समय अगावै उत्पादन भएको बोतलको पानी फेला



 

रविन भट्टराई, ताप्लेजुङ,
ताप्लेजुङमा समय अगावै उत्पादन भएको बोतलको पानी फेला परेको छ। बजार अनुगमनका क्रममा एचएमएन फुड एन्ड बेभिरेज इन्डस्ट्रिज बिर्तामोड झापाद्वारा उत्पादित तृष्णा नाम गरेको पिउने पानीको उत्पादन मिति सन् २०१८ जनवरी उल्लेख भएको भेटिएको हो।

यस्तो भेटिएपछि जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले उत्पादक कम्पनीलाई कानुनी कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय झापालाई पानीको नमुनासहित पत्रचार गरेको छ। आपूर्ति मन्त्रालयका उपसचिव नोखबहादुर बस्यालको उपस्थितिमा जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमा शुक्रबार बसेको बैठकमा प्रमुख जिल्ला अधिकारी मोहन जीसीले उत्पादन गर्ने कम्पनी झापामा रहेकाले झापा प्रशासनलाई नै कारबाहीका लागि पत्रचार गरिएको र अनुगमनका क्रममा फेला परेको पानीको नमुनासमेत पठाइएको जानकारी दिनुभयो।

पिउने पानीको बोतलमा उल्लेख गरिएको उत्पादन मिति आउनलाई तीन महिना अझै बाँकी नै रहेको अनुगमनका क्रममा पाइएपछि पानी नियन्त्रणमा लिएर प्रशासन कार्यालयले अनुसन्धान शुरू गरेको थियो। ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी मोहन जीसीले सन् २०१८ को जनवरी महिना आउन ३ महिनाबढी समय बाँकी छँदै उक्त मितिमा उत्पादन भएको पानीका बोतल बिक्रीबितरणमा आउनु ठूलो समस्याका रूपमा रहेको बताउनुभयो।

अखाद्य वस्तुको बिक्रीबितरण नियन्त्रण गरी व्यवसायलाई मादण्डअनुसार सञ्चालित गराउने उद्देश्यसहित ताप्लेजुङका बजार तथा पसलको नियमित अनुगमन भइरहँदा जिल्ला अनुगमन समितिले यस्तो फेला पारेपछि सबै पक्ष थप सचेत हुनुपर्ने जनाएको छ।

अनुगमन समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी भगिमान मादेनले म्याद गुज्रेका अन्य अखाद्य वस्तु नियन्त्रणमा लिएर नष्ट गरिएको र मिति नै फरक पर्ने गरी बजारमा आएको पानीका बोतल जफत गरी अनुसन्धान थालिएको जानकारी दिए।

उत्पादन मिति सन् २०१८ जनवरी महिना उल्लेख गरिएको पानीको बोतलमा प्रयोग अवधि भने ६ महिनाको उल्लेख छ। सहायक प्रजिअ मादेनले दसैं अगाडिदेखि नियमित बजार अनुगमन गर्दै आएको र यस्तो त्रुटि भएको उपभोग्य वस्तु पहिलोपटक फेला परेको बताए।

प्रतिक्रिया दिनुहोस्