राणा दिदीबहिनीलाई उपाधि



राणा दिदीबहिनी फाइनलमा प्रतिस्पर्धा गर्दै । तस्वीरः उजोल डंगोल⁄काठमाडौं

 

नेपाल समाचारपत्र
काठमाडौं
दोस्रो ललितपुर जिल्ला राष्ट्रिय खुला लन टेनिस प्रतियोगिताअन्तर्गत महिला डबल्स स्पर्धाको उपाधि माहिका राणा र मायंका राणाको जोडीले जितेको छ। ललितपुरको सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा शुक्रबार भएको महिला डबल्स स्पर्धा फाइनलमा अभिलाषा विष्ट र गंगा शर्माको जोडीलाई ६–३, ७–५ सेटमा हराउँदै राणा दिदीबहिनीले उपाधि जितेका हुन्।

त्यस्तै पुरुष एकलतर्फको सेमिफाइनल खेल जित्दै कमल भण्डारी र सन्तोष खत्रीले पनि फाइनलमा स्थान पक्का गरेका छन्। कमलले प्रणव खनाल रिटायर्ड हर्ट भएपछि सोझै फाइनलमा पुगेका हुन्। उक्त खेलमा कमल ७–६, ४–१ को अग्रतामा थिए। अर्को सेमिफाइनलमा सन्तोष खत्रीले प्रदीप खड्कालाई ६–३, ६–३ ले हराउँदै फाइनलको यात्रा तय गरे। यसअघि बिहीबार भएको महिला सिंगल्सको सेमिफाइनल खेल जित्दै मायंका राणा र प्रेरणा कोइरालाले उपाधि भिडन्त तय गरिसकेका छन्।

प्रतियोगिताको पुरुष डब्लसको सेमिफाइनलमा भने सन्तोष खत्री र आत्माराम कार्कीको जोडी र कमल भण्डारी र महेश श्रेष्ठको जोडी विजयी हुँदै उपाधि भिडन्त पक्का गरेका छन्। सन्तोष र आत्मारामको जोडीले मानबहादुर कटवाल र जीवन घिमिरेको जोडीलाई ६–४, ६–४ को सेटमा हराउँदा कमल र महेशको जोडीले पनि श्रीराम मगर र प्रणव खनालको जोडीलाई ७–५, ६–२ को सेटमा पराजित गर्दै फाइनल प्रवेश गरेका हुन्।

प्रतियोगिताअन्तर्गत शनिबार पुरुष सिंगल्स र डबल्स तथा महिला सिंगल्स स्पर्धाका फाइनल खेलहरू हुनेछन्। प्रतियोगिताको सिंगल्सतर्फ प्रथम हुने खेलाडीले नगद २५ हजार पुरस्कार प्राप्त गर्नेछ भने दोस्रो र तेस्रो हुनेले क्रमशः १५ हजार र सात हजार पाउनेछ। यसैगरी डबल्सतर्फ प्रथम हुनेले २० हजार र दोस्रो र तेस्रो हुनेले क्रमशः १० हजार र पाँच हजार प्राप्त गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्