तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नेे प्रतिबद्धता



 

नेपाल समाचारपत्र
काठमाडौं
प्रमुख राजनीतिक दलका शीर्षस्थ नेताले तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। बढ्दो राजनीतिक धुव्रीकरणँंगै मंसिर १० र २१ गते तय गरिएको प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सार्ने खेल भइरहेको भन्दै आशंका गरिएको बेला राजनीतिक दलहरूबाट यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्। निर्वाचन आयोगले शुक्रबार आयोजना गरेको छलफलमा उनीहरूले सो प्रतिबद्धता व्यक्त गरेका थिए।

आयोगले निर्वाचन आचारसंहिता, २०७२ तथा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन आचारसंहिता, २०७४ मा उल्लेख भएका आचारसंहिताका बुँदाको अक्षरशः पालना गर्न सामूहिक प्रतिबद्धता व्यक्त गर्न लगाइएको थियो।

सो अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले तोकिएको मितिमै स्वतन्त्र र निष्पक्ष तरिकाबाट निर्वाचन सञ्चालन गरी ऐतिहासिक रूपले सफल बनाउन सरकार र आफ्नो पार्टी नेपाली कांग्रेसको तर्फबाट पूरापूर सहयोग पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

त्यसै गरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आसन्न निर्वाचनलाई तोकिएकै मितिमा सम्पन्न गर्न तथा कानुनले निर्दिष्ट गरेका तथा निर्वाचन आयोगले तयार गरेका नियम, कार्यविधि तथा आचारसंहिता आफ्ना दलको तर्फबाट पूर्ण रूपमा पालना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आसन्न निर्वाचन सञ्चालन प्रक्रिया गम्भीर ढंगले अघि बढेको बताउँदै संविधान जारी भएपछि देशलाई निर्वाचनमा लैजान आफू प्रधानमन्त्री हुँदा गरेको प्रयासको स्मरण गर्नुभयो।

उहाँले तोकिएको मितिमा स्वच्छ र स्वतन्त्र तरिकाबाट निर्वाचन सम्पन्न गर्न आफ्नो पार्टीका तर्फबाट पूरा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आचारसंहिता सरकारका तर्फबाट बढी उल्लंघन हुने देखिएको बताउँदै निर्वाचन आयोगलाई आचारसंहिता कार्यान्वयनमा कडाइ गर्न सुझाव दिनुभयो।

छलफलमा नेताहरू बुद्धिमान तामाङ, रामजनम चौधरी तथा प्रेम सुवालले निर्वाचन आचारसंहिता सरकार र ठूला दलसमेत सबैले पालना गर्नुपर्ने र आचारसंहिता उल्लंघन गर्नेलाई कानुनअनुसार कारबाही गर्नबाट पछि नहट्न निर्वाचन आयोगलाई सुझाव दिनुभयो।
छलफलमा राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर पनि सहभागी हुनुहुन्थ्यो। छलफलमा सहभागी सबै पार्टीका नेताहरूले निर्वाचन आचारसंहिता पूर्णरूपमा गर्ने गराउने छौं भन्ने प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्नुभएको थियो।

कार्यक्रमको शुरूमा निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन तोकिएको मितिमा सम्पन्न गर्नका लागि आयोगको तर्फबाट गरिएका तयारीबारे आयोगका सहसचिव एवं प्रवक्ता नवराज ढकालले प्रस्तुत गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्