नेपाल हङकङसँग पराजित, विश्वकप छनोट खेल्न कठिन



 

नेपाल समाचारपत्र
काठमाडौं
विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतको छैटौं चरणको हङकङविरुद्धको पहिलो खेलमा नेपाल पराजित भएको छ।
शुक्रबार हङकङमा भएको अवे खेलमा नेपाल ८३ रनको फराकिलो अन्तरले हारेको हो। जबकि नेपालले घरेलु टोलीबाट १ सय ९५ रनको लक्ष्य मात्रै पाएको थियो। यो हारले नेपालको आगामी सन् २०१९ विश्वकपअन्तर्गत छनोट चरणमा सहभागि हुन ज्यादै कठिन बन्न पुगेको छ। नेपालका लागि हङकङलाई पन्छाउनुपर्ने नै थियो। तर हङकङका बलरले नेपालका ब्याटसम्यानलाई अंकुश लगाइदिँदा नेपाल ३४ दशमलव ५ ओभरमा अलआउट हुँदै १ सय ११ रनमै सीमित भयो।

यो नतिजापछि नेपाल ११ खेलबाट ८ अंकसहित छैटौं स्थानमा रहन बाध्य भएको छ। हङकङ भने यो जितबाट ११ खेलबाट १३ अंक जोडेर चौथो स्थानमा उक्लेको छ। केन्या १२ अंकसहित पाँचौं स्थानमा झरेको छ भने शीर्ष तीनमा क्रमशः नेदरल्यान्डस् (१८ अंक), पपुआ न्युगिनी (१६ अंक) र स्कटल्यान्ड (१५ अंक) छन्। नेपालले अब आइतबार हङकङसँग दोस्रो खेल खेल्दै छ। जुन खेलमा हारेमा नेपालको शीर्ष चारमा आउने सम्भावना पनि समाप्त हुनेछ।

नेपालको ब्याटिङ चल्न नसकेपछि नै पराजय हुन पुगेको थियो। नेपालका लागि ओपनिङ साझेदारी सधैं फ्लप हुने गर्छ। यहाँ पनि ओपनिङ चलेन। सागर पुन मात्र ३ रन बनाएर पाँचौं ओभरमा आउट भएका थिए। त्यसपछि कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले सोचेसरह राम्रो ब्याटिङ गरे। उनीहरूले दोस्रो विकेटका लागि ३६ रनको साझेदारी गरेका थिए। तर ज्ञानेन्द्रको विकेट झरेपछि नेपालको दुर्दशा शुरू भएको थियो। उनी २१ रनमा आउट हुँदा नेपाल १३ ओभरमा २ विकेटको क्षतिमा ४७ रनमा थियो।

दीपेन्द्र सिंह ऐरीको ब्याटबाट केवल तीन रन बन्यो। उनको स्थानमा आएका आरिफ शेख आक्रामक देखिएका थिए। उनको ब्याट चल्दै थियो तर अर्को इन्डमा रहेका कप्तान पारस २६ रन बनाएर आउट भएपछि नेपालको झिनो आशा समाप्त भइसकेको थियो। पारस बोल्ड भएपछि आरिफ पनि २३ रनमै पवेलियन फर्किएका थिए। विकेटकिपर ब्याटसम्यान विनोद भण्डारीले १८ रनको योगदान दिए भने सोमपाल कामीले ११ रन बनाएका थिए। हङकङका दायाँ हाते अफ ब्रेक बलर इशान खानले ५ विकेट लिए भने अजिज खानले ३ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै १ सय ९४ रन बनाएको थियो। ओपनर जेमी एटकिन्सनले हङकङका लागि सर्वाधिक ७६ रन बनाएका थिए। नेपालका लागि सन्दीप लामिछानेले ३ तथा करण केसी र वसन्त रेग्मीले समान २ विकेट लिए भने सुसन भारीले १ विकेट लिए।

प्रतिक्रिया दिनुहोस्