शाकुन्तलसँग लक्ष्मीप्रसाद देवकोटा

 

केशव अधिकारी
महाकवि लक्ष्मीप्रसाद देवकोटा नेपाली साहित्यका महान् प्रतिभा हुन्। कविता विधामा उनको ख्याति धेरै चुलिएकाले सरकारले उनलाई महाकविको उपाधि दिएर सम्मान गरेको थियो। वि.सं. १९६६ मा जन्मेका उनको साहित्य सृजना शक्ति यति प्रबल थियो कि तीन महिनाको अवधिमा त्यो पनि जागिर खाएर बचेको समयमा उनी विशाल महाकाव्य शाकुन्तल रचना गर्न सफल भए। स्वयम् लक्ष्मीप्रसाद देवकोटाले आफ्नो यो प्रयासलाई राजा भगीरथको गङ्गासँग तुलना गरेका छन्।

शाकुन्तल महाकाव्यमा जम्मा २४ सर्ग छन्। पहिलो सर्ग सामान्य देवस्तुति, मङ्गलाचरणबाट आरम्भ गरिएको छ। प्रथम सर्गका ४० श्लोकसम्म शार्दूलविक्रीडित छन्द र बाँकी ४१ देखि ५० सर्गका श्लोकहरू वियोगिनी छन्दमा रहेका छन्। शाकुन्तलको दोस्रो सर्ग मालिनी छन्दबाट आरम्भ भएको पाइन्छ। दोस्रो सर्गका १६ श्लोकसम्म मालिनी र १७ औँदेखि ४९ सम्मका श्लोकमा प्रकृतिको वर्णन ज्यादै रोचक तरिकाले गरिएको छ। कवि देवकोटा मग्न भएर स्वर्गको बगैँचामा चियाउँदै कण्व ऋषिको आश्रमतिरको वातावरणको बयान गर्न थालेका छन्। तेस्रो सर्गमा स्वर्गकी अप्सरा मेनकाको आगमन भएको छ। चौथो सर्गमा आइपुग्दा अप्सरा मेनकाले अनन्त तपमा बसेका विश्वामित्र ऋषिको तप भङ्ग गर्न विभिन्न अभिनयका साथ नृत्य गर्न थाल्छिन्। मेनकाले नृत्य गर्दै ऋषिलाई यसो भन्छिन्–
हे साधु सुन ⁄ मूर्ख छौ सब तिमी फुस्रा कुरामा पर्यौ
ढुङ्गा आसन भो हठै व्यसन भो झन् स्वर्गबाटै झर्यौ।
शय्या एक बनाउनु मखमली बुट्टा भरी सुन्दर
यौटा राख त अप्सरा मृदुमुखी देखिन्छ है ईश्वर।’
यस्ता कामुक भावका श्लोकले ऋषिको मनमा भुइँचालो जान्छ र उनको तप भङ्ग हुनपुग्छ। भुजङ्गप्रयात छन्दमा रचना गरिएको यो सर्गमा जम्मा ९८ श्लोकहरू रहेका छन्। महाकाव्यको पाँचौँ सर्ग केवल ४६ श्लोकमा मात्र फैलिएको छ। यस सर्गमा मेनकासँग ऋषि विश्वामित्रको पे्रम भएर चन्द्रमुखी शिशु बालिका (शकुन्तला) को जन्म भएको र मेनकाले शकुन्तलालाई त्यही वनमा छोडेर स्वर्गतिर प्रस्थान गरेकी कुरा वर्णन गरिएको छ।

त्यस्तै महाकाव्यको छैटौँ सर्गमा मेनकाले वनमा फूलको सिरान बनाएर सुताएकी शकुन्तलालाई एउटा बाजले झम्टेर लिन खोज्छ, स्वर्गबाट मेनकाले बचाउँछिन् र केही समयपछि बालिका शकुन्तलालाई कण्व ऋषिले फेला पार्दछन् अनि आफ्नो आश्रममा लगेर पोष्य पुत्रीका रूपमा पाल्न थाल्छन्। स्रग्विणी छन्दमा रचना गरिएको छैटौँ सर्गमा जम्मा ५३ श्लोक रहेका छन्। महाकाव्यको सातौँ सर्ग उपजाति, वसन्ततिलका, अनुष्टुप, मालिनी र स्रग्धरा छन्दमा रहेको छ। यस सर्गमा वनमा भेटिएकी अप्सरा मेनकापुत्री शकुन्तलालाई नवजात शिशुको रूपमा कण्व ऋषिले आफ्ना आश्रममा ल्याएर नामकर्मका साथै अन्य कर्मसमेत दिन्छन् र ज्यादै जतनका साथ पालनपोषण गर्न थाल्छन्। शकुन्तला पनि रुप र गुणले भरिपूर्ण हुँदै हुर्कन थाल्छिन्। यस सर्गको अन्त्यमा कवि स्वयंले लेख्दै गएर यो सर्गसम्म आउँदा कुनै गल्ती भएको रहेछ भने मलाई माफ गरिदिनुहोस् भनेर माफ मागेका छन्–
‘भाषा तोते छ मेरो अधखिल अधरा अन्कारै भित्र
त्यस्ती मिठी, उज्याली, विहगशिशुसँगै दाँजिदा आज भित्र
जो जो लेखेँ सकेको कनिकुथिसँगको यो विषे क्यै विचित्र
झल्का पाए उज्यालो नजर दुई त्यसै चिम्लिनोस् भुलभित्र।’
शाकुन्तल महाकाव्यको आठौँ सर्गमा शिशुवस्थाबाट बाल्यकालमा प्रवेश गर्दै गरेकी शकुन्तलाले गरेका विभिन्न नखराहरूका बारेमा रोचक तरिकाले वर्णन गरिएको छ। मालिनी र अन्य छन्दमा समेत रचना गरिएको यो आठौँ सर्गमा केवल ४० श्लोक मात्र रहेका छन्। यस सर्गमा पनि कवि देवकोटाले सर्गको अन्तमा आफ्नो सपना केवल सिर्जनाको मात्र हुनाले कि कालिदास स्वयम् आएर अथवा व्यासजी आफैँ आएर सबै पदको सफाइ गरुन् भन्ने चाहेका छन्।

यस महाकाव्यको ९ औं सर्ग पृथ्वी छन्दमा रचना गरेर ४३ श्लोकमा सकिएको छ। यस सर्गमा पनि धेरैजसो वर्णन भनेको बालिका शकुन्तलाकै बारेमा गरिएको पाइन्छ। १० औं सर्गमा पनि शकुन्तलाकै विषयमा श्लोक रचना भएका छन्। यस सर्गमा जम्मा ४३ श्लोक रहेका छन्। यस सर्गमा राजा दुष्यन्त सिकार खेल्नका खातिर निस्केका कुराको वर्णन पाइन्छ। उनैको रूप, गुण आदिको चर्चाका खातिर धेरै शब्दहरू प्रयोग भएका छन्। कति शब्दहरू कवि आफैंले निर्माण गरेर पनि मनभित्रको समुद्रलाई बगाउनमै उनी तल्लीन रहेका देखिन्छन्। शाकुन्तल महाकाव्यको ११ औं सर्ग पञ्चमचामर छन्दबाट आरम्भ भएका ४० श्लोकले ढाकिएका र यी श्लोकमा नायक राजा दुष्यन्तको घोडाको चाल र अन्य विविध विषयको बारेमा वर्णन गरिएको छ। यस सर्गमा राजा दुष्यन्तको सिकार गर्ने कला आदिका बारेमा वर्णन गर्दै लगेर रातको बास बस्न उनी कण्व ऋषिको आश्रममा गएका हुन्छन्। महाकाव्यको १२ औं सर्ग ९२ अनुच्छेदमा फैलिएको छ। यस सर्गमा कण्व ऋषिको आश्रमको वर्णनका साथै शकुन्तला र दुष्यन्तको पे्रम प्रसङ्ग पनि परेको पाइन्छ। यसै सर्गको अन्त्यमा राजा दुष्यन्त शकुन्तलाको पे्रममा रमाइरहेकै बेला उनका मान्छेहरू आएर उनी शकुन्तलासँग बिदा भएर गएको महत्वपूर्ण प्रसङ्ग रहेको छ।

१३ औं सर्ग मालिनी छन्दमा रचिएको छ। यस सर्गमा राजा दुष्यन्तले शकुन्तललाई एक्लै छोडेर गएपछि उनी राजासँगको विछोडको विरहमा जल्न लागेकी छन्। उनका साथीहरूले उनलाई निकै जिस्क्याउँछन् र उनी केही रिसाउँछिन् पनि। सबै साथीहरूलाई छोडेर उनी वन घुम्न निस्किन्छिन् र वनमा रमाउँदै, मृगका पाठालाई माया गर्दै गरेको रोचक प्रसङ्ग छ। संयुता छन्दमा रचना गरिएको १४ औं सर्गमा शकुन्तला राजाको विछोडको विरहमा कष्टमय दिन बिताउँदै छन्। गौतमीले शकुन्तलाका साथीलाई अलि गाली गरेजस्तो गरी उनलाई खुशी पार्न अराउँछिन् र उनको खास परिचयसमेत दिन्छिन्। यो सर्ग ६६ औं अनुच्छेदसम्म फैलिएर विश्राम लिन पुगेको र प्रकृतिको वर्णन गरिएको छ। १५ औं सर्गमा पनि विरहमा डुबेकी शकुन्तलाको चित्रण भएको छ। यो सर्ग १८४ अनुच्छेदमा विस्तार भएको छ।

यस्तै १६ औं सर्ग प्रहर्षिणी छन्दमा रचना भएको र यस सर्गमा शकुन्तलाको विवाह राजा दुष्यन्तसँग भएको महत्वपूर्ण प्रसङ्ग आएको छ। जम्मा ५७ सर्गमा फैलिएको यस सर्गमा विवाहको प्रसङ्ग नै मुख्य छ। १७ औं सर्ग मन्दाक्रान्ता छन्दमा रचना भएको र राजा दुष्यन्तले शकुन्तलालाई एक्लै छोडी आफू युद्धमा गएकाले वियोगको पीडा खेपाएको छ। राजाको प्रेममा पागल भएकी शकुन्तलालाई दुर्वासा ऋषिले श्राप दिएर अझै पीडा थपिदिएको महत्वपूर्ण प्रसङ्ग पनि छ। यो सर्ग ४८ औं अनुच्छेदमा विस्तार भएको छ। १८ औं सर्ग वसन्ततिलका छन्दमा रचना भएको छ। यस सर्गमा राजा दुष्यन्तले युद्धमा जितेको खबर शकुन्तलाले सुन्न पाउँछिन् तर राजाले कुनै सन्देश नपठाउँदा उनलाई ज्यादै चिन्ता लाग्छ। शकुन्तलालाई पोष्यपिता कण्वले राजाको दरबारमा पठाएको प्रसङ्ग र पठाउने बेलामा दिएका अर्ति निकै घत लाग्दा छन्। यी श्लोकहरू आजका समेत सबै छोरीलाई काम लाग्ने छन्। घर जान लागेकी शकुन्तलाले दुष्यन्तले चिनो दिएको औंठी धारण गर्छिन् र आश्रमबाट बिदा हुन्छिन्।

२० औं सर्गमा यानमा चढेर उनी राजमहलतिर जाँदै छन् र उनका मनमा विभिन्न कुरा खेल्दै छन्। ७२ अनुच्छेदमा फैलिएको यो सर्ग शकुन्तलाले बाल्यकालको स्मृतिलाई मनमा खेलाइरहेको क्षणमा बिट मरेको छ। २१ औं सर्ग २३० अनुच्छेदमा फैलिएकाले सबैभन्दा लामो सर्ग रहेको छ। यसमा धेरै प्रसङ्गहरू जोडिएर आएका छन्। शकुन्तला अघिल्लो दिन बास बसेको ठाउँको पोखरीमा औंठी हराएर दरबारमा पुगेकी हुन्छिन्। दुर्वासा ऋषिले तेरो प्रेमीले तलाईं भुलेछ भने पनि उसले दिएको चिनो देखाइस् भने तुरुन्तै सम्झनेछ भनेर दिएको श्रापका कारण उनलाई राजाले चिन्दैनन् र इन्कार गर्छन्। अनि वनमा एक्लै रुँदै बसेको समयमा उनकी आमा मेनका आएर स्वर्गमै लिएर जान्छिन्। जब मेनका पृथ्वीमा शकुन्तलालाई लिन आइन्, त्यति बेला चट्याङ परेर पृथ्वी नै कामेकी थिइन्।

२२ औं सर्गमा आकाश राम्ररी खुलेर उज्यालो भयो। कण्वको आश्रममा भएको मृगको एउटा पाठो उफ्रिएर दौड्यो। त्यसलाई खेद्दै शकुन्तलाकी साथी श्यामा गएकी थिइन्। पाठोले गौतमी नुहाउने पोखरीमा पुर्यायो। त्यस पोखरीमा दुष्यन्तको औंठी भेटियो। आश्राममा भएको किसानले राजाको औँठी चिनेर राजाप्रासादमा लिएर गयो। औंठी भेटिएपछि शकुन्तलालाई सम्झन पुगेका दुष्यन्तले आफूलाई धिक्कारे पनि शकुन्तलालाई पाउन सकेनन्। त्यसपछि उनी शकुन्तलाको वियोगको पीडा सहन थाले। केही समयपछि देवराज इन्द्रले राजालाई युद्ध गरेर जित्नको लागि स्वर्गमा बोलाउँदा उनी इन्द्रको आज्ञा पालना गर्छु भनी युद्ध गर्न स्वर्गतर्फ लागे। ५६ अनुछेदमा समेटिएको यो सर्ग पनि निकै कारुणिक छ।
यसै गरी २३ औं सर्गमा राजा दुष्यन्तको स्वर्ग प्रस्थान, स्वर्गको बयान, दुष्यन्तको युद्धकलाको वर्णन अनि विजयबारे वर्णन गरिएको छ। शाकुन्तलको २४ औं अर्थात् अन्तिम सर्गमा सवर्ग विजय गरेर फर्केका राजा दुष्यन्त खुशी हुँदै आफ्नो राज्यमा फर्कने क्रममा उनलाई कश्यप ऋषिको दर्शन गर्न मन लाग्छ र उनी कश्यपको आश्रममा जाँदा एउटा तेजिलो बालकले सिंहको बच्चाको दाँत गन्दै र उसैसँग खेल्दै गरेको दृश्यले उनलाई चकित बनाउँछ। बुझ्दै जाँदा त उक्त बालक उनकै छोरा भरत हुन्छन्। यसरी शकुन्तलासँग राजा दुष्यन्तको सुखद मिलन हुन्छ। उनी छोरा भरत र शकुन्तलालाई लिएर दरबारमा जान्छन्। यसरी शाकुन्तल महाकाव्य समाप्त हुन्छ। यसमा कवि देवकोटाले राज्य कस्तो हुनुपर्ने, नारीले कस्ता काम गर्नुपर्ने, हाम्रा धर्म–कर्म के हुन् ? आदि विषयमा गहन तरिकाले विश्लेषण गरेका छन्। अहिलेका राजनेताहरुले यसबाट पाठ सिक्नुपर्ने देखिन्छ।

LEAVE A REPLY