जुवा खेलिरहेका ७ पक्राउ



 

म्याग्दी, (नेस)
म्याग्दीको सदरमुकाम बेनीबजारमा शनिबार जुवातास खेलिरहेका ७ जना पक्राउ परेका छन्। बेनी नगरपालिका–८ पिपलचोकस्थित एक होटेलबाट जुवा खेलिरहेको अवस्थामा ७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।

चाडपर्वलाई लक्षित सुरक्षा योजनाअन्तर्गत होटलहरूको चेकजाँच गर्ने क्रममा जुवा खेल्दै गरेका ७ जनालाई पक्राउ गरिएको म्याग्दीका प्रहरी नायव उपरीक्षक बशुन्धरा खड्काले जानकारी दिनुभयो। पक्राउ परेकाहरूको अनुसन्धान भइरहेको छ भने बजारका अन्य जुवाघरको समेत खोजी गरिएको उहाँले बताउनुभयो।

पक्राउ गरिएकाको नाम भने सार्वजनिक गरिएको छैन। जुवातासमा संलग्न भएकालाई जुवा ऐनअन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाइने प्रनाउ खड्काको भनाइ छ। बजारमा चाडपर्वसहित अन्य समयमा समेत जुवातास खेलाउने ठाउँको सुराकीको आधारमा प्रहरीले निगरानी बढाइरहेको जानकारी दिएको छ।

प्रहरीले बेनीबजारलाई जुवातासमुक्त बनाउने अभियानअन्तर्गत केही महिना अगाडि एक महिलासहित ८ जनालाई पक्राउ गरेर कारबाही गरेको थियो। प्रहरीले निगरानी बढाएपछि घरको च्यानलगेट बन्द गरी माथिल्लो तलामा जुवातास खेल्ने गरिएको प्रहरीले बताएको छ।

पेशेवर जुवाडे पक्राउ पर्ने डरले तास र पैसा हुने ठाउँमा गोटीको प्रयोग समेत गर्ने गरेकाले बेनीमा आधुनिक शैलीको जुवाघर फेला परेपछि प्रहरीले सादा पोसाकमा प्रहरी परिचालन गरेको छ। बेनीमा चाडपर्वमा हजारौं रूपियाँको खाल जम्ने गरेको बताइन्छ।

प्रतिक्रिया दिनुहोस्