व्यावसायीहरूको सुरक्षामा सरकार गम्भीरः उद्योगमन्त्री थापा



 

नेपाल समाचारपत्र
ललितपुर
उद्योग मन्त्री सुनील बहादुर थापाले व्यावसायीहरूलाई सुरक्षा प्रदान गर्न सरकार गम्भीर रहेको बताउनुभएको छ।

ललितपुर उद्योग वाणिज्य संघको शुक्रबार ललितपुरको बालिफमा आयोजित ३८ औं वार्षिक साधारण सभामा सो कुरा बताउनुभएको हो। उहाँले सुरक्षाको प्रत्याभूति गराइदिन भन्दै हरेक दिन सयौं व्यावसायीले फोन गर्ने गरेको बताउँदै यसबारे गृहमन्त्री जर्नादन शर्मासँग कुराकानी गरेको जानकारी दिनुभयो। कुराकानीका क्रममा गृहमन्त्री शर्माले व्यावसायीहरूको सुरक्षा संवेदनशीलतालाई बुझेर योजना बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको पनि मन्त्री थापाले सुनाउनुभयो।

‘व्यवसायी गौचनको हत्यापछि बैंकका कार्यकारी, उद्योगी र व्यवसायीले सुरक्षा प्रत्याभूति गर्न माग गर्दै आएको छ। व्यावसायीहरूको सुरक्षा थे्रटलाई विश्लेषण गर्र्दै सुरक्षा योजना बनाउन गृह मन्त्रीलाई भनेको छु। ढुक्क हुनुहोस्, व्यवसायीको सुरक्षा हुन्छ’, –मन्त्री थापाले भन्नुभयो। कुल ग्राहस्थ उत्पादन बढाउन देशका निजी क्षेत्र सक्रिय हुन पनि मन्त्री थापाले आग्रह गर्नुभयो।

सो अवसरमा अर्थराज्य मन्त्री उदयशमशेर राणाले आर्थिक समृद्धि र गरिबी निवारण गर्न निजी क्षेत्रको विकल्प नभएको धारणा राख्नुभयो। उहाँले अहिले लगानी गर्ने उचित समय रहेको पनि बताउनुभयो। सभामा विज्ञान तथा प्रविधि राज्यमन्त्री विराज विष्टले वामपन्थीहरूको राजनीतिक धुव्रीकरण खुला अर्थतन्त्रमा संकुचन हुन सक्ने आशंका पैदा गर्नुभयो।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले राजनीतिक दलहरूले आश्वासन अनुरूप संविधान निर्माण र स्थानीय तहको चुनावपछि पनि देश आर्थिक समृद्धिको दिशामा नबढेको धारणा राख्नुभयो।
अध्यक्ष राणाले मुलुकमा लगानीमैत्री वातावरणको अभाव, उद्योगी व्यवसायी प्रताडित हुनुपरेको, आर्थिक विकासको दिशामा अघि नबढेको बताउँदै यसमा सरकार गम्भीर हुन आग्रह गर्नुभयो।

ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष सविन श्रेष्ठले संघको उपस्थिति बलियो हुँदै गएको उल्लेख हरेक कार्यले व्यावसायिक वातावरण राम्रो बनाएको दाबी गर्नुभयो।

अध्यक्ष श्रेष्ठले संघको स्वीकार्यता बढाउन, जिल्लाको आर्थिक सम्भावना र सामथ्र्यलाई प्रयोग गर्न दतचित्त भएर लागेको पनि बताउनुभयो। उहाँले ललितपुर जिल्लालाई हस्तकला र पर्यटकीय जिल्लाको रूपमा विकास गर्न सकिने बताउँदै यसमा कार्यमा सबैको सहयोग मिल्ने विश्वास व्यक्त गर्नुभयो।

सासंद मदनबहादुर अमात्य, संघका वरिष्ठ उपाध्यक्ष रवीन्द्रराज ताम्रकार, महासचिव भरतलाल जोशीले आर्थिक विकासमा निजी क्षेत्रलाई महत्त्वपूर्ण हिस्साका रूपमा सरकारले लिनुपर्नेमा केन्द्रित गर्दै आ–आफ्ना धारणा राख्नुभयो।
राष्ट्रिय उत्पादकत्व अवार्ड प्रदान
यसैबीच संघले एभरेस्ट फेसनलाई राष्ट्रिय उत्पादकत्व अवार्ड प्रदान गरेको छ। उद्योगमन्त्री सुनीलबहादुर थापाले सो अवार्ड प्रदान गरेको हो। संघले स्वर्ण जयन्तीको अवसरमा राष्ट्रियस्तरको सो अवार्ड दिने निर्णय गरेको थियो। उद्योगी व्यावसायीलाई प्रोत्साहित गर्न सो अवार्ड स्थापना गरिएको संघले जनाएको छ। अवार्ड दिनका सर्वोकृष्ट तीनमध्ये छनोटमा परेको मानुषी प्रालि नख्खु, नेपाल फर्मास्युटिकल्स प्रालि वीरगन्जलाई प्रशंसापत्र प्रदान गरिएको थियो।

सो अवसरमा संघका सर्वोकृष्ट कर्मचारी घोषित हुनुभएका प्रशासकीय अधिकृत पुरुषोत्तम श्रेष्ठ, सहायक अधिकृत अष्टलक्ष्मी महर्जन र कार्यालय सहयोगीतर्फ सानु महर्जनलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरियो।

निर्वाचन आज

संघको अबको नेतृत्वका लागि आज जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा निर्वाचन हुने छ। संघका अनुसार निर्वाचनको अवधि बिहान ८ देखि २ बजेसम्म तोकिएको छ। नेतृत्वका लागि सविन श्रेष्ठ र कृष्णलाल महर्जनबीच कडा प्रतिस्पर्धा भएको छ। श्रेष्ठ र महर्जनले आ –आफ्नो प्यानलसहित उम्मेदवारी दिनुभएको हो।

अधिकाशं पूर्व अध्यक्ष र पूर्व पदाधिकारी श्रेष्ठको निरन्तरताको पक्षमा छन् संघलाई नयाँ शिराबाट अघि बढाउन नयाँ नेतृत्व आउनुपर्ने भन्दै युवा तथा नयाँ उद्यमी व्यावसायी महर्जनको पक्षमा रहेका छन्।
त्यसै गरी चार वर्षअघि अध्यक्षमा पराजित हुनुभएका महर्जनलाई उनका सहयोगीले एकचोटि भए पनि निर्वाचित गराउनुपर्ने भन्दै सहानुभूति मत तान्ने प्रयास गर्दै आएका छन् भने श्रेष्ठले आफ्नो कार्यकालमा भएका राम्रा कामको निरन्तरता र स्वर्ण जयन्तीको कार्यक्रमलाई निरन्तरता दिन आफू निर्वाचित हुनुपर्ने दाबी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्