प्रयोगको अभ्यासमा बीबी



 

नेपाली चलचित्रको क्षेत्रमा फरक विषयमा फिल्म बनाउने अभ्यास अहिले आएर आएर ह्वात्तै बढेको छ। तर युवा निर्देशक बीबी (भानुभक्त) फुयाँलले भने यस्तो अभ्यास पहिले नै थालनी गरे।

मोरङका ३१ वर्षीय यी ठिटाले १२ वर्षको दौरानमा द लास्ट किस, लभ यु म्यान, रोमान्स, रक्तभोग, च्याम्पियन र स्पर्श गरी आधादर्जन फिल्म निर्देशन गरेका छन्। तर थोरै फिल्मको निर्देशन गरे पनि निर्माता निर्देशक बीबी यस्ता अभ्यास लागि माहिर मानिएका छन्। समलिंगीको कथामा फिल्म बनाउनु चुनौती मानिएका बेला उनले यस्तो कथा बुनेर लभ यु म्यान नामक फिल्म बनाइ निकै ठूलो चुनौती प्रस्तुत गरेका थिए। उनले सो फिल्ममा केटा–केटाबीचको प्रेमलाई प्रस्तुत गरेर नेपाली चलचित्र क्षेत्रमा एउटा नौलो प्रयोग गरेका थिए।

त्यसै गरी उनले चितवनको माडीमा २०६९ सालमा बोक्सीको आरोप लगाएर निर्मम तरिकाले कुटपिट गरी जिउँदै जलाएर हत्या गरिएकी महिला ढोगनीदेवी महतोको सत्य घटनामा आधारित फिल्म रक्तभोग बनाएका थिए। नेपालमा क्रिकेटको सम्भावना राम्रो भए पनि खेलसम्बन्धी धेरै फिल्म फ्लप भएका कारणले क्रिकेटसम्बन्धी फिल्म बनाउने साहस नगरेका बेला यस विषयमा फिल्म बनाउने हिम्मत उनले देखाएका थिए।

हाल एक नयाँ प्रोजेक्टका लागि गृहकार्य गरिरहेका फुयाँल भन्छन्– ‘अरुले गरिरहेकोभन्दा भिन्दै विषयमा काम गर्न मज्जा लाग्छ। यसमा मज्जा पनि छ, चुनौती पनि।’

त्यसो त बीबी फिल्म निर्माण र निर्देशनबाहेक पछिल्लो समयमा फिल्म स्टुडियो सञ्चालन पनि गरिरहेका छन्। उनले आफ्नै लगानीमा भक्तपुरमा फुयाँल स्टुडियो सञ्चालनमा ल्याएपछि फिल्म निर्माणमा जुटेका निर्माता निर्देशकलाई समेत सजिलो भएको छ। जसका कारण पछिल्लो समयमा निर्माण भइरहेका फिल्म सुटिङका लागि उनको स्टुडियोमा पुगिरहेका छन्। ‘फिल्मको सुटिङका लागि स्पट खोज्न कति कठिन छ भन्ने मैले राम्ररी भोगेको छु। त्यसैले सबै फिल्म निर्माता निर्देशकलाई सजिलो होस् भन्नका लागि स्टुडियो सञ्चालन गरेको हुँु, –उनी भन्छन्। उनको यो स्टुडियो फिल्म, टेलिफिल्म र विज्ञापनको सुटिङका लागि निर्माताहरूको पहिलो छनोट बन्न पुगेको छ। छायांकनका लागि अत्यावश्यक भौतिक पूर्वाधार के–के चाहिन्छ भन्ने अनुभव गरेकै कारण आफूले निकै सोच विचार गरेर स्टुडियो निर्माण गरेकाले फिल्मकर्मीले मन पराएको उनले बताए। उनले मध्यपुर थिमीको राधेराधेनजिकै स्टुडियो सञ्चालनमा ल्याएका हुन्। जहाँ बेडरुम, लिभिङरुम, डाइनिङ हल, जेल, हस्पिटल, अफिस, रेस्टुराँ, बार, क्रोमा सेटसहितका सुविधा उपलब्ध छन्।

 

प्रतिक्रिया दिनुहोस्