संसदको अन्तिम बैठक आज बस्दै, रातिदेखि संसद स्वतः विघटन हुने



नेपाल समाचारपत्र, काठमाडौं ।

संविधान जारी गरी संविधानसभाबाट व्यवस्थापिका संसदमा रुपान्तर भएको व्यवस्थापिका संसदको अन्तिम बैठक आज बस्दैछ। संविधानसभाले ३ असोज २०७२ मा संविधान जारी गरेको थियो।

शनिबार मध्यरातदेखि अवधि समाप्त हुने संसदको शुक्रबारको बैठकलाई नै अन्तिम बनाउने भनिएपनि शनिबार सबै दलका शीर्ष नेताले सम्बोधन गर्ने भएपछि आज शनिबार अन्तिम बैठक बस्न लागेको हो।

बैठकमा सांसदलाई खर्च उपलब्ध तथा चियापान कार्यक्रमको आयोजना गरिने संसद सचिवालयले जानकारी दिएको छ ।

संविधानका व्यवस्थापिका संसदको म्याद आगामी माघ ७ गते सम्म रहेपनि मंसीरमा प्रतिनिधिसभा निर्वाचन हुने भएपछि विघटन हुन लागेको हो । प्रतिनिधिसभा निर्वाचन मनोनयन हुने अघिल्लो दिन संसद स्वत विघटन हुने संवैधानिक व्यवस्था रहेको छ।

निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनकालागि समानुपातिक उम्मेद्वारको बन्दसूचि बुझाउने दिन असोज २९ गते तोकेको छ। वर्तमान संसद सुरुमा संविधानसभामार्फत गठन भएको थियो।

पहिलो संविधानसभा संविधान जारी नगरी विघटन भएपछि राजनीतिक सहमतिमा दोस्रो संविधानसभाको निर्वाचन भएको थियो।

प्रतिक्रिया दिनुहोस्