विमल गुरुङलाई पक्रन खोज्दा दार्जीलिंगमा फेरी तनाव, गोली हानाहानमा दुईजनाको मृत्यु



काठमाडौं । गुरुङलाई पक्रिन खोज्दा दार्जिलिङमा फेरि गोलीबारी भएको खबर प्राप्त भएको छ । विमल गुरुङ दार्जीलिङ्गमा आन्दोलनरत गोर्खा जनमुक्ति मोर्चाका नेता हुन् । पछिल्लो समय गोर्खाल्याण्डको माग गरेर संघर्षरत नेपालीभाषीहरुमाथि भारतीय प्रशासनको ज्यादती र दमनकै शृंखला स्वरूप फेरि हिँसा भड्किएको हो । शुक्रबार भएको झडपमा एक प्रहरी अधिकृत र एक मोर्चा कार्यकर्ताको ज्यान गएको छ।
झण्डै साढे तीन महिना लामो अनिश्चितकालीन हड्ताल अन्त्य भएको १६ दिनपछि प्रहरीले नेता विमल गुरुङलाई समात्न छापा मार्ने क्रममा मोर्चा कार्यकर्ता र प्रहरीबीच झडप भएको हो।
मृत्यु हुने प्रहरीको नाम अमिताभ मलिक रहेको बताइएको छ। झडपमा अन्य मोर्चा कार्यकर्ता पनि मारिएको आशंका गरिएको छ।
शुक्रबार बिहान ५ बजे प्रहरीले लाप्चे बस्तीमा छापा मार्न सुरु गरेको थियो।
पछिल्लो झडपपछि दार्जिलिङमा झनै संकट चुलिने आशंका गरिएको छ।
अलग राज्यको माग गर्दै आन्दोलनको नेतृत्व गरिरहेको गोजमुमोमा पनि पछिल्लो समय संकट पैदा भएको छ। पार्टीबाट निकालिएका विनय तामाङ र अनित थापालाई पश्चिम बंगाल राज्य सरकारले जिटिएको प्रमुख र उपप्रमुखमा नियुक्त गरेको छ भने विमल गुरुङलाई मुद्दा लगाएको छ।
प्रहरीले खोज्न थालेपछि विमल गुरुङ भूमिगत अवस्थामा छन्। उनले विनय तामाङ र अनित थापालाई ‘गद्दार’ को संज्ञा दिएका छन्।
बिहीबार राती विमल गुरुङले आउँदो ३० अक्टोबरमा आफू दार्जिलिङ पहाडमा सार्वजनिक हुने बताएका छन्। ‘म मर्नै परे जनताको अगाडि आएर मर्छु,’ विमलले भनेका छन्।
अलग गोर्खाल्याण्ड राज्यको माग लिएर गत केही महिनामा भएका आन्दोलनहरुमा १३ जनाको ज्यान गइसकेको छ।
पछिल्लो पटक आन्दोलनकारी शक्तिबीचमै फूट देखिएपछि गोर्खाल्याण्डको माग कमजोर बनेको छ।

प्रतिक्रिया दिनुहोस्