अति विपन्नका लागि आठ सय घर बन्दै



 

शिवहरिप्रसाद भट्टराई, राजविराज
सप्तरी जिल्लाका विभिन्न नगरपालिका तथा गाउँपालिकाका दलित तथा अतिविपन्न परिवारका लागि ८ सय पक्की घर निर्माण गरिने भएको छ। सरकारले सञ्चालन गरेको जनता आवास कार्यक्रमअन्तर्गत आव २०७४⁄७५ मा आवास निर्माण गर्न लागिएको हो।

जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसद, राजनीतिक दलका प्रतिनिधिलगायतको सदरमुकाम राजविराजमा हालै सम्पन्न बैठकले घर निर्माण हुने नगरपालिका र गाउँपालिका तथा घर संख्याको विषयमा टुंगो लगाएको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय राजविराजका प्रमुख रमेश थिङले जानकारी दिए।

जनता आवास कार्यक्रम केन्द्रीय समन्वय समितिको २०७४ साउन २२ गतेको निर्णयअनुसार आव २०७४⁄७५ का लागि प्राप्त स्वीकृत आवास संख्यामध्ये ५० प्रतिशत आव २०७३⁄०७४ मा कार्यक्रम सञ्चालन भएकै नगर⁄गाउँपालिका र ५० प्रतिशत नयाँ नगर⁄गाउँपालिकामा निर्माण गर्नुपर्ने भएकाले सोहीअनुसार जिल्ला समन्वय समितिले निर्णय गरी काम अघि बढाइएको थिङले बताए।

सरकारले यस आवमा आवास निर्माणका लागि करिब १ लाख रुपियाँ थप गरी निर्माणमा प्रयोग हुने सामग्रीको पनि गुणस्तर वृद्धि गरेको कार्यालयले जनाएको छ। शौचालय निर्माणका लागि २ लाख १५ हजार २ सय ३७ रुपियाँ उपलब्ध हुँदै आएकोमा यस आवदेखि कूल ३ लाख ५० हजार रुपियाँ उपलब्ध हुने प्रमुख थिङले बताए। जसमा १ नम्बर इँटा प्रयोग हुने र झ्याल⁄ढोका र छानामा प्रयोग गरिने कोरासमेत गुणस्तरीय काठको प्रयोग गरिने उनको भनाइ छ। आव २०७३⁄०७४ सम्म निर्माण भएका आवासमा २ नम्बर इँटाको प्रयोग भएको थियो भने बाँसको फ्रेममा जस्तापाताका झ्याल तथा छानामा बाँसकै कोरा प्रयोग भएका थिए।

प्रतिक्रिया दिनुहोस्