सिँचाइको गाडी नियन्त्रणमा



 

दीपेन्द्र शर्मा, जाजरकोट
जिल्लान्तर सरुवा भइसकेका सिँचाइ विकास सब डिभिजन कार्यालय जाजरकोटका डिभिजन प्रमुख थलबहादुर तामाङले अनुमतिबिना लिएको कार्यालयको गाडी स्थानीय प्रशासनले बिहीबार नियन्त्रणमा लिएको छ। जिल्ला प्रशासन कार्यालय बाँकेको सहयोगमा कोहलपुर चिसापानीबाट उक्त गाडी नियन्त्रणमा लिइएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीले बताउनुभयो।

डिभिजन प्रमुख तामाङको रामेछाप सरुवा भएको छ। सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले सिँचाइ विकास सब–डिभिजन कार्यालय जाजरकोटलाई गत वैशाखमै गाडी उपलब्ध गराएको थियो। तर कार्यालय प्रमुख रहेका तामाङले चिठी लुकाएर हालसम्म कार्यालयमा गाडी दाखिला नगरेर निजी प्रयोजनमा प्रयोग गर्दै आएका थिए। बा२ झ २५९८ नम्बरको गाडी नेपालगन्जबाट शुक्रबार नै फिर्ता गर्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी शाहीले जानकारी दिनुभयो।

‘कार्यालय प्रमुखको नियत खराब देखियो। गाडी ल्याएको ६ महिना बितिसक्दा पनि कार्यालयमा दाखिला नगरेको र सरुवा भएर जाँदा पनि स्थानीय प्रशासनको अनुमति नलिएर आफू सरुवा भएको कार्यालयमै गाडी लैजान खोजेकाले गाडी नियन्त्रणमा लिएका हौं’ प्रजिअ शाहीले भने ‘गाडी रामेछाप नै लैजाने र सोर्सफोर्स लगाएर उतै गाडी राख्ने नियत देखियो।’ जाजरकोट रहँदा अनियमितताको आरोपमा चौतर्फी आलोचना खेपेका तामाङले आफू सरुवा भएको कार्यालयमै उक्त गाडीलाई दाखिला गराउने उद्देश्यले जाजरकोटमा दाखिला नगरेर लिएको हुन सक्ने सिँचाइ विकास सब–डिभिजनका नायव सुब्बा वीरबहादुरले बताउनुभयो। हालसम्म कार्यालयमा गाडी दाखिला गरिएको छैन।

प्रतिक्रिया दिनुहोस्