लाटोकोसेरोबारेका २ पुस्तक सार्वजनिक



काठमाडौ, (नेस) ।

दिनमा निस्कृय र रातको समयमा सक्रिय रहने पन्छी लाटोकोसेरोबारेका २ वटा पुस्तक सार्वजनिक भएका छन् । लाटोकोसेरोबारे विविध विषय र जानकारी समेटिएका पुस्तक शुक्रवार सार्वजनिक गरिएको हो ।

‘नेपालका लाटोकोसेराहरु’ र ‘लाटोकोसेरो की बाठोकोसेरो’ नामका पुस्तक पन्छीविद् डा. हेम सागर बराल, वन्यजन्तुविद् प्राध्यापक करण बहादुर शाह, पुस्तकका लेखकहरु राजु आचार्य, यादव घिमिरे, सोम जिसीले संयुक्त रुपमा पुस्तक लोकापर्ण गर्नुभयो । संरक्षणमा क्रियाशिल प्रकृतिका साथीहरु नामक संस्थाको पहलमा पुस्तक तयार भएको हो ।

‘नेपालका लाटोकोसेराहरु’ पुस्तकले नेपालमा पाइने सबै (२३ प्रजाती)का लाटोकोसेराेकाे प्राकृतिक वासस्थान, बानी व्यहोरा, यी पन्छीको राष्ट्रिय÷अन्तर्राष्ट्रिय अवस्था जस्ता अवस्थाकाे   सचित्र जानकारी समेटेको छ । त्यसैगरी दोस्रो पुस्तकमा मुलुकमा लाटोकोसेरा संरक्षणबारे भइरहेको प्रयास, चोरी शिकारी र अवैध व्यापार, यो पन्छीबारे विभिन्न धार्मिक ग्रन्थहरुमा उल्लेखित सन्दर्भ, शारिरिक बनावट, आहरा, बासस्थान, कथा लगायतका पक्ष समेटिएको छ । दुवै पुस्तकका लागि ६५ जना फोटोग्राफरका तस्वीर प्रयोग भएका छन् ।

विश्वमा पाइने करिव २ सय २५ प्रजाती मध्ये नेपालमा विभिन्न २३ प्रजातीका लाटकोसेरोको अभिलेख रहेको विज्ञहरु बताउँछन् । सो कार्यक्रममा बोल्दै विज्ञहरु डा बराल र प्राध्यापक शाहले विमोचित पुस्तक अनुसन्धाता, विद्यार्थी, नीति निर्माता, सुरक्षा निकाय सबैका लागि उपयोगी हुने बताउनुभयो ।

पन्छीविद् बरालका अनुसार नेपालमा सूचिकृत ८ सय ८६ पन्छीमध्ये १ सय ६८ संकटको सूचिमा छन् । ‘संकटको सूचिमा रहेका मध्ये लाटोकोसेरोको संख्या धेरै छ’–उहाँले भन्नुभयो ।

 

 

प्रतिक्रिया दिनुहोस्