नियमित एचआईभी तथा एड्स परीक्षण आवश्यकः ह्यारी



 

लन्डन, (एजेन्सी)
बेलायतका राजकुमार ह्यारीले आफ्नी दिवंगत आमा युवराज्ञी डायनाले एचआईभी तथा एड्स सम्बन्धमा चेतना जगाउन दिएको योगदानको सम्मान गर्दै सबै मानिसलाई नियमित शारीरिक परीक्षण गराउन आग्रह गरेका छन्।

एटिच्युड म्यागजिन अवार्ड वितरण कार्यक्रममा ह्यारीले सो आह्वान गरेका हुन्। त्यहाँ युवराज्ञी डायनालाई मृत्युपर्यन्त यस क्षेत्रमा उनले निभाएको योगदानको सम्मान स्वरूप लेगेसी अवार्ड प्रदान गरिएको थियो। ह्यारीले अझै आफ्नी आमा जीवित भएको भए एचआईभी पीडितहरू माझ उभिरहेको हुने बताएका छन्।

बिहीबार राति आयोजित उक्त विशेष कार्यक्रममा उनले आमाको तर्फबाट अवार्ड थापेका थिए। सन् १९८७ को अप्रिलमा डायनाले लन्डन मिडिलसेक्स हस्पिटलमा एचआईभी तथा एड्स पीडितहरूको विशेष हेरचाहका लागि संयुक्त अधिराज्यकै पहिलो एचआईभी तथा एड्स इकाइ स्थापना गरेकी थिइन्।

डायनाले अन्तर्राष्ट्रिय सञ्चार माध्यमसामू एकजना एचआईभी पीडित पुरुषसंग हात मिलाएकी थिइन्। त्यतिबेला विश्वमा एचआईभी तथा एड्स पीडितहरूमाथि निकै पूर्वाग्रह राखिने गरिएको थियो। स्पर्श गर्दा पनि एक व्यक्तिबाट अर्को व्यक्तिमा एचआईभी तथा एड्स सर्न सक्ने भन्ने तत्कालीन सोचाइलाई चुनौती दिँदै डायनाले हातमा पन्जा नलगाइ त्यसरी हात मिलाउँदा निकै चर्चा भएको थियो। बेलायतको राजधानी लन्डनमा आयोजित पुरस्कार वितरण समारोहमा ह्यारीले भनेका छन्– ‘मेरी आमालाई त्यतिबेला एड्स जस्तो प्राणघातक रोगलाई धेरैले वेवास्ता गर्ने गरेको थाहा थियो।’

साथै उनलाई गलत अवधारणाको कारण सो रोगबाट पीडितहरू समाजमा अपहेलित र तिरस्कृत हुने गरेको पनि थाहा थियो। म र मेरा दाजु ड्युक अफ क्याम्ब्रिज हाम्री आमाले प्राप्त गरेको सम्मानप्रति निकै गौरान्वित छौं। सोही समारोहमा उक्त म्यागजिनले डायनाले प्याट्रिक डिमाचेलियरसँग हात मिलाउँदै गरेको श्यामश्वेत तस्वीरसहितको मुखपृष्ठको विमोचन गरिएको थियो।

डायनाको फ्रान्सको राजधानी पेरिसमा भएको एक भयाभह कार दुर्घटनामा निधन भएको थियो। सो दुर्घटनामा उनका मित्र तथा लन्डनमा डिपार्टमेन्ट भएका करोडपति फ्रायडको पनि मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्