गिटी कुट्दै जनप्रतिनिधि



 

नरेन्द्र केसी, घोराही, दाङ
उहाँ लामो समयदेखि यही काममा सक्रिय हुनुहुन्थ्यो तर जनप्रतिनिधिमा निर्वाचित भएपछि पेसा परिवर्तन हुन्छ कि भनेको भएन। बरू जनप्रतिनिधिको रूपमा विभिन्न कामकाजमा सक्रिय हुँदा पहिलेको काममा केही कमी आएको छ तर अन्य आयआर्जनका स्रोत नभएकाले पूरै रोकिएको छैन।

पश्चिम नेपालकै महत्त्वपूर्ण क्षेत्र मानिन्छ दाङको घोराही। घोराही अहिले उपमहानगरपालिका बनेको छ। घोराही बजारमा मुख्य भाग समेटेको वडा हो वडा नम्बर–१४। गत स्थानीय तह निर्वाचनमा यही वडाकी फूलमती नेपाली सदस्यमा विजयी हुनुभयो। नेकपा माओवादी केन्द्रका तर्फबाट चुनाव लडेकी उहाँ प्यानलसहित वडामा विजयी हुनुभयो। केही समय चुनाव प्रचार र केही समय स्वागत सम्मान आएपछि उहाँ अहिले फेरि पुरानै गिटी कुट्ने पेसामा फर्कनुभएको छ।

कटुवा खोलाको डीलमा गिटी कुटेर दिन, रातको छाक टार्दै आएकी फूलमतीबाट अभावका दिन कहिल्यै पराइ बनेनन्, बरू त्यही दिनले पछ्याइरहे। दलित भएका कारण अपमान खेप्दै आउनुभएकी उहाँले पटक–पटक माथिल्लो जातका घरभित्र पसेको भन्दै धेरैका घरबाट समेत निकालिनुभयो। वर्षले ५० काटेकी फूलमती गाउँमा दलितमाथि हुने विभेदको अन्त्य गर्न भन्दै धेरै आन्दोलनमा लाग्नुभयो तर दलितमाथिको विभेद अन्त्य गर्ने उहाँको केवल सपना मात्र बन्यो। खोलामा टहरोमुनि गुजारा गर्दै आएकी फूलमति गत असार १४ गते भएको स्थानीय तहको निर्वाचनमा घोराही उपमहानगरपालिका–१४ बाट माओवादी केन्द्रका तर्फबाट वडा सदस्यका रूपमा विजयी हुनुभयो। त्यतिबेला उहाँलाई संसार जितेझैं लाग्यो।

‘चुनाव जितेपछि बल्ल हाम्रा दिन पनि फर्किएको जस्तो लाग्यो’, उहाँले भन्नुभयो– ‘अब चुनाव जितेपछि मेरा दुःखका सबै दिन गएजस्तो अनुभूति भयो। अब त गिटी कुट्नु पर्दैन होला, सरकारले घर खर्च चलाउनलाई दुई–चार पैसा दिन्छ होला भन्ने सोचें तर रै’नछ।’ बरू फूलमती वडा सदस्यमा निर्वाचित भएदेखि धेरै गिटी कुट्न नपाएको गुनासो व्यक्त गर्नुभयो। ‘परिवारको आम्दानीको स्रोत भनेकै खोलाको गिटी कुट्ने हो, त्यहाँबाट आएको दुई⁄चार पैसाले घरमा नुन, तेलको जोहो गर्थें त्यो हरायो’, उहाँले भन्नुभयो– ‘जनप्रतिनिधि भएपछि त्यहाँ गाउँलेको काम गर्नुपर्ने रै’छ, त्यो पहिले थाहा थिएन।’

‘वडा सदस्य नहुँदा दिनभर कतै नगई गिटी कुट्ने काममै व्यस्त हुन्थेँ, त्यसबाट राम्रै आम्दानी हुन्थ्यो’, उहाँले भन्नुभयो– ‘गिटी कुटेर पहिले महिनामा १५⁄१६ हजार कमाइ हुन्थ्यो त्यो पनि वडा सदस्य भएदेखि घटेर ८⁄१० हजारमा झर्यो, बिहान ९ बजेसम्म गिटी कुट्छु, १० बजेबाट वडा कार्यालयमा गएर गाउँलेको काम गर्छु, साँझ फर्केर फेरि गिटी कुट्छु, यसरी दिन बिताउँदै छु।’ ‘एउटा बैठकको १ हजार भत्ता पाउने खबर सुनेकी छु अहिलेसम्म पाएकी छैन, वडा सदस्यमा निर्वाचित भएपछि गाउँलेको काम गर्न पाएकी छु, उहाँले भन्नुभयो– ‘जीवन धान्नु पर्यो मेरो खेतीबारी भनेकै गिटी कुट्ने काम हो गाउँलेको काम र गिटी कुट्ने काम सँगसँगै गरेको छु।’

प्रतिक्रिया दिनुहोस्