निरक्षरता उन्मूलनको अभ्यासमा मुगु



 

वीरबहादुर बम, मुगु
जिल्लाका ग्रामीण भेगमा निरक्षरता उन्मूलनका लागि अन्तरक्रिया कार्यक्रम र साक्षरता कक्षामा सहभागी हुनेको संख्या अधिक छ। मोबाइल, व्यापार र सहिछाप गर्नका लागि भन्दै निरक्षरका रूपमा रहेका बूढाबूढी पनि साक्षरता कक्षा लिँदै अक्षर चिन्नसम्म सक्ने भएका छन् भने युवायुवती र वयस्क अवस्थाका निरक्षरसमेत साथी र साक्षरता कक्षामा सहभागी हुँदा निरक्षरता अन्मूलनका लागि थप सहयोग हुँदै गएको छ।

मानव विकास सूचांकमा ७५औं स्थानमा रहेको कर्णाली अञ्चलको मुगु जिल्ला रोग, भोग, अशिक्षा, गरिबी र राजनीतिक खिचातानीमा अग्रस्थानमा रहेको छ। यसै समस्यालाई मध्यनजर गर्दै नेपाल सरकार र बेलायत सरकारको सहयोग, तथा नेपाल ग्रामीण पुनःनिर्माण संस्थाद्वारा सञ्चालित सामुदायिक विकास कार्यक्रम मुगुका १३ वटा गाविसमा पनि सन् २०१५ देखि लागू गर्दै आइरहेको छ। सामुदायिक विकास कार्यक्रमको लक्ष्यअनुरूप नागरिक सचेतना केन्द्रमार्फत् महिला तथा पिछडिएका वर्ग समुदायलाई सशक्तिकरण गर्दै लैजाने उद्देश्यले गाउँमा स्थापित सचेतना केन्द्रमार्फत् साक्षरतका कक्षा वडैपिच्छे सञ्चालनमा छन्।

समाज सुधार नागरिक सचेतना केन्द्रकी महिला सदस्य चल्ली बूढा वर्ष ६२ की छन्। उनी भन्छिन्– ‘मेरो घरपरिवरमा ५ जना सदस्यमध्ये ३ जना पुरुष र २ जना महिला छौं। रिफ्लेक्ट ३१औं कक्षामा विभिन्न विषयसम्बन्धी छलफल चल्यो त्यसपछि आफूले चाहेमा सफल भइँदोरहेछ, म बूढी महिला भत्ता खाने मान्छे पहिला ल्याप्चे लगाउँथे, अहिले आएर यस सामुदायिक विकास कार्यक्रम संस्थाले जनचेतनासम्बन्धी छलफल गर्दै जाँदा अहिले आएर आफ्नो नाम लेख्नेसम्म भएकी छु, आजभोलि भत्ता बुझ्न जाँदा सचिवले सोध्दा सामुदायिक विकास कार्यक्रम संस्थाले परिवर्तन गरेको हो भन्दा आफूमा गौरव लाग्दछ।’ ‘पहिला आफू सफल हुनुपर्यो आफ्नो घर परिवार छरछिमेकी सबैलाई तब अरूलाई सफल बन भन्नु पर्यो र कहाँबाट के सेवा सुविधा पाइँदोरहेछ त्यो थाहा पाउनुपर्यो र अरूलाई पनि भन्नुपर्यो’, यसरी व्यक्तिगत विकास नभइकन छरछिमेक तथा समुदायको विकास हँुदैन भन्ने मान्यता रहेको उनको भनाइ थियो।

श्रीकोट गाविस वडा नं.४ तलिर्खकमा गठित समाज सुधार नासकेकी महिला पहिलेभन्दा अहिले आफूमा आएको परिवर्तन देखेर खसी छन्। स्थानीय सहजकर्ता शर्मिला रावत भन्छिन्– ‘महिलालाई परिवर्तन गर्नु पनि साक्षर बन्नु हो भन्ने मान्यताका साथ हामीले शुरूमा आफ्नो व्यक्तिगत परिवर्तनमा शुरूआत गर्नुपर्दछ, लेख्न नजान्ने महिलालाई लेख्न सिकाउने बोल्न नजान्ने महिलालाई बोल्न सिकाउने र जनचेतना जगाउने यही नै हाम्रो कर्तव्य हो ।’

प्रतिक्रिया दिनुहोस्