्न नसकिएको परिवारको सबै सदस्यको भनाइ छ। उनका आमा बुबा र भाइबहिनीहरू पनि चिन्तित छन्। बेपत्ता शिक्षक भट्टराईलाई कुनै बिमार नभएको, साथमा पैसा पनि धेरै नभएको र कसैसँग दुश्मनी पनि नरहेको उनका दाजुले बताए। परिवारमा आशंकाको अर्को पाटो कसैले अपहरण गर्यो कि ? भन्ने छ। परिवारजनले खोज तलासका लागि सबै सञ्चार माध्यम, प्रहरी प्रशासन र आम नागरिकसँग अपिल गरेका छन्।

प्रतिक्रिया दिनुहोस्